मापदण्ड विपरितका सबै क्रसर उद्योग बन्द

क्रसर उद्योगहरु बन्द हुदाँ तोकिएको समयमा नै पूर्वाधार निर्माणका काम सम्पन्न गर्न समस्या हुने निर्माण व्यवसायिहरुले बताएका छन् ।

File photo

सल्यान, ६ माघ ।
सल्यानमा मापदण्ड विपरित रहेका सबै क्रसर उद्योगहरु बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लामा मापदण्ड विपरित रहेका पाँच वटा क्रसर उद्योग र एक बालुवा प्रशोधन केन्द्र बन्द गरेको हो । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले दर्ता विना रहेका क्रसर उद्योग र दर्ता भएर नविकरण नगरेको बालुवा प्रशोधन केन्द बन्द भएको जानकारी दिनुभएको छ ।

जसमा क्रसर उद्योग अन्र्तगत चालु रहेका सिंह एण्ड ब्रोदर हमाल जिबि कम्पनि–कालाखेत, कालिका प्यासिफिक ज्वाईन्ट भेन्चर–कालिमाटी, पिके निर्माण सेवा प्रालि–शारदा, बेचालु अवस्थामा रहेको खड्का पिएस निर्माण सेवा–कुमाख र निर्माणाधिन अवस्थामा रहेको जाभा धुलिखेल जेबि कम्पनी मिनि क्रसर उद्योग–बन्गाड बन्द भएका हुन् । यस्तै ढुंगिवगरमा रहेको बगेश्वरी एग्रीग्रेड बालुवा प्रशोधन केन्द्र दर्ता गरेको भएपनि नविकरण नहुदाँ बन्द भएको हो ।

जिल्ला प्रशासन कार्यालयले पुस २२ गते एक सुचना जारी गर्दै जिल्लाभित्रै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो । प्रचलित कानून र मापदण्ड विपरीत अनुमती नलिई, दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी तथा उत्खनन्, प्रशोधन कार्यमा संलग्न रहेका क्रसर उद्योग र विभिन्न आयोजना विकास तथा निर्माणको प्रयोजनका लागि सञ्चालित भएका तर, आयोजना समाप्तिपछि पनि सञ्चालनमै रहेका उद्योग तत्काल बन्द गर्न व्यवसायीलाई सुचना मार्फत ध्यानाकर्षण गराएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काद्वारा जारी सूचनामा आयोजना सकिए पनि सञ्चालनमै रहेका क्रसर उद्योग तत्काल बन्द गर्न उद्योग, निर्माण व्यवसायी, स्थानीय तह तथा सुरक्षा निकाय समेतलाई यसको निगरानी गरी बन्द गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ । साथै अटेर गरे कानुन बमोजिम कडा सजाय हुने चेनावनी दिएको थियो ।

यता क्रसर उद्योगहरु बन्द हुदाँ तोकिएको समयमा नै पूर्वाधार निर्माणका काम सम्पन्न गर्न समस्या हुने निर्माण व्यवसायिहरुले बताएका छन् । कच्चा पदार्थ उत्पादन गर्ने क्रसर उद्योग नै बन्द हुदाँ सडक, पुल, भवन लगाएतका पूर्वाधार निर्माणका काम सम्पन्न गर्न समस्या भएको व्यवसायिहरुले बताएका हुन् ।

निर्माण व्यवसायि लक्ष्मण हमालले निर्माण सामाग्री विना नै पूर्वाधार निर्माणका काम सञ्चालन गर्न समस्या भएको बताउनुभएको छ । जसका कारण राप्ती राजमार्गको चोरखोला देखी खौला सम्म सडकको मर्मतसम्भार तथा पिचको जिम्मेवारी लिएका करिब एक दर्जन निर्माण व्यवसायिका साथै अन्य पूर्वाधार निर्माणका काम सञ्चालन गदै आएका निर्माण व्यवसायिलाई समस्या भएको उहाँको भनाइ छ ।

उहाँले अहिले निर्माण सामाग्री संकलन गर्ने र फागुन लागेपछि सडक पिचको काम अगाडी बढाउने योजना भएपछि क्रसर उद्योग बन्द हुदाँ समस्या भएको बताउनुभयो । ‘जिल्लामा सबै मापदण्ड पुरा गरेर क्रसर उद्योग सञ्चालन गर्न समस्या नै छ, तर क्रसर उद्योग सञ्चालन नहुदाँ विकास निर्माणका कार्यमा असर पर्छ’ उहाँले भन्नुभयो । क्रसर उद्योग बन्द हुदाँ सबै निर्माण व्यवसायि मर्कामा परेको उहाँको भनाइ छ ।

 

 

प्रतिक्रिया दिनुहोस