महोत्सवको मुख्य आकर्षण ‘कृषि उत्पादन’

लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा सांस्कृतिक महोत्सव

सल्यान, १५ पुस ।

सल्यानको छत्रेश्वरी गाउँपालिका–२ वुराँसेका तेज बहादुर योगीले आफुले उत्पादन गरेको किवि बृहत सल्यान लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा सांस्कृतिक महोत्सवमा प्रदर्शनीका लागि राख्नुभएको छ । किवि खेतीबाट नै राम्रो आम्दानी गर्दै आउनुभएका उहाँले महोत्सवमा आउने दर्शकहरुलाई किविको प्रचार र यसको वजारीकरण गर्नका लागि कृषि प्रर्दशनीमा राख्नुभएको छ ।

‘किविखेती बाटै स्थानियले बर्षेनी तीन लाख देखी १२ लाख रुपैँयासम्म आम्दानी गर्दै आएका छन्, यस क्षेत्रका एक सय १० घरधुरीले किविखेती गर्दै आएका छन्, यहाँको आम्दानीको स्रोत भनेकै किवि हो, स्थानियको जीवननिर्वाह किवि खेतीबाट नै हुदैँ आएको छ’ उहाँले भन्नुभयो । यसको प्रचार गर्न र वजारीकरणमा सहजताको लागि हाँगा सहितको किवि प्रदर्शनीमा राखिएको उहाँको भनाइ छ । उहाँले यस क्षेत्रमा करिब ८ हजार किविका बोट रहेको बताउनुभयो ।

बागचौर नगरपालिकाको कोटमौलाका प्रकाश डाँगीले हाँगा सहितको सुन्तला प्रदर्शनीमा राख्नुभएको छ । पाकेर पहिल्यै भएका सुन्तलाका दाना सहितको हाँगा उहाँले महोत्सवको कृषि प्रदर्शनीमा राख्नुभएको हो । ‘सुन्तलाखेतीको थप विस्तार, यसको महत्व बुझाउन, आम्दानीको स्रोत बढाउन र सुन्तलाखेतीमा पनि सम्भावना छ है भन्ने सन्देश दिनको लागि सुन्तला प्रदर्शनीमा राखिएको हो’ उहाँले भन्नुभयो ।

कोटमौलाकै भिम बहादुर चन्दले पनि विगत एक दशकदेखी सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँले सुन्तलाबाट नै बार्षिक लाखौँ आम्दानी गर्नुहुन्छ । आफुले उत्पादन गरेको सुन्तलाको प्रचारप्रसार र वजारीकरणमा सहजताको लागि उहाँले महोत्सवमा सुन्तला प्रदर्शनीमा राख्नुभएको छ ।

शारदा नगरपालिका–१५ का प्रेम योगीले भूईकटहर प्रदर्शनीमा राख्नुभएको छ । ‘जिल्लामा पनि भूइँकटहर उत्पादनको सम्भावना छ भन्ने सन्देश प्रवाह गर्न, यसको व्यवसायिक खेती गर्न र वजारीकरणको वातावरण सिर्जना गर्नको लागि भूइँकटहर प्रदर्शनीमा राखेको हुँ’ उहाँले भन्नुभयोे । बुधबार देखी जिल्लाको श्रीनगरमा सञ्चालित बृहत सल्यान लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा सांस्कृतिक महोत्सवमा दर्शकहरुको रोजाइँ कृषि उत्पादन देखिएको छ ।

महोत्सवमा एक सय बढी कृषकले उत्पादन गरेका फलफूल, तरकारी, आलु, खाद्यान्न, मौरीका चाका, च्याउ, वीउ लगाएतका प्रदर्शनीमा राखिएको छ । महोत्सवमा राखिएको कृषि प्रर्दशनीको अवलोकन गर्दै श्रीनगरकी सिता भण्डारीले जिल्लामा कृषिक्षेत्रमा थुप्रै सम्भावना रहेको बताउनुभयो । ‘कृषिक्षेत्रमा सम्भावना र अवसर धेरै नै रहिछन्, फलफूल, तरकारी देखी खाद्यान्न समेत जिल्लामा राम्रो उत्पादन हुन्छ, अव यसको विस्तार, व्यवसायिक उत्पादन र वजारीकरण आवश्यक छ’ उहाँले भन्नुभयो ।

अहिले कृषिजन्य उत्पादनलाई विशेष प्राथामिकता दिएर प्रदर्शनीमा राखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालय प्रमुख भरत बस्नेतले कृषिजन्य उत्पादनलाई प्राथामिकता दिने र कृषकहरुलाई प्रोत्साहन गर्ने हेतुले कृषि प्रदर्शनी राखिएको बताउनुभयो । उहाँले विहीबार र शुक्रवार कृषिजन्य सामाग्रीको प्रदर्शनी गरिने बताउनुभयो ।

उहाँले कृषि मेला प्रदर्शनीमा सहभागि भएर उत्कृष्ट कृषि सामाग्रीहरु प्रदर्शनी गर्ने कृषक तथा उद्यमीहरुलाई पुरस्कृत गरिने बताउनुभयो । कृषि प्रदर्शनीमा सहभागि भएका विविन्न विधामा गरेर करिब ४० जना कृषकलाई पुरस्कृत गरिने उहाँको भनाइ छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानको आयोजनामा सञ्चालन भएको महोत्सव पुस २३ गतेसम्म १० दिन सञ्चालन हुने छ ।

‘उद्योग गरौं, उद्यमी बनौं, देश बिकासमा टेवा पु¥याऔँ, मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने नाराका साथ सञ्चालित महोत्सवमा कर्णाली प्रदेशका दश वटै जिल्लाको लघु घरेलु, कृषि, पशु, पर्यटनसँग सम्बन्धित उत्पादनलाई राखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानका अध्यक्ष प्रेम बहादुर डाँगीले जानकारी दिनुभयो ।

महोत्सवमा करिब दुई सय स्टल रहेका छन् । महोत्सव अवधिभर एक करोड ५० लाख बढीको कारोवार हुने र करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने उहाँको भनाइ छ । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानियस्तर कलाकारको प्रस्तुति रहनुभएका साथै बाल उद्यान, पिङ, लगाएतका मनोरञ्जनका सामाग्रीहरु समेत राखिएको छ ।

प्रतिक्रिया दिनुहोस