सल्यान अस्पतालमा इमर्जेन्सी एलएससिएस : आमा र शिशुको ज्यान बच्यो

उहाँले उटरस रक्चरको जोखिम भएकाले तत्काल अप्रेशन गर्नुपरेको बताउनुभयो ।

सल्यान, १९ माघ ।
सल्यान जिल्ला अस्पतालमा इमर्जेन्सी एलएससिएस गरेर आमा र शिशुको ज्यान बचाइएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका १ निवासी २४ बर्षिया बिमला खड्काको आज बिहान इमर्जेन्सी एलएससिएस गरेर आमा र शिशुको ज्यान बचाइएको हो । सुत्केरी व्यथाले च्यापेपछि खड्कालाई राती साढेँ १२ बजे जिल्ला अस्पतालमा ल्याइएको थियो । तत्कालै जिल्ला बाहिर रिफर गर्ने अवस्था पनि नभएको र नर्मल डेलिभरी हुने सम्भावना पनि नभएपछि जिल्ला अस्पतालमा नै सफल इमर्जेन्सी एलएससिएस गरिएको हो ।

जिल्ला अस्पतालका एएसबिएस ट्रैन्ड डा. दिपेन्द्र रायको नेतृत्वमा बिशेषज्ञ डा. सुशिल पोख्रेल, बिशेषज्ञ डा. मेशक अधिकारी, जिल्ला अस्पतालका डा. नितेश अधिकारी, एनेस्थेटिक्स असिस्टेन्स प्रकाश सेन्चुरी, स्टाफ नर्स रिना बानिया लगाएतको टिमले सफल अपे्रशन गरेको हो । ‘उहाँको पहिले भारतमा अप्रेशन गरेर पहिलो सन्तानको जन्म भएको रहिछ, यो उहाँको दोस्रो सन्तानको जन्म हो’ जिल्ला अस्पतालका डा. रायले भन्नुभयो ‘पहिले अप्रेशन गरेको भएपनि व्यथा लागेकाले सामान्य डेलिभरीका लागि प्रयास गर्यौ, तर पहिले अप्रेशन गरेको ठाँउमा दुखेकाले अप्रेशन नै गर्नुपर्यो ।’

उहाँले उटरस रक्चरको जोखिम भएकाले तत्काल अप्रेशन गर्नुपरेको बताउनुभयो । ‘ब्लड बैँक नहुदाँ समस्या भयो, केही समय रगत खोज्दैमा समय वित्यो’ उहाँले थप्नुभयो ‘पहिले अप्रेशन गरेको र उटरस हल्का फुटिसकेको हुनाले करिब ३ घण्टाको निरन्तरको प्रयासपछि अप्रेशन सफल भयो ।’ डा. पोख्रेल र डा. अधिकारीको सहयोगबाट अप्रेशन गरिएको हो । उहाँहरुले विगतदेखी नै जिल्ला अस्पतालमा आएका विरामीहरुको अप्रेशन तथा उपचारमा सहयोग गर्दै आउनुभएको छ । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस