सल्यान, ११ पुस ।
सल्यानमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ । घरेलु हिंसा, अशिक्षा, बालविवाह, गरिवी, वैदेशिक रोजगारी, सामाजिक, पारिवारिक समस्या लगाएतका कारण जिल्लामा मानसिक स्वास्थ्य समस्या झन् बढ्दै गएको हो । जिल्लामा मानसिक रोग नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन भैरहेको भएपनि खासै प्रभावकारी हुन सकेको छैन् । कुनै पनि व्यक्तिको सोंचाईमा, बुझाइमा र चिन्तन गराईमा परिवर्तन आई दैनिक गर्नुपर्ने व्यवहार र कारोबारमा असर पर्नु नै मानसिक स्वास्थ्य समस्या हो ।
जिल्लामा मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएका कारण दैनिक रुपमा मानिसहरु पारिवारिक, सामाजिक क्रियाकलापबाट टाढा हुँदै गएका छन् । मानसिक स्वास्थ्य समस्याका कयौँ विरामी उपचारको पहुँच भन्दा बाहिर रहेका छन् । रोग लुकाउने तथा पहिचानमा समस्या हुँदा आत्महत्याको जोखिम समेत बढ्दै गएको छ । जिल्लामा मानसिक रोगको समस्या धेरै भएपनि उपचारमा कसैको ध्यान जान सकेको छैन् ।
जिल्ला अस्पताल सल्यानमा समेत अहिले दैनिकजसो मानसिक समस्या भएका बिरामीहरु आउने गरेको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका डा. अभिषेक सिंहले उपचारका लागि आएका विरामीमध्ये दैनिक रुपमा २/३ जनामा मानसिक स्वास्थ्य समस्या देखिने गरेको बताउनुभयो । मनको कुरा बुझ्ने कोही नहुनु, पारिवारिक यातना, घरेलु तथा सामाजिक हिंसा, वैदेशिक रोजगार लगायत धेरै कारणले तनाव बढेकै कारण मानसिक रोगी बढ्दै गएको उहाँको भनाई छ ।
तर जिल्लामा कतिले औषधी सेवन र परामर्श लिइरहेका छन् भन्ने यकिन छैन । ‘मानसिक स्वास्थ्य समस्या सामान्य समस्या होइन्, यदी कुनै पनि व्यक्तिको व्यवहार, हिडाई, घुमाई, खुवाई वा उसले गर्ने व्यवहारमा केही फरक देखिएको छ भने त्यो ब्यक्तिलाई निगरानीमा राख्नुपर्छ, यस्तो अवस्थामा उसको बास्तविकता बुझ्नुपर्छ र आवश्यक परामर्श तथा उपचारको व्यवस्था मिलाउनुपर्छ’ उहाँले भन्नुभयो ‘यदी उसको समस्या बोल्ने, बुझिदिने कोही भएन् भने अकल्पनिय घटना समेत घट्न सक्छ ।’
अहिले जिल्लाका चार वटा पालिकामा सीएमसी नेपालले पनि मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । तर जिल्लाका सबै पालिकामा कम्तिमा एक/एक वटा मानसिक स्वास्थ्य समस्याको परामर्श तथा उपचार सेवा हुनुपर्ने स्थानियको माग छ । सीएमसी नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठले जिल्लाका सबै पालिकामा मानसिक स्वास्थ्य समस्याको परामर्श तथा उपचार सेवा हुनुपर्ने बताउनुभयो ।
‘जनचेतनालाई हामीले व्यापक बनाउन सक्छौँ, मानसिक समस्या भएका व्यक्तिको व्यवहारमा परिवर्तन ल्याउन सक्यौँ भने हामीले मानसिक हिसावले एउटा सुस्वास्थ्य समाज निर्माण गर्न सक्छौँ’ उहाँले थप्नुभयो ‘सीएमसी नेपालले अहिले जिल्लाका चार पालिकामा काम गर्दै आएको छ, यदी स्थानिय तहले समन्वय गर्नसकेको खण्डमा दशवटै पालिकामा परामर्श र उपचार सेवा पु¥याउनको लागि हामीले पनि काम गर्नसक्छौँ ।’
मानसिक रोग निवारण सम्बन्धी कुनै पनि कार्यक्रम नभएकाले रोगीको पहिचान गर्न तथा समस्या देखिएकाहरुमा उपचार गर्न कठिनाइ भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।