बाख्रापालक कृषकलाई तालिम

कृषकहरुलाई बाख्रापालन सम्बन्धि प्राविधिक ज्ञान प्रदान गरी व्यवसायिक बनाउने उद्धेश्यका साथ पालिका स्तरीय बाख्रापालन तालिम सम्पन्न भएको हो ।

सल्यान, १८ माघ ।
सल्यानको त्रिबेणी गाउँपालिकामा तीन दिने बाख्रापालन तालिम सम्पन्न भएको छ । कृषकहरुलाई बाख्रापालन सम्बन्धि प्राविधिक ज्ञान प्रदान गरी व्यवसायिक बनाउने उद्धेश्यका साथ पालिका स्तरीय बाख्रापालन तालिम सम्पन्न भएको हो । त्रिबेणी गाउँपालिका पशु सेवा शाखाको आयोजनामा आइतवार देखी शुरु भएको तालिम मंगलवार सम्पन्न भएको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।

तालिममा कृषकहरुलाई बाख्रापालन सम्बन्धि सिप सिकाइएको थियो । तालिममा बाख्राको खोर व्यवस्थापन, आहारा व्यवस्थापन, प्रजनन् व्यवस्थापन, आन्तरिक तथा बाह्य परजिवी नियन्त्रण, पशु विमा, उत्पादन लागत कम गर्ने तरिकाका बारेमा सिकाइएको उहाँले जानकारी दिनुभयो । तालिममा गाउँपालिका भित्रका ६ वटै वडाका २२ जना कृषकहरुको सहभागिता रहेको थियो ।

तालिम समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा लागु गर्न र व्यवसायिक बाख्रापालनमा अघि बढ्न आग्रह गर्नुभएको छ । कृषि र पशुपालनको क्षेत्रमा पालिकाले लगानी गर्दै आएको बताउँदै उहाँले पालिकाको लगानी खेर नजाने गरेर व्यवसायिक बाख्रापालन गर्न आग्रह गर्नुभयो । पशुपालक कृषकहरुको प्रोत्साहनको लागि पालिकाले विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरेको उहाँको भनाइ छ ।

उहाँले त्रिबेणी गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउन र आर्थिक रुपमा सम्पन्न हुनको लागि पनि पशुपालन अनिवार्य भएको बताउनुभयोे । तालिम समापनको अवशरमा बोल्दै सहभागिहरु दुर्गा रोका र खोपिराम भण्डारीले तालिममा सिकेका ज्ञान र सिपलाई बाख्रापालन कार्यमा लगाउने बताउनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस