सकिदै अल्टिमेटम : हट्लान त अस्थायी घरटहरा ?

नगर प्रमुख प्रकाश भण्डारीले आधुनिक बसपार्क निर्माणका लागि बसपार्क क्षेत्रमा भएका अस्थायी घरटहरामा माघ २ गते डोजर चलाउने बताउनुभएको छ ।

सल्यान, २९ पुस ।
सल्यानको श्रीनगर स्थित पुरानो बसपार्क क्षेत्रमा निर्माण गरिएका अस्थायी घरटहरा हटाउन शारदा नगरपालिकाले दिएको अल्टिमेटम सकिन तीन दिन मात्रै बाँकी छ । जिल्लाकै प्रमुख व्यापारिक केन्द्र शारदा नगरपालिका–१ श्रीनगरमा रहेको पुरानो बसपार्कलाई व्यवस्थित र आधुनिक बसपार्क निर्माण गर्नका लागि बसपार्क क्षेत्रमा ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन नगरपालिकाले गत मंसिर २६ गते सुचना जारी गर्दै ३५ दिने अल्टिमेटम दिएको थियो ।

तर अल्टिमेटम सकिन् तीन दिनमात्रै बाँकी रहदाँ पनि ऐलानी जग्गामा भएका घरटहरा हटाउन स्थानियले आनाकारी गरेका छन् । बसपार्क क्षेत्रमा निर्माण भएका ग्यारेजहरु रेशमज्युलामा सार्न थालेपनि स्थानियले भने घरटहरा हटाउन आनाकानी गरेका छन् । यसक्षेत्रको ऐलानी जग्गामा ८३ वटा अस्थायी घरटहरा बनाईएका छन् । नगरपालिकाका अनुसार घर जग्गा नभएका वास्तविक सुकुम्वासी ३ घरपरिवार मात्रै छन् ।

बसपार्क क्षेत्रमा बस्दै आउनुभएकी सिउकली परियारले नगरपालिकाले घरखाली गर्न अल्टिमेटम दिएपछि आफु समस्यामा परेको बताउनुभएको छ । ‘मेरो सम्पती केही छैन्, पुरानो बसोबास सिद्धकुमाख हो, त्यहाँ केही नभएपछि बर्षौ देखी अर्काको घरमा बस्दै आएकी छु, एउटा छोरो जेलमा छ, अर्को अपांग छ, घरमा खाने केही छैन्’ खिइएका हातका औँला देखाउँदै उहाँले भन्नुभयो ‘दिनभर बालुवा चालेर छाक टार्ने गर्छु ।’

उहाँले अवको बास त्रिपालमा हुने बताउनुभयो । ‘नगरपालिकाले राम्रो बसपार्क बनाउने हो रे, मेरो त अव यहाँ बसाई नहुने भो, कमाई गर्ने कोही छैनन्, छोरो अपांग छ, बालुवा चालेर खाने जुटाउँछु, साँझ के खाने भन्ने चिन्ता छ’ उहाँले भन्नुभयो ‘खाने जुटाउन त मलाई धौँ–धौँ छ, कोठा भाडा तिरेर म बस्न सक्दिन्, नगरपालिकाले घर भत्किाइ दियो भने कहाँ बस्ने हो, ठेगान नै छैन् ।’

अर्की स्थानिय लक्ष्मी गिरीले नगरपालिकाले घर भत्काइदिए आफ्नो पनि उठिबास लाग्ने बताउनुभयो । ‘ऋण बढी भएर सासुससुरा र श्रीमानले सबै जग्गा बेचेँ, पैँसा कमाउन भनेर कालापार गएका श्रीमान १० बर्षदेखी सम्पर्कमा छैनन्, बसपार्कमा घर बनाएर परिवार पाल्दै आएकी छु’ उहाँले भन्नुभयो ‘अहिले साह्रै समस्या भयो, बस्दै आएको घर छोडेर अव कहाँ जाने होला ?’

नगरपालिकाले भने वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गर्ने, घरमुली नभएका, आर्थिक रुपमा विपन्न भएका परिवारलाई प्राथामिकता दिएर व्यवस्थापन गर्ने र अस्थायी घरटहरा हटाउने जनाएको छ । नगर प्रमुख प्रकाश भण्डारीले आधुनिक बसपार्क निर्माणका लागि बसपार्क क्षेत्रमा भएका अस्थायी टहरामा माघ २ गते डोजर चलाउने बताउनुभएको छ ।

‘घरटहरा हटाउन दिएको अल्टिमेटम सकिन् थालेको छ, पटक–पटक आग्रह गर्दापनि स्थानियले घरटहरा हटाउन आनाकानी गरेका छन्, नगरले वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्छ’ उहाँले भन्नुभयो ‘स्थानिय आफैँले घरटहरा खाली गरेर आधुनिक बसपार्क निर्माणमा सहयोग गरुन भन्ने हाम्रो चाहाना हो, यदी स्थानियले आनाकानी गरेको खण्डमा नगरपालिकाले अस्थायी घरटहरामा डोजर चलाउँछ ।’ उहाँले बसपार्क क्षेत्रमा निर्माण गरिएका सानाठुला सबै घरटहरामा भत्काइने बताउनुभयो ।

नगरप्रमुख भण्डारीले घरटहरा भत्काउन बित्तिकै बसपार्क निर्माणको थालनी गरिने बताउनुभयो । ‘विगतमा बसपार्क निर्माणको वजेट तीन पटक फ्रिज भएको थियो, अहिले नगरपालिकाले आफ्नै स्रोतबाट एक करोड रुपैँया विनियोजन गरेको छ, यसबाट तत्काल सरसफाई गर्ने, स्पेस निकाल्ने, सटरहरु निर्माण गर्ने काम गर्छौ’ उहाँले भन्नुभयो ‘थप वजेटका लागि डिपिआर सहित प्रदेश र केन्द्र सरकारसँग माग गर्छौ ।’

शारदा नगरपालिकाले २०७६ सालमा नै पुरानो बसपार्कलाई हटाएर व्यवस्थित र आधुनिक बसपार्क बनाउने योजना अघि सारेको थियो ।

 

प्रतिक्रिया दिनुहोस