सल्यानका ८ हजार १ सय २१ परिवार गरिबको सूचीमा : कुन पालिकामा कति ?

‘पहिला पनि हाम्रा लागि कार्यक्रम त आउँथे होला तर गरिबका लागि आएका कार्यक्रममा टाँठाबाँटाले रजाई गर्थे, अहिले गरिब कार्ड हातमा परेको छ’ उहाँले भन्नुभयो ‘अब हाम्रा लागि तय भएका कार्यक्रम हाम्रै लागि सञ्चालन हुन्छन् कि ?’

सल्यान, १४ माघ ।

सल्यानमा गरिब घरपरिवारका लागि परिचयपत्र वितरण सुरु गरिएको छ । नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत जिल्लाका दश वटै पालिकामा गरिब परिचयपत्र वितरण शुरु गरिएको हो । जसअनुसार सल्यानका तीन नगरपालिका र सात गाउँपालिकामा गरेर ८ हजार १ सय २१ गरिब परिचयपत्र बाँड्न थालिएको हो ।

अहिले जिल्लाका केही पालिकाले गरिब परिचयपत्र वितरण गरिसकेका छन् भने केहीले वितरणको तयारी गरेका छन् । जिल्लाभर एक हजार ६ सय ५५ परिवार अति गरिबको सूचीमा रहेका छन् । यस्तै तीन हजार २ सय ८७ परिवार मध्यम गरिब र तीन हजार एक सय ७९ परिवार सामान्य गरिबको सूचीमा रहेका छन् ।

गरिब परिवार सूचीकृत पुस्तिका अनुसार जिल्लाको बागचौर नगरपालिकामा ५ सय १७ अति गरिब, ७ सय ६० मध्यम गरिब र ४ सय ३ सामान्य गरिब गरेर एक हजार ६ सय ८० परिवार गरिबको सूचीमा रहेका छन् । यस्तै बन्गाड कुपिण्डे नगरपालिकामा ३ सय ३८ अति गरिब, ६ सय ९२ मध्यम गरिव, ४ सय ५ सामान्य गरिब सहित एक हजार ४ सय ३५, शारदा नगरपालिकामा ४० अति गरिब, एक सय ७६ मध्यम गरिब र ४ सय ३१ सामान्य गरिब गरेर ६ सय ४७ परिवार गरिबको सूचीमा परेका हुन् ।

यस्तै दार्मा गाउँपालिकामा ६८ अति गरिब, २ सय १२ मध्यम गरिब र २ सय १४ सामान्य गरिब गरेर ४ सय ९४, कुमाख गाउँपालिकामा एक सय १४ अति गरिब, २ सय ३७ मध्यम गरिब र २ सय सामान्य गरिब गरेर ५ सय ५१, सिद्ध कुमाख गाउँपालिकामा ३७ अति गरिब, एक सय ४३ मध्यम गरिब र एक सय ७४ सामान्य गरिब गरेर ३ सय ५४ परिवार गरिबको सूचीमा रहेका छन् ।

यस्तै छत्रेश्वरी गाउँपालिकामा ५१ अति गरिब, एक सय ४० मध्यम गरिब र २ सय २८ सामान्य गरिब गरेर ४ सय १९, कालिमाटी गाउँपालिकामा ३ सय ५३ अति गरिब, ५ सय ५८ मध्यम गरिब र ५ सय ७३ सामान्य गरिब गरेर एक हजार ४ सय ८४, त्रिबेणी गाउँपालिकामा ३१ अति गरिब, एक सय २४ मध्यम गरिब र २ सय २१ सामान्य गरिब गरेर ३ सय ७६ तथा कपुरकोट गाउँपालिकामा एक सय ६ अति गरिब, २ सय ४५ मध्यम गरिब र ३ सय ३० सामान्य गरिब गरेर ६ सय ८१ गरिब परिवार रहेका छन् ।

जिल्लाभर करिब ५२ हजार घरधुरी रहेका छन् । गरिब परिवारको सूचि हेर्दा जिल्लाका करिब १५ प्रतिशत घरधुरी गरिब रहेको पाइन्छ । गरिब परिचयपत्रका आधारमा स्वास्थ्य सेवामा सुविधा, शिक्षामा सहुलियत, कृषिमा ऋण तथा अनुदान उपलब्ध लगाएतका कार्यक्रम सञ्चालन गर्ने सरकारको लक्ष्य छ ।

अशिक्षा, बेरोजगारी, परम्परागत खेतीका कारण जिल्लामा गरिबी बढिरहेको छ । जनसांख्यिक तथा मानवीय अवस्था, परिवारका सदस्यको रोजगारीको अवस्था, बसोबासको भौतिक अवस्था, घरायसी सुविधा, घरयासी सम्पत्ति, परिवारको आम्दानी लगाएतका एक दर्जन बढी सूचकको आधारमा गरिब पहिचान गरिएको थियो ।

तीनै तहका सरकारले विपन्न तथा गरिबका लागि कार्यक्रम सञ्चालन गरेपनि वर्गीकरण नहुँदा ती समुदायका लागि सञ्चालित कार्यक्रम प्रभावकारी हुन सकेका थिएनन् । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले परिचयपत्र पाउने गरिबलाई आयमूलक कामको लागि सीप सिकाउन, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्न, खाद्य सुरक्षा सुनिश्चित गर्न सहज हुने बताउनुभयो ।

‘गरिब तथा विपन्न परिवारको लागि भनेर तय भएका कार्यक्रम बास्तविक गरिबसम्म पुग्न सकेका थिएनन्, शिक्षा, स्वास्थ्य, लगाएतका पुर्वाधार विकासमा पनि पहुँच पुगेको थिएन्, को गरिब ? को धनि छुट्याउन नै मुश्किल थियो’ उहाँले भन्नुभयो ‘गरिब परिचयपत्र वितरण गरिसकेका छौँ, अव को गरिब हो भनेर थाहा भैसक्यो, गरिबी न्यूनिकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्छौ ।’

बन्गाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्ण बहादुर बुढाथोकीले गरिबी न्यूनीकरण गरी गरिब जनतालाई आर्थिक रुपमा आत्मनिर्भर र सक्षम बनाउन सञ्चालित कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन गर्न गरिब परिचयपत्रले सजिलो हुने बताउनुभयो । गरिब घरपरिवार लक्षित गरेर शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सिपमुलक तालिम आदीको व्यवस्था गरिने उहाँको भनाइ छ ।

अव सरकारले सञ्चालन गर्ने गरिब लक्षित कार्यक्रममा विचौलियाले प्रवेश नपाउने कपुरकोटका शेर वहादुर पुनले बताउनुभयो । ‘पहिला पनि हाम्रा लागि कार्यक्रम त आउँथे होला तर गरिबका लागि आएका कार्यक्रममा टाँठाबाँटाले रजाई गर्थे, अहिले गरिब कार्ड हातमा परेको छ’ उहाँले भन्नुभयो ‘अब हाम्रा लागि तय भएका कार्यक्रम हाम्रै लागि सञ्चालन हुन्छन् कि ?’

 

प्रतिक्रिया दिनुहोस