सुत्केरी खोज्दै स्वास्थ्यकर्मी घरघरमा

अहिले छत्रेश्वरी गाउँपालिकामा स्वास्थ्य सामग्रीसहितको झोला बोकेर स्वास्थ्यकर्मी सुत्केरी खोज्दै घर–घरमै पुग्छन् ।

 

 

सल्यान, २३ माघ ।

स्वास्थ्यकर्मी घर–घरमै आएर सुत्केरीको स्वास्थ्य अवस्था बुझ्न थालेपछि सल्यानको छत्रेश्वरी गाउँपालिकाका सुत्केरी महिलाहरु आश्चार्यमा परेका छन् । जब कि अघिल्ला वर्षमा स्वास्थ्य संस्थामै जाँदासमेत स्वास्थ्य सल्लाह र सेवा पाउन मुस्किल थियो । तर अहिले सुत्केरी भएपश्चात घरमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य अवस्था बुझ्न थालेपछि सुत्केरीहरु आश्चार्यमा पर्नुका साथै खुसी भएका हुन् ।

छत्रेश्वरी गाउँपालिका–४ गतेडाँडाकी बालिका ओली तेस्रो पटक सुत्केरी हुनुभएको छ । विगतमा सुत्केरी हुदाँ स्वास्थ्य जाँच तथा परामर्शको लागि स्वास्थ्य संस्थामा जाने गरेकोमा अहिले स्वास्थ्यकर्मी नै घरमा आएपछि खुसी लागेको उहाँले बताउनुभएको छ । अहिले पालिकाका सबै स्वास्थ्य संस्थाबाट सुत्केरी महिलाको घर–घरमै पुगेर स्वास्थ्य हेरचाह र पोषिलो खानाबारे परामर्श दिन थालिएको छ ।

सुत्केरी बालिकाले भन्नुभयो ‘घरमै आएर स्वास्थ्यकर्मीले स्वास्थ्य सम्बन्धी परामर्श दिनुभयो, म पहिला दुई पटक सुत्केरी हुदाँ घरमा स्वास्थ्यकर्मी आउनु भएको थिएन्, तर अहिले घरमै आएर आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा चेकजाँच तथा पराशर्म दिदा खुसी लागेको छ ।’ स्वास्थ्यकर्मीले पराशर्म, सल्लाह सँगै आवश्यकताका आधारमा औषधि समेत दिएको उहाँको भनाइ छ ।

अहिले छत्रेश्वरी गाउँपालिकामा स्वास्थ्य सामग्रीसहितको झोला बोकेर स्वास्थ्यकर्मी सुत्केरी खोज्दै घर–घरमै पुग्छन् । झिम्पे चौरगाउँकी बिमला परियारले स्वास्थ्यकर्मी घरमा आउँदा आफ्ना स्वास्थ्य समस्या राख्न सहज भएको बताउनुभयो । ‘घरबाट स्वास्थ्यचौकी पुग्न आधा घण्टा लाग्छ तर आफ्ना समस्याबारे घरमै परामर्श पाइने भएपछि प्राथमिक उपचारका साथै रोगको पहिचान गरेर थप उपचारमा सहयोग पुग्ने गरेको छ’ उहाँले भन्नुभयो ।

छत्रेश्वरी गाउँपालिकामा यसै बर्षदेखी गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मी घरमै पुग्ने अभियान शुरु भएको छ । यो अभियानको सुरुवात गरेसँगै सबैजसो गर्भवती र सुत्केरी लाभान्वित भएको स्वास्थ्यचौकी जयचौरका इन्चार्ज शिशिर रिजालले बताउनुभयो । उहाँका अनुसार सुत्केरीसँग चार पटक स्वास्थ्यकर्मीले भेटघाट गर्ने गरिन्छ । दुई पटक स्वास्थ्यकर्मी घरमै पुग्छन् भने दुई पटक स्वास्थ्य संस्थामै भेटघाट गर्ने कार्यक्रम हुन्छ ।

सुत्केरीको घर–घरमा स्वास्थ्यकर्मी पुग्ने कार्यक्रम सुरु भएपछि तोकिएको समयमा नियमित रूपमा गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति हुने तथा बच्चा र आमाको पोषण सुधारमा सहयोग पुगेको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराका इन्चार्ज विर बहादुर वलीले बताउनुभयो । विविध कारणले स्वास्थ्य संस्थामा सुत्केरी हुन नआएकाहरुको लागि महिला स्वास्थ्य स्वयम्सेविकाको सहयोगमा स्वास्थ्यकर्मी घरमै पुग्ने उहाँको भनाइ छ ।

‘सुत्केरीसँगको पहिलो भेटघाट स्वास्थ्य संस्थामा हुन्छ, त्यो सुत्केरी भएको २४ घण्टामा हुन्छ, दोस्रो भेटघाट तीन दिनमा र तेस्रो भेटघाट सात दिनमा हुन्छ, त्यो बेला सुत्केरी भेट्न आवश्यक औषधि सहित स्वास्थ्यकर्मी घरैमा पुग्छन्, चौथोँ भेटघाट भने ४२ दिनमा हुन्छ, त्यो बेला सुत्केरी स्वास्थ्यसंस्थामा आउनु पर्छ’ उहाँले भन्नुभयो । सुत्केरी भेटघाटका क्रममा आमा र बच्चाको स्वास्थ्य जाँच, आवश्यक परामर्श, पोषिलो खानेकुरा, सरसफाई लगाएतका बारेमा जानकारी दिइने उहाँले बताउनुभयो ।

छत्रेश्वरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराईले सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत आमा र नवजात शिशुलाई यसरी नै घरदैलोमा सेवा दिन थालिएको बताउनुभयो । नवजात शिशु र आमाको स्वास्थ्य अवस्था बुझ्न सुत्केरीको घर–घरमा स्वास्थ्यकर्मी पुग्दा सेवा निकै प्रभावकारी भइरहेको उहाँको भनाइ छ ।

यस गाउँपालिकामा ७ वटा स्वास्थ्य संस्था रहेका छन् । ती मध्ये चार वटा स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसुति सेवा उपलब्ध हुदैँ आएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस