शहरी स्वास्थ्य क्लिनिकमा स्थानियको ताल्चा !

यदी स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा ताल्चा लगाइएको भए कानुनी रुपमा अघि बढ्ने नगर प्रमुख प्रकाश भण्डारीले बताउनुभयो ।

सल्यान, ९ माघ ।

सल्यानको शारदा नगरपालिकामा रहेको एक शहरी स्वास्थ्य क्लिनिकमा स्थानियले ताल्चा लगाएका छन् । नगरपालिकाले मनोमानी ढंगले स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको र स्थानियले राखेका मागको सम्बोदन नभएको भन्दै स्थानियले ताल्चा लगाएका हुन् । जिल्लाको शारदा नगरपालिका ४ सुन्टाकुरामा रहेको शहरी स्वास्थ्य क्लिनिक रहेको सामुदायिक बनको भवनको गेटमा ताल्चा लगाइएको हो ।

२०७५ सालमा नगरपालिकाले आफ्नै भवनको व्यवस्थापन नहुदाँ सम्मको लागि भन्दै स्थानिय सालघारी सामुदायिक बन उपभोक्ता समुहको अफिस कोठामा शहरी स्वास्थ्य क्लिनिक स्थापना गरेको थियो । तर स्वास्थ्य क्लिनिक सञ्चालन भएको झण्डै चार बर्ष हुदाँ पनि नगरपालिकाले जग्गाको खोजी, वजेट विनियोजन, स्थानियको माग सम्बोधन लगाएतका कार्य नगरेकाले सोमबार वन समुहको भवनको गेटमा ताल्चा लगाएको स्थानियले बताएका छन् ।

शहरी स्वास्थ्य क्लिनिकको छुट्टै व्यवस्थापन गर्न, जग्गा प्राप्तीको लागि पहल गर्न, शहरी स्वास्थ्य क्लिनिकमा रिक्त कर्मचारीको पदपुर्ती गर्दा स्थानियलाई प्राथामिकता दिन माग गर्दापनि नगरपालिकाले बेवास्ता गरेकाले बन उपभोक्ता समुहको बैठकको निर्णय अनुसार आफ्नै सामुदायिक वनको भवनको गेटमा ताल्चा लगाइएको सालघारी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रोम प्रकाश थापाले जानकारी दिनुभयो ।

सामुदायिक बनले शहरी स्वास्थ्य क्लिनिकलाई अनेत्र व्यवस्थापन गर्न माग गर्दै २०७९ मंसिर २८ गतेको निर्णय अनुसार माघ ३ गते शारदा नगरपालिकालाई पाँच दिनको अल्टिमेटम दिएको थियो । तर नगरपालिका र वडा कार्यालयबाट कुनै पनि प्रतिक्रिया नआएपछि सामुदायिक बनको अफिस कोठामा बस्दै आएको शहरी स्वास्थ्य क्लिनिक अनेत्र सार्न माग सहित भवनको गेटमा ताल्चा लगाइएको उहाँको भनाइ छ ।

‘यस सामुदायिक बनमा करिब ६० जना बढी उपभोक्ता रहेका छन्, ती सबै उपभोक्ताहरुको सहमतिमा सोमवार बसेको बैठकले आफ्नो मातहतमा रहेको सामुदायिक भवनको मुलगेटमा ताल्चा लगाउने निर्णय गरे वमोजिम ताल्चा लगाइएको छ’ उहाँले भन्नुभयो ‘भवनको गेटमा आफ्नो प्रयोजनको लागि मात्र हुनेगरी आजैदेखी ताल्चा लगाइएको हो ।’

सामुदायिक बन उपभोक्ता समितीका सहसचिव खिम बहादुर बुढाथोकीले शहरी स्वास्थ्य क्लिनिकको भवन निर्माणको लागि जग्गा दान गर्न स्थानिय तयार भएको अवस्थामा समेत नगरपालिकाले वजेटको व्यवस्था गर्न नसकेको र कर्मचारी पदपुर्ती गर्दा स्थानियलाई प्राथामिकता नदिएर मापदण्ड विपरितका कर्मचारी भर्ना गरेको बताउनुभयो । नगरपालिकाले अहेव पदमा पहिल्यै बढी भएको कर्मचारी भन्दै फरक वडाको पठाएको र कार्यालय सहयोगीमा विहे गरेर अनेत्र गएकोलाई भर्ना गरेको स्थानियको भनाइ छ ।

स्थानियलाई कर्मचारीको रुपमा भर्ना गर्दा आपतकालिन अवस्थामा समेत सहज हुनेभएपनि स्थानियको मागको बेवास्ता गरेकाले नगरपालिका मातहत रहेको शहरी स्वास्थ्य क्लिनिकको लागि सामुदायिक बनको कोठा दिन नसक्ने निर्णय सहित ताल्चा लगाइएको उहाँको भनाइ छ ।

यता शारदा नगरपालिकाले भने शहरी स्वास्थ्य क्लिनिक बसेको सामुदायिक भवनको गेटमा ताल्चा लगाएको सुन्नमा आएको जनाएको छ । यदी स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा ताल्चा लगाइएको भए कानुनी रुपमा अघि बढ्ने नगर प्रमुख प्रकाश भण्डारीले बताउनुभयो । ‘इच्छा लागेको बेलामा राख्न मिल्ने र इच्छा नलागेको बेलामा हटाउने ? त्यो मिल्दैन, सबैको पायक पर्ने स्थानमा नै स्वास्थ्य क्लिनिक छ, यो स्थानिय नागरिकको सहजताको लागि राखिएको हो’ उहाँले भन्नुभयो ‘यदी ताल्चा लगाएर सेवा अवरुद्ध भएको भए, कानुनी रुपमा अघि बढ्छौँ ।’

 

 

प्रतिक्रिया दिनुहोस