प्राथामिक स्वास्थ्य केन्द्र डाक्टर विहिन : विरामीलाई अहेव र अनमीकै भर

केसीले भन्नुभयो ‘नागरिकले गाउँमै उपचार पाउँदा खर्च हुन्थेन्, तर सामान्य विरामीलाई पनि जिल्ला अस्पताल पु¥याउनुपर्छ, गाउँको अस्पतालमा डाक्टर नहुँदा महंगो उपचार गराउन स्थानीय बाध्य भएका छन् ।’

सल्यान, १८ माघ ।

सल्यानको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा पाँच बर्षदेखी डाक्टर विहिन बनेको छ । दरबन्दीमा रहेका डाक्टर बढुवा भएर गएको र नयाँ डाक्टर नआउँदा जिल्लाको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र झण्डै पाँच बर्षदेखी डाक्टर विहिन बनेको हो । पछिल्लो पटक कार्यरत डा. हेमराज शर्मा अध्ययन विदा सकाउन बित्तिकै बढुवा भएर गएपछि झण्डै पाँच बर्षदेखी स्वास्थ्य केन्द्र डाक्टर विहिन बनेको हो ।

प्राथामिक स्वास्थ्य केन्द्रमा १२ जनाको दरबन्दी छ । तर दरबन्दी र करार गरेर अहिले ७ जना मात्रै कार्यरत रहेका छन् । स्रोतका अनुसार यहाँ एमविविएस डाक्टर एक जनाको दरबन्दी छ । यस्तै हेल्थअसिस्टेन एक जना, स्टाफ नर्स एक जना, अहेव/सिअहेव तीन जना, अनमी दुई जना, ल्यावअसिस्टेन एक जना र कार्यालय सहयोगी तीन जनाको दरबन्दी छ । तर अहिले अहेव दुई जना, करारमा सहित अनमी तीन जना र दुई जना कार्यालय सहयोगी गरेर ७ जना मात्रै कार्यरत रहेका छन् । यहाँ डाक्टर, हेल्थअसिस्टेन, स्टाफ नर्स, ल्यावअसिस्टेन लगाएको दरबन्दी रिक्त रहेको छ ।

दरबन्दी अनुसारको जनशक्ति नहुदाँ स्थानिय नागरिकहरु बिशेषज्ञ सेवाबाट बञ्चित भएका छन् । स्वास्थ्य केन्द्रमा एक्स–रे लगाएतका मेसिनहरु छन् । तर जनशक्ति नहुदाँ भएका उपकरणहरु पनि सञ्चालन गर्न नसकिएको प्राथामिक स्वास्थ्य केन्द्रका निमित्त इन्चार्ज विर बहादुर वलीले जानकारी दिनुभयो । उहाँले डाक्टर लगाएतका अन्य जनशक्ति नहुदाँ इमरजेन्सी लगाएतका सेवा प्रदान गर्न पनि नसकिएको बताउनुभयो ।

‘हामीले सामान्य खालका रोगहरुको उपचार गर्ने हो, तर जनशक्ति नहुदाँ स्थानियले स्तरीय स्वास्थ्य सेवा पाउन सकेका छैनन्, हामीले सक्ने उपचार सेवा दिदैँ आएका छौँ’ उहाँले भन्नुभयो ‘यति लामो समयसम्म डाक्टर किन आउनु भएन, त्यो थाहा छैन् ।’ उहाँले जनशक्ति अभावमा २ बर्षदेखी खकार जाँच लगाएतका सेवा पनि प्रभावित भएको बताउनुभयो ।

‘सामान्य जाँच बाहेक एक्स–रे, खकार जाँच लगाएतका लागि नागरिकलाई जिल्ला अस्पताल पठाउनुपर्ने बाध्यता छ, यसले नागरिको स्वास्थ्य सेवालाई थप खर्चिलो बनाएको छ’ उहाँले भन्नुभयो ‘उपकरण छ, प्रयोग गर्ने जनशक्ति छैन् ।’ सिमित जनशक्ति हुदाँ पनि उपचार सेवा भने प्रभावित नभएको उहाँको भनाइ छ ।

अहेव र अनमीकै भर

प्राथामिक स्वास्थ्य केन्द्र विगत पाँच बर्षदेखी नै अहेब र अनमीकै भरमा चलेको छ । छत्रेश्वरी गाउँपालिका भित्रको एक मात्र तीन शैयाको स्वास्थ्य केन्द्रमा पनि वर्षौ सम्म डाक्टर नआउँदा बिरामीलाई जिल्ला अस्पतालमा रेफर गर्ने गरिएको छ । पहिला अधिंकाश समस्याहरु स्वास्थ्य केन्द्रमै उपचार हुने भएपनि अहिले डाक्टर नहुँदा स्थानीयले दुख पाईरहेका छन् ।

स्थानिय वुद्धिजिवी शिवप्रसाद केसीले भन्नुभयो ‘नागरिकले गाउँमै उपचार पाउँदा खर्च हुन्थेन्, तर सामान्य विरामीलाई पनि जिल्ला अस्पताल पु¥याउनुपर्छ, गाउँको अस्पतालमा डाक्टर नहुँदा महंगो उपचार गराउन स्थानीय बाध्य भएका छन् ।’ चिकित्सक पठाइ दिन पटक–पटक अनुरोध गर्दा पनि सम्वन्धित निकायले सुनुवाई नगरेको उहाँको गुणासो छ । उहाँले दक्ष जनशक्ति नभएका कारण उपचार तथा स्वास्थ्य परिक्षणमा समस्या भइरहेको बताउनुभयो ।

१५ शैयाको आधारभूत अस्पताल बनाउने लक्ष्य

यस प्राथामिक स्वास्थ्य केन्द्रलाई सरकारले १५ शैयाको बनाउने योजना बनाएको छ । तीन शैयालाई स्तरबृद्धि गरेर दुई बर्षभित्रमा नै १५ शैयाको बनाउने भनेर २०७७ साल मंसिरमा आधारभूत अस्पतालको रुपमा शिलान्यास गरिएको थियो । तर कोरोना लगाएतको कारण देखाउदैँ निर्माण कम्पनीले भवन निर्माणको काममा ढिलासुस्ती गरेको छ ।

भवन निर्माणको लागि जमिन सम्याउने काम भएको छ । निर्माण व्यवसायिको उदासिनताका कारण निर्माण सामाग्री बेवारिसे बनेका छन् भने भवन निर्माणको शुरुवात हुन सकेको छैन् । चिसो बढिरहेकाले स्वास्थ्य केन्द्रमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, पखला, टाउका दुख्ने लगायतका दैनिक १४÷१५ जना विरामी उपचारका लागि आउने गरेका छन् । स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा साविकको लेखपोखरा गाविसका साथै स्यानीखाल, दमाचौर र झिम्पेका स्थानीयलाई निकै समस्या परेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस