सल्यानी खुकुरीको प्रवर्द्धन, ब्राण्डिङ र वजारीकरण गरिदैँ

सबै व्यवसायिहरुलाई सँगै राखेर खुकुरी उत्पादन गर्ने उद्योगको रुपमा विकास गर्ने लक्ष्य

सल्यान, २७ पुस ।
केही वर्ष अघिसम्म कम्मरमा पटुकी बाँध्ने र खुकुरी भिरेर हिंड्ने चलन थियो । हिजो आजपनि गाउँघरमा बुढापाकाहरु कतै निस्कनु परे खुकुरी बोक्न छुटाउँदैनन् । खुकुरी एउटा हतियार मात्र होइन, योसँग थुप्रै विशेषता पनि जोडिएका छन् । त्यसमा पनि सल्यानी खुकुरीको लोकप्रियता बेग्लै छ । वीर गोर्खालीको पहिचान बोकेको खुकुरीसँग नेपालको इतिहास पनि जोडिएको छ । नेपाल एकीकरणको समयमा होस् या नेपालविरुद्ध आइलाग्ने विदेशीहरुसँग लड्न यही खुकुरी रक्षा कवज नै बन्यो ।

सल्यानमा यही खुकरी बनाउने पेशालाई व्यवसायिक बनाउँदै खुकुरीको प्रवर्द्धन, ब्राण्डिङ र वजारीकरण गर्ने योजना अघि सारिएको छ । अहिलेसम्म व्यवसायिक भन्दापनि निर्वाहमुखी तरिकाले खुकुरी बनाउने पेशा अंगालेका यहाँका स्थानियलाई प्रोत्साहित गर्दै व्यवसायिक खुकुरी उत्पादनमा लाग्ने वातावरण सिर्जना गर्नका लागि खुकुरीको प्रवर्द्धन, ब्राण्डिङ र वजारीकरणको योजना अघि सारिएको हो ।

जिल्लाको शारदा नगरपालिकाले नगरभित्रका आरन व्यवसायमा संलग्नहरुसँग छलफल गर्दै प्रसिद्ध सल्यानी खुकुरीको प्रवर्द्धन, ब्राण्डिङ र वजारीकरणको योजना बनाएको छ । खासगरी सल्यानी, सिरुपाते, हवल्दार, डब्लूडब्लू वान लगाएत नामका खुकुरी प्रख्यात छन् । सल्यानी खुकुरी उद्योग, संकलन तथा विक्री केन्द्रका निर्देशक यज्ञ कुमार विकले सल्यानी खुकुरीको व्यवसायिक उत्पादन सँगै ब्राण्ड बनाएर वजारीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । नगरभित्रका तीन दर्जन बढी आरन व्यवसायमा संलग्न भएपनि आधा दर्जन बढीले मात्रै खुकुरी उत्पादन गर्दै आएका छन् ।

आवश्यक सिप, तालिमको व्यवस्था सहित खुकुरी उत्पादन गर्ने दक्ष जनशक्ति उत्पादन गर्न सकेको खण्डमा खुकुरी बनाउने कार्य व्यवसायिक हुने उहाँको भनाइ छ । ‘अहिले पनि केही घरधुरीले व्यवसायिक खुकुरी बनाउदैँ आउनुभएको छ, तर मागका आधारमा खुकुरी उत्पादन भैरहेका छन्’ उहाँले भन्नुभयो ‘आरन व्यवसायमा संलग्न सबैलाई सिपतालिम दिएर खुकुरी बनाउने व्यवसायमा जोड्न सकेको खण्डमा खुकुरी उत्पादनमा थप मद्धत मिल्ने छ ।’

उहाँले फलाम पिट्ने आधुनिक यन्त्र नहुदाँ समस्या भएको बताउनुभयो । ‘यहाँ फलाम पिट्ने आधुनिक यन्त्र छैन्, फलामलाई पिटेर खुकुरीको आकार दिन तीन/चार जना युवा जनशक्ति चाहिन्छ, खुकुरीको धार लगाउने देखी फलाम पोल्ने कोइला समेतको अभाव छ’ उहाँले भन्नुभयो ‘उद्योगकै रुपमा खुकुरी बनाउने व्यवसायलाई अघि बढाउने र यसको ब्राण्डिङ तथा वजारीकरणको लागि सरकारले सहजीकरण गर्नुपर्छ ।’

शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले सल्यानी खुकुरीको प्रर्वद्धन र ब्राण्डिङ गरेर वजारीकरणका लागि नगरपालिकाले काम गरिरहेको बताउनुभएको छ । ‘खुकुरी बनाउने तालिम दिने, आवश्यक आधुनिक औजार उपकरण प्रदान गर्ने, खुकुरीको ब्राण्डिङ गरेर वजारीकरण गर्ने कार्यका लागि नगरले समन्वय तथा सहजीकरणको काम गरिरहेको छ’ उहाँले भन्नुभयो ‘नगरपालिकाले पनि सक्दो सहयोग गर्छ ।’

उहाँले सबै आरन व्यवसायिहरुलाई एकै ठाउँमा राखेर खुकुरी उत्पादन गर्ने उद्योगको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । ‘अहिलेसम्म जीवननिर्वाहका लागि खुकुरी उत्पादन भैरहेको छ, अव यसको व्यवसायिक उत्पादन गर्न आवश्यक छ, अहिले एकैपटक धेरै खुकुरीको माग आएको खण्डमा उत्पादनका लागि मात्रै महिनौँ पर्खनुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो ‘खुकुरीको प्रर्वद्धन पनि हुने र आम्दानी पनि हुने गरेर काम गर्ने सोच बनाएका छौँ ।’

सल्यानी खुकुरीको प्रवर्द्धन र व्यवसायिक बनाउन उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले पनि सहयोग गर्दै आएको छ । सल्यानी खुकुरी व्यवसायलाई एकीकृत गरि सीप, तालिम र उत्पादनको कामलाई अगाडि बढाउने लक्ष्यका साथ इन्द्र बहादुर बिकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ । सल्यानी खुकुरी उपहारका रूपमा काठमाडौं, नेपालगन्ज, बुटवल, विराटनगर, झापादेखि अमेरिका, अस्टे«लिया, युरोप, जापानलगायत देशमा पठाउने गरिएको छ । एउटा खुकुरीको मूल्य एक हजारदेखि सात हजार पाँच सय रुपैयाँसम्म पर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस