उच्च बस्तीमा खानेपानीको अभाव

केही क्षेत्रमा निर्माण भएका खानेपानीका पुराना योजना जीर्ण बनेका तर मर्मतसम्भार नहुनु र केही क्षेत्रका पुराना कुवा तथा खोल्साका पानीका मुहान सुक्दै जानथालेपछि पिउने पानीकै अभाव भएको स्थानियको भनाइ छ ।

सल्यान, १७ माघ ।

सल्यानका उच्च क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि यहाँका कोट, बयाले, पोखरी, आरुचौर, चौर, माँझखर्क, वस्नेवटा, काप्रेचौर लगाएतका दर्जन बढी बस्तीहरुमा खानेपानीको अभाव हुन थालेको हो । जिल्लाका उच्च बस्तीमा पानीको अभाव भएकाले एक गाग्री पानी लिन डेढ/दुई घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चड्नुपर्ने वाध्यता छ ।

प्रत्येक घरबाट पानी लिनका लागि एकजना मान्छे दिनभर खटिनुपर्ने बाध्यता रहेको स्थानियको गुनासो छ । पानीको अभाव हुदाँ स्थानियको दैनिकी नै पानी ओसार्नेमा केन्द्रित हुन थालेको छ । केही क्षेत्रमा निर्माण भएका खानेपानीका पुराना योजना जीर्ण बनेका तर मर्मतसम्भार नहुनु र केही क्षेत्रका पुराना कुवा तथा खोल्साका पानीका मुहान सुक्दै जानथालेपछि पिउने पानीकै अभाव भएको स्थानियको भनाइ छ ।

अहिले निगालचुलाको माझखर्क र चौरमा खानेपानीको हाहाकार छ । २०६६ सालमा निर्माण गरेको सौर्य ऊर्जा खानेपानी योजनाको मोटर बिग्रिएपछि स्थानीयले तीन वर्षदेखि सास्ती भोग्दै आइरहेका छन् । एक गाग्री पानीका लागि एक/डेढ घन्टा हिँडेर नजिकैका कुवा तथा खोलाहरूमा धाउनुपर्ने स्थानियको भनाइ छ । खानेपानीको हाहाकार भएपछि माझखर्क ५३ र चौरका ५७ गरी एक सय १० घरपरिवार प्रभावित भएका छन् ।

गाउँमा खानेपानी नहुँदा घण्टौं हिँडेर पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीय दिलमाया खत्रीले बताउनुभयो । ‘वर्षौंदेखि आधा राति उठेर पानी ल्याउन मुहानमा जानुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘खानेपानी समस्याका कारण महिला र बालबालिका बढी जोखिममा रहेका छन् ।’ खानेपानी अभावले केहीले बसाइसराई गर्न थालेको र शौचालय प्रयोग गर्न तथा पशुपालन गर्न समस्या भएको उहाँको भनाइ छ ।

लिफ्ट खोनपानी योजनाको काम रोकिए पछि घरमै खानेपानी आउने आसामा बसेकी कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरस्थित कोट निवासी पुष्पा डाँगीले एक गाग्री पानीका लागि एक/डेढ घण्टा हिँड्नुपर्ने बाध्यताको अन्त्य नभएको बताउनुभयो । ‘खानेपानी घरमै आउँछ भनेर खुसी थिए, असोजमा घरमै पानी भर्न पाइने आशा थियो, तर खानेपानी योजनाको काम गत असारदेखि नै रोकियो’ उहाँले भन्नुभयो ‘हाम्रा पानीका दुःख जस्ताको त्यस्तै छन् ।’

स्थानीय कमला बस्नेतले खानेपानीका लागि वर्षौदेखि सास्ती भोगिरहेको बताउनुभयो । ‘खानेपानी ल्याउन बिहानै मुहानमा जानुपर्ने बाध्यता छ’ उहाँले भन्नुभयो ‘पानी भर्न समेत एक/डेढ घण्टा पालो कुर्नुपर्छ ।’ खानेपानी समस्याका कारण बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको उहाँको भनाइ छ । ‘सधैं पानीकै चिन्ता हुन्छ, पानीको समस्याले घरको कामकाज समेत दैनिक प्रभावित भइरहेको छ’ उहाँले भन्नुभयो ।

यहाँका कोट, बयाले, पोखरी र आरुचौरमा खानेपानीको निकै समस्या रहेको छ । हिउँदको समयमा महिला र बालबालिकाको दैनिक काम नै पानी ओसार्ने हुने गर्दछ । खानेपानी योजना रोकिदा यहाँका चार गाउँका करिब २ सय ४६ घरपरिवार प्रभावित भएका छन् । स्थानीयहरु अहिले एक घण्टा तलको बयाले खानेपानी मुहानबाट पानी ल्याउन बाध्य छन् ।

करिव सवाँ चार करोडको लागतमा खानेपानी योजना निर्माणको काम शुरु भएको थियो । तर डिपिआर रिपोर्टमा समस्या हुदाँ पुनः डिपिआर गरिएको र नयाँ डिपिआरको रिपोर्ट नआउन्जेल सम्मको लागि काम रोकिएको वडाअध्यक्ष रविलाल बस्नेतले बताउनुभयो । ‘खानेपानी योजना अलपत्र परेको होइन्, प्राविधिक कारणले काम रोखिएको हो’ उहाँले भन्नुभयो ।

उहाँले यस योजनाको करिब २५ प्रतिशत मात्रै काम सम्पन्न भएको बताउनुभयो । ‘यो नै हाम्रो यहाँको खानेपानीको ठुलो योजना हो, यसबाट खानेपानी सँगै सिँचाइ गर्नेगरी योजना अघि सारिएको थियो, सोही अनुसार काम पनि भैरहेको थियो तर विचमा नै काम रोकिदा खानेपानीको समस्या जस्ताको त्यस्तै छ’ उहाँले भन्नुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस