सल्यान, २१ माघ ।
सल्यानको कपुरकोट गाउँपालिकाले गाउँ प्रहरी भर्ना गरेको छ । वजेट र योजना निर्माण देखी कार्यान्वयनका बेलासम्म देखिने सुरक्षा समस्या, शान्ति, सुरक्षा र अमनचयन, सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षण, गाउँपालिकाको सुरक्षा र दैनिक कार्य सम्पादनका क्रममा आवश्यक ठाउँमा प्रयोग गर्नेगरी गाउँपालिकाले गाउँ प्रहरीको भर्ना गरेको हो । प्रहरी सहायक निरिक्षकको कमाण्डमा रहने गरी एक जना हवल्दार र तीन जना जवान भर्ना गरेको हो ।
हिले गाउँ प्रहरीमा छनौट भएकाका लागि आवश्यक तालिम सञ्चालन भैरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको शारिरीक दन्तुरुस्ती, लिखित तथा मौलिक परिक्षा मार्फत छनौट, प्रशिक्षण तथा आवश्यक तालिमको सहयोगमा गाउँपालिका भित्र कार्यक्षेत्र रहने गरी पाँच जना गाउँ प्रहरी भर्ना गरिएको गाउँपालिकाका प्रमुख प्रशासयिक अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।
जसमा गाउँ प्रहरी सहायक निरिक्षक (असइ) पदमा डिल्ली वली, गाउँ प्रहरी हवल्दार पदमा खड्गसोर थापा र गाउँ प्रहरी जवान पदमा दुर्गा बिक, निम बहादुर रेउले र संगम पुन छनौट हुनुभएको छ । गाउँपालिकाको सुरक्षा, बजार व्यवस्थित गर्ने, फोहोर व्यवस्थापन, राजस्व संकलन लगाएतका कार्यमा सहयोग पुगोस् भन्ने हेतुकासाथ गाउँ प्रहरी भर्ना गरिएको उहाँको भनाइ छ ।
‘गाउँपालिकाले बर्षेनी बिभिन्न सामानहरु खरिद गर्छ, पालिकासँग करोडौँको सम्पत्ती छ, ती सबै सम्पत्तीको संरक्षण गर्न चुनौती छ, सामान्य गार्डलाई नपत्याउने, भिडभाड गर्ने, २४ सैँ घण्टा कार्यालयलाई पहरा दिने अवस्था पनि भएन्’ उहाँले भन्नुभयो ‘गाउँ कार्यपालिकाले गाउँ प्रहरी भर्ना ऐन निर्माण ग¥यो, त्यसैको आधारमा गाउँ प्रहरी भर्ना गरेका हौँ ।’ उहाँले गाउँ प्रहरीलाई आधारभूत तालिम दिएर कार्यस्थलमा खटाइने बताउनुभयो ।
गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले गाउँपालिका भित्रको शान्तिसुरक्षा सँगै वजार व्यवस्थापन, फोहोर व्यवस्थान, प्राकृतिक बिपतिमा उद्धार तथा नियन्त्रण लगाएतका कार्य गाउँ प्रहरीले गर्ने बताउनुभयो । विद्यालय क्षेत्रमा सवारी साधनको गति सीमित गर्ने, क्षमताभन्दा बढी भार बोकेर गाउँपालिका प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई निगरानी गर्ने, राजस्व संकलनमा सहयोग पुग्नेगरी गाउँ प्रहरी भर्ना गरिएको उहाँको भनाइ छ ।
‘बजारमा अस्तव्यस्त तरिकाले राखिएका सामग्री हटाउन, बढी भार बोकेका टिप्पर लगाएतका सवारीसाधनलाई कारबाही गर्न, मदिरा तथा जुवातास नियन्त्रण गर्न जनप्रतिनिधिलाई अप्ठ्यारो हुँदोरहेछ’ अध्यक्ष पुनले भन्नुभयो ‘त्यो कामका लागि हामीले गाउँ प्रहरी राखेका हौँ ।’ उहाँले गाउँ प्रहरी पालिकाको केन्द्रमा बस्ने र आवश्यकतामा आधारमा पालिकाभर परिचालन हुने बताउनुभयो ।
‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन, कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन्’ उहाँले भन्नुभयो ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन्छ ।’ छनौट गरिएका गाउँ प्रहरीले अहिले जिल्ला प्रहरी कार्यालयमा आधारभूत तालिम लिदैँ छन् । उनीहरुको लागि १५ दिने तालिम सञ्चालन गरिएको छ । तालिम पश्चात उनीहरूको क्षेत्राधिकार, काम, कर्तव्य र अधिकारबारे जानकारी दिएर ड्युटीमा खटाइने गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख (प्रहरी नायव उपरिक्षक) दामोदर केसीले गाउँपालिकाको अनुरोधमा अहिले गाउँ प्रहरीलाई आधारभूत तालिम सञ्चालन गरिरहेको बताउनुभएको छ । विपद्मा कसरी उद्धार गर्ने, भिडभाड कसरी नियन्त्रण गर्ने लागएतका बारेमा १५ दिने प्रशिक्षण तथा तालिम प्रदान गरिरहेको उहाँको भनाइ छ ।