ऐलानी जग्गामा बनाएका घरटहरामा नगरपालिकाले चलायो डोजर !

श्रीनगरमा आधुनिक बसपार्क निर्माणको थालनी

 

सल्यान, २ माघ ।
सल्यानको श्रीनगर स्थित पुरानो बसपार्कमा निर्माण गरिएका घरटहरामा डोजर चलेको छ । पुरानो बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माणको लागि पुरानो बसपार्क आसपासमा ऐलानी जग्गामा बनाईएका घरटहरामा सोमबार शारदा नगरपालिकाले डोजर चलाएको हो । सरकारी पर्ती ऐलानी जग्गामा आधुनिक बसपार्क निर्माणका लागि अस्थायी बसपार्क वरपरका झन्डै १ सय बढी घरहटरा हटाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाले डोजर लगाएर घर, टहरा तथा घुम्ती पसलहरु हटाउन शुरु गरेको हो ।

मंसिर १५ गते बसेको शारदा नगर कार्यपालिकाको बैठकले ऐलानी जग्गामा बनेका घरटहरा हटाउने निर्णय गर्दै ३५ दिने सूचना जारी गरेको थियो । घरटहरा हटाउन दिइएको अल्टिमेटम आइतवार सकिएकाले सोमबार डोजर चलाइएको नगरपालिकाले जनाएको छ । घरटहरा हटाउन नगरप्रमुख प्रकाश भण्डारी, उपप्रमुख सुस्मिता सापकोटा सुनार सहित जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी सहितको टोली श्रीनगर पुगेको थियो ।

ऐलानी जग्गामा बनाइएका घरटहरा हटाउन दिएको समयसिमा भित्र केही स्थानियले घरटहरा हटाउन आनाकानी गरेकाले डोजर चलाएको नगरप्रमुख प्रकाश भण्डारीले बताउनुभयो । ३५ दिने सूचना जारी गर्दा पनि नहटाइएका घरटहरामा डोजर चलेको उहाँको भनाइ छ । उहाँले पहिलो चरणमा करिब ३५ रोपनी क्षेत्रफलमा बनाइएका घरटहरामा डोजर चलेको जानकारी दिनुभयो ।

उहाँले वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गरिएको बताउनुभयो । बसोबासका लागि छुट्टै व्यवस्थापन नभएकाका लागि भाडा तिरिदिने र बसपार्क निर्माणपश्चात अहिले व्यवसाय गर्दै आएकालाई प्राथामिकता दिएर ब्यवस्थापन गर्ने उहाँको भनाइ छ । ‘बस्ने घर नै नभएका पाँच परिवार र आर्थिक अवस्था कमजोर भएका १० घरपरिवारको बसाई व्यवस्थापन नगरपालिका गरिदिएको छ’ उहाँले भन्नुभयो । नगरप्रमुख भण्डारीले अव तत्कालै आधुनिक बसपार्क निर्माणको थालनी गरिने बताउनुभयो ।

ऐलानीमा बनाएका सबै घर भत्काइनुपर्छ : स्थानिय

श्रीनगरको बसपार्क क्षेत्रमा घरटहरा निर्माण गरेर बस्दै आएका स्थानियले भने बजारभरी ऐलानीमा भएका सबै घर भत्काइनुपर्ने बताएका छन् । उनीहरुले बसपार्क क्षेत्रमा मात्रै नभएर बजारका बिभिन्न क्षेत्रहरुमा ऐलानी जग्गामा दर्जनबढी घरनिर्माण भएकाले ती घरहरु भत्काइनुपर्ने बताएका हुन् । घरटहरा भत्काउनेमा आफूहरुको विरोध नरहेको भन्दै उनीहरुले अन्य स्थानमा ऐलानी जमिनमा बनेका संरचना पनि भत्काउनु पर्छ भन्ने माग रहेको बताएका छन् ।

स्थानिय नरेश बिकले ऐलानी जग्गामा भएका सबै घरटहरा हटाइनुपर्ने बताउनुभयो । उहाँले आफुहरु विकास विरोधी नभएको तर कसैको घर भत्काउने र कसैलाई छोडेमा आन्दोलन गर्ने चेतावनी दिनुभयो । श्रीनगरमा रहेको करिब ८७ रोपनी ऐलानी जग्गा न्यायोचित रुपमा फिर्ता हुनुपर्ने स्थानीयहरुले माग राखेका छन् ।

सामान व्यवस्थापनका लागि तीन दिनको म्याद

शारदा नगरपालिकाले बसपार्क क्षेत्रमा निर्माण गरिएका घरटहरा भत्काइएपछि सामान व्यवस्थापनको लागि तीन दिनको समय दिएको छ । सोमबार एक सुचना जारी गर्र्दै नगरपालिकाले बसपार्कको ऐलानी जग्गामा बनाइएका संरचनाहरु भत्काएपनि घरटहरा निर्माण गरेका सरोकारवालाहरुले सामान व्यवस्थापनकोे लागि तीन दिनको समय मागेकाले माघ ४ गते सम्मलाई समय दिइएको जनाएको छ ।

घरटहरा निर्माण गरेका सरोकारवालाहरुले ईट्टा, ढुंगा, छड, जस्तापाता, झ्याल, ढोका जस्ता सामानको व्यवस्थापनका लागि ३ दिनको समय मागेका थिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव बहादुर बुढाथोकीद्धारा जारी सुचनामा भनिएको छ ‘तोकिएको समयमा सामानहरु व्यवस्थापन नगरिएमा पुनः नियमानुसार सामानहरु नगरपालिकाले स्वयम् हटाउने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

 

प्रतिक्रिया दिनुहोस