बागचौर नगरपालिका आफ्नै भवनमा सर्यो

सल्यान, १३ माघ ।
सल्यानको बागचौर नगरपालिका आफ्नै भवनमा सरेको छ । शुक्रवार बागचौर नगरपालिका २ बागचौरमा निर्मित भवनको उद्घाटन गर्दै नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको हो । भवन निर्माण भएको झण्डै चार बर्षपछि आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख जनकराज गौतमले स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाले सेवाग्राहीलाई प्रत्यक्ष सरकारको अनुभूति हुने गरी सेवा प्रवाह गर्दै आइरहेको बताउनुभयो । आफ्नै प्रशासकीय भवन बनेकाले अब सुशासन र सहज रुपमा सेवा प्रवाह हुनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो । भवन निर्माण भएको लामो समय हुदाँपनि आफ्नै भवनबाट सेवाप्रवाह गर्न असहजता भएपनि अवभने आफ्नै भवनबाट सेवाप्रवाह थालिएको उहाँको भनाइ छ ।

आफ्नै भवनबाट अब सेवाग्राहीले एकीकृत सेवा र विकास निर्माणको कामलाई अझ चुस्त सरल सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको नगर उपप्रमुख सुम्निमा डिसी वलीले बताउनु भयो । नवनिर्मित भवनमा कार्यालय उद्घाटन कार्यक्रममा संस्थापक नगरप्रमुख लोकमान बुढाथोकी, संस्थापक उपप्रमुख कल्पना पुन, प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार गौतम   लगाएतको सहभागि हुनुभएको थियो ।

भवन निर्माणका लागि बहुवर्षे ठेक्का अन्तर्गत २०७४ असार २७ गते नगरपालिकाले प्रकृति निर्माण प्रालिसँग भ्याट बाहेक ३ करोड २९ लाखमा सम्झौता गरेको थियो । भवन निर्माणको काम २०७५ चैतमा सम्पन्न भएको थियो । यसैविच भवन निर्माणको लागि जग्गा दान गर्ने ३३ जना जग्गादाता र २३ जना नगद चन्दादातालाई नगरपालिकाले सम्मान समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित