सल्यान कारागारमा निःशुल्क स्वास्थ्य शिविर

सल्यान, १७ माघ ।
जिल्ला कारागार सल्यानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा सोमबार कारागार भित्रै कैदीबन्दीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । कैदीबन्दीलाई दुई जना चिकित्सक सहित १० जनाको स्वास्थ्यकर्मीको टोलीले उपचार सेवा दिएका हुन् ।

कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरेर स्वास्थ्य परिक्षण, प्रेसर, दम, सुगर, क्षयरोग परिक्षण गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । कम क्षमताको कारागारमा धेरै कैदीबन्दी राख्नुपर्ने बाध्यताका कारण विभिन्न स्वास्थ्य समस्या हुनसक्ने भएकाले निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण गरिएको हो ।

कारागारमा रहेका ६८ जना पुरुष र ८ जना महिला गरेर ७६ जनाको स्वास्थ्य परिक्षण गरिएको हो । जसमा दुई जनालाई थप परिक्षणका लागि जिल्ला अस्पताल सल्यानमा रिफर गरिएको छ । स्वास्थ्य परिक्षणसँगै उनीहरुलाई औषधि वितरण गरिएको छ । स्वास्थ्य परिक्षणका क्रममा कैदीबन्दीलाई सामान्य ज्वरो, रुघाखोकी, प्रेसर, दम, छाला चिलाउने, लगाएतका समस्या देखिएका छन् ।

कैदीबन्दीलाई मनोपरामर्श सेवा पनि प्रदान गरिएको छ । एकैपटक कारागार भित्र सबै कैदीबन्दीको स्वास्थ्य परिक्षण गर्दा उनीहरुमा भएका स्वास्थ्य समस्याहरुको निराकरण गर्न सहयोग मिलेको कारागारका एचए टेक बहादुर राणाले जानकारी दिनुभयो । शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण गर्न पाएकोमा कैदीबन्दी खुसी भएको छन् ।

शिविरमा स्वास्थ्य सेवा कार्यालयका प्रमुख दशरथ श्रेष्ठ, जिल्ला अस्पतालका डा. दिपेन्द्र राय, डा. सचि सिंह, कारागारका जेलर राजन कडेँल लगाएतको सहभागिता रहेको थियो । ३५ जनाको क्षमता रहेको जिल्ला कारागारमा अहिले १ सय ३७ जना कैदीबन्दी रहेका छन् । जसमा पुरुष १ सय २१ र महिला १६ जना रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस