सल्यानमा मानवअधिकार हननका ६० घटना

घरेलु हिंसा, बलात्कार र बहुविवाहका घटना धेरै हुनुले महिला अझै पनि आफ्नो अधिकारको प्रयोग गर्नबाट वञ्चित रहनुपर्ने अवस्था

सल्यान, २३ पुस ।

सल्यानमा एक बर्षको अवधिमा मानवअधिकार हनन्का ६० वटा घटना भएका छन् । नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को प्रकाशनका लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा मानवअधिकार हनन्का ६० वटा घटना भएका जनाइएको हो ।

इन्सेक सल्यानद्धारा शुक्रवार खलंगामा आयोजित कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । जसमा सबै भन्दा धेरै माहिला तथा बालबालिकामाथि बढी ज्यादतीका घटना हुने गरेको पाइएको छ । इन्सेकका अनुसार जिल्लामा महिला अधिकारका ३९ वटा, बालअधिकारका १६ वटा, बाँच्न पाउने अधिकारका ३ वटा र नागरिक तथा सामाजिक अधिकारका २ वटा घटना भएका छन् ।

जिल्लाभर महिलाअधिकार तर्फ घरेलु हिंसाका १७ वटा, कुटपिटका २ वटा, बलाल्कारका ७ वटा, बलात्कार प्रयासका २ वटा, बहुविवाहका १० वटा र बोक्सी आरोपका एक वटा घटना भएका छन् । यस्तै बालअधिकार तर्फ बलात्कारका १२ वटा, बाँच्न पाउने अधिकार तर्फ हत्या, एसिड प्रहार र जेष्ठ नागरिक घर निकालाका एक/एक वटा र नागरिक तथा सामाजिक अधिकार तर्फ कुटपिटका २ वटा घटना भएका छन् ।

इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले जिल्लाका दश वटा पालिकामध्ये सबैभन्दा धेरै शारदा नगरपालिका र कम बागचौर नगरपालिकामा मानवअधिकार हनन्का घटना भएको बताउनुभएको छ । जसमा शारदा नगरपालिकामा एक बर्षको अवधिमा १२ वटा घटना भएका छन् भने बागचौर नगरपालिकामा एक वटा मात्रै घटना भएका छन् ।

यस्तै कपुरकोट गाउँपालिकामा ८ वटा, बन्गाड कुपिण्डे नगरपालिका र त्रिबेणी गाउँपालिकामा ७/७ वटा, कुमाख गाउँपालिका र कालिमाटी गाउँपालिकामा ६/६ वटा, दार्मा गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा ५/५ वटा र सिद्ध कुमाख गाउँपालिकामा ३ वटा मानव अधिकार हनन्का घटना भएका छन् ।

इन्सेक प्रतिनिधि बुढाथोकीले जिल्लामा विभिन्न क्षेत्रले सक्रियताका साथ काम गर्दैआएको भएपनि मानव अधिकार हनन् र ज्यादतीका घटनामा कमी आउन नसकेको बताउनुभयो । अझैपनि गाउँमा हुने केही घटना बाहिर आउन नसकेकाले सरोकारवाला सबै निकायले सक्रियताका साथ हातेमालो गरेर अघिबढ्नुपर्ने र पिडितलाई न्याय तथा पिडकलाई कानुनी दायरामा ल्याउन सबैको भूमिका महत्वपुर्ण भएको उहाँको भनाइ छ ।

बार्षिक घटना समिक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले मानवअधिकार उलंघनका घटनामा कमी ल्याउनको लागि सबैक्षेत्रको प्रयास आवश्यक रहेको बताउनुभयो । मानव अधिकार हनन् कसरी रोक्ने भन्ने चुनौतीको बिषय भएको भन्दै उहाँले टोलबस्तीमा पुगेर सचेतीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

यस्तै शारदा नगरपालिका उपप्रमुख सुस्मिता सापकोटा सुनारले घरेलु हिंसा, बलात्कार र बहुविवाहका घटना धेरै हुनुले महिला अझै पनि आफ्नो अधिकारको प्रयोग गर्नबाट वञ्चित रहनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले मानवअधिकार हनन्का घटनामा कमी ल्याउनको लागि नगरपालिकाले सचेतिकरणको अभियान सञ्चालन गर्ने बताउनुभयो ।

उहाँले बिभिन्न घटनाका पिडितहरुलाई नगरपालिकाले सञ्चालन गर्ने सिपमुलक तथा आयआर्जनका कार्यक्रम सञ्चालन गर्दा प्राथामिकता दिने बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका नागरिकहरूबाट उजुरी नआउने भएकाले सबै बर्ग, समुदायमा आजआर्जनका क्रियाकलाप सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा सल्यान प्रहरी प्रमुख डिएसपि दामोदर केसी, शारदा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर ववाल, जिल्ला अस्पताल सल्यानका इन्डोर इन्चार्ज सुलोचना महर्जन लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममको सहजीकरण मानवअधिकार रक्षक सञ्जालका जिल्ला संयोजक बुद्धि पुनले गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस