अस्पताल शिलान्यासको २६ महिना : कतै अलपत्र, कतै जग्गा खोज्दै !

आफ्नै पालिकामा आधारभूत तहको अस्पताल निर्माण हुन थालेको भन्दै स्थानियहरु पनि खुसी भए । तर गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा पाउने स्थानियको सपना भने पुरा हुन सकेको छैन् ।

कपुरकोटमा निर्माण रोकिएको आधारभूत अस्पताल भवन । तस्वीर : गोविन्द आचार्य

सल्यान, १९ माघ ।
१५ मंसिर २०७७ सालमा तामझामका साथ सल्यानका आठ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरियो । ६ वटा पालिकामा १५ शैया र २ वटा पालिकामा १० शैयाको अस्पताल निर्माणका लागि शिलान्यास भएको हो । शिलान्यास भएको दुई बर्षभित्रमा नै अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको भन्दै मन्त्री देखी पालिकाका जनप्रतिनिधि सम्मले चर्को स्वरमा आश्वासन बाँडे ।

आफ्नै पालिकामा आधारभूत तहको अस्पताल निर्माण हुन थालेको भन्दै स्थानियहरु पनि खुसी भए । तर गाउँमै विशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा पाउने स्थानियको सपना भने पुरा हुन सकेको छैन् । अस्पताल निर्माणको लागि शिलान्यास भएको २६ महिना हुदाँ पनि केही पालिका अझै जग्गा खोज्दै छन् भने केही पालिकामा भवन निर्माण अलपत्र परेको छ ।

बन्गाड कुपिण्डे नगरपालिकाकी दिलमाया खत्रीले स्वास्थ्य उपचारका लागि जिल्ला अस्पताल खलंगा वा सुर्खेत जानुपर्ने बाध्यता रहेको बताउनुभएको छ । ‘पालिकामै बिशेषज्ञ उपचार सेवा पाउने आसमा बसेको २६ महिना भएको छ, तर अहिले सम्म पनि भवन निर्माण भएको छैन्, यसैबर्षदेखी मात्र भवन निर्माणको थालनी भएको छ, त्यो कहिले पुरा हुन्छ थाहा छैन्’ उहाँले भन्नुभयो ‘आर्थिक जोहो गरेर उपचार गर्न जानुपर्ने हाम्रो बाध्यता छ ।’

छत्रेश्वरीमा लथालिङ आधारभूत अस्पतालको निर्माण सामाग्री ।

छत्रेश्वरी गाउँपालिकाका महेश घर्तीको पिडा पनि दिलमायाको भन्दा फरक छैन् । तामझामको साथ शिलान्यास भएको भवन अलपत्र पर्दा उपचारका लागि जिल्ला अस्पताल वा निजि मेडिकलमा जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । ‘जनतालाई आश्वासन दिनकै लागि हतारमा भवन शिलान्यास भयो, तर अहिले काम हुन सकेको छैन्, पालिकामै बिशेषज्ञ उपचार पाउनबाट नागरिक बञ्चित भएका छन्’ उहाँले भन्नुभयो ।

जिल्लाको बागचौर नगरपालिका र सिद्ध कुमाख गाउँपालिका बाहेक अरु ६ वटा पालिकामा भवन निर्माणको काम शुरु भएको थियो । तर केही पालिकामा काम रोखिएको छ । दार्मा गाउँपालिकाको भल्चौरमा आधारभूत अस्पतालको पहिलो तलाको ढलान सकेर दोस्रो तलाको ढलानको तयारी हुदैँ छ । कुमाख गाउँपालिकाको कालागाउँमा अस्पतालको पहिलो तलाको ढलानको तयारी छ ।

कालिमाटी गाउँपालिकाको रामपुरमा पनि भवन निर्माण कार्य जारी छ । शिलान्यास भएर पनि जग्गा अपुग हुदाँ निर्माण रोकिएको बन्गाड कुपिण्डे नगरपालिकामा अस्पताल निर्माणको काम यसैबर्षदेखी शुरु भएको स्वास्थ्य शाखा प्रमुख बासुदेव पोख्रेलले जानकारी दिनुभयो । ‘पहिले शिलान्यास गरिएको ठाउँमा जग्गा पुगेन, स्थानियबाट जग्गा प्राप्त भएपछि अम्रामा भवन निर्माणको थालनी भएको छ’ उहाँले भन्नुभयो ।

छत्रेश्वरी गाउँपालिकाको लेखपोखरामा अस्पताल भवन निर्माण कार्य अलपत्र छ । निर्माण कम्पनीले जग्गा सम्याउने र छड लगाएतका सामाग्री निर्माण स्थल सम्म पुर्याएपनि बाँकी काम अघि बढ्न सकेको छैन् । शिलान्यास भएको स्थानमा जग्गा कम हुदाँ कपुरकोट गाउँपालिकाको धनवाङमा भवन निर्माण कार्य रोकिएको छ । अस्पतालका लागि ७ रोपनी जग्गा हुनुपर्नेमा करिब २ रोपनी जग्गामा नै शिलान्यास गरेर निर्माण शुरु भएकाले अहिले भवन निर्माण कार्य रोकिएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।

‘पहिले गरिएको डिपिआर स्वीकृत भएन्, जग्गा कम हुदाँ रकम निकासामा पनि समस्या भएको छ, जग्गाको व्यवस्थापन नगरेर शिलान्यास गरेर कामको थालनी गर्दा समस्या भएको हो’ उहाँले भन्नुभयो ‘अहिले समस्या समाधान हुदैँ छ, थप जग्गा प्राप्तिको लागि पहल पनि गरिरहेका छौँ ।’ उता सिद्ध कुमाख गाउँपालिकाको कालालेखमा अस्पतालको शिलान्यास भएपश्चात थप काम हुन सकेको छैन् ।

बागचौर नगरपालिकाले अस्पताल निर्माणको लागि जग्गा प्राप्तिको प्रक्रियामा रहेको जनाएको छ । नगरप्रमुख जनकराज गौतमले १० शैयाको अस्पताल निर्माणका लागि वजेट आएको र भवन निर्माणको लागि जग्गा प्राप्तीको क्रममा रहेको बताउनुभयो । ‘थारमारेका दुई ठाउँ र कोटमौलाबाट गरेर तीन ठाउँका स्थानिय जग्गादानको प्रक्रियामा रहेका छन्, हामीले सबै जग्गा हेरेर आवश्यक प्रक्रिया अघि बढाउँछौ’ उहाँले भन्नुभयो ‘यसैबर्ष देखी भवन निर्माण शुरु हुन्छ ।’

 

 

प्रतिक्रिया दिनुहोस