सडक देखी सदन सम्म : राप्ती राजमार्ग स्तरोन्नतीको माग !

अहिले सडकको तत्काल स्तरोन्नतीको काम अघि बढाउन सडक देखी सदन सम्म माग गरिएको छ ।

सल्यान, २४ माघ ।
सल्यानको मेरुदण्डको रुपमा रहेको राप्ती राजमार्गको स्तरोन्नतीको काम अलपत्र परेको छ । सडकको स्तरोन्नतीको लागि सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि मर्मत–सम्भार हुन सकेको छैन् । सडकको स्तरोन्नतीको लागि वजेट विनियोजन नभएको पनि होइन्, तर केही वजेट ठेक्का नै नखोली फ्रिज हुन्छ भने ठेक्का लागेका योजना पनि विचमा नै अलपत्र परेका छन् ।

अघिल्लो बर्ष एक अर्ब रुपैयाँ सडक सुधारका लागि विनियोजन भएपनि ठेक्का नै नखोली फ्रिज भएको थियो । चालू आर्थिक वर्षमा सल्यान–दाङ सिमाना चोरखोलादेखि सल्यान–रुकुम सिमाना खौलासम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन् । तर अधिकांश ठेक्का अलपत्र अवस्थामा रहेका छन् । केही निर्माण कम्पनीले मात्रै काम गरिरहेका छन् ।

जोखिमपुर्ण मानिएको कपुरकोट–चोरखोला सडक खण्डको दुई खण्डमध्ये एक खण्डको काम अझै पुरा हुन सकेको छैन् । पटक–पटक थपिएको म्याद सकिएपनि अझै काम पुरा हुन नसकेको हो । यस सडकको स्तरोन्नतीको सम्झौता चैतसम्म मात्रै भएपनि असोज सम्मको म्याद थप गरिएको थियो । तर म्याद थप गरिएको चार महिना हुदाँ पनि अझै काम सकिएको छैन् ।

सडक डिभिजन कार्यालय दाङले करिब ४० करोड बजेटबाट चोरखोला देखि खौलासम्म झण्डै ८८ किलोमिटर सडकमा खण्ड–खण्डमा बाँडेर १८ वटा ठेक्का लगाएको छ । तर विभिन्न बहाना बनाएर निर्माण कम्पनीले सडक स्तरोन्नतीको काम नगरेको कार्यालयका सूचना अधिकारी रिकेश महर्जनले जानकारी दिनुभयो ।

‘कपुरकोट–चोरखोला क्षेत्रको सडक स्तरोन्नतीको काम निर्माण कम्पनीले अझै सम्पन्न गरेको छैन्, श्याम/शंकर एण्ड एन्जिला/आकांक्षा जेभीले स्तरोन्नती गर्ने जिम्मा लिएपनि करिब २ करोड ७० लाखको एउटा खण्डको स्तरोन्नतीको बाँकी छ’ उहाँले भन्नुभयो ‘हामीले ताकेता गरिरहेका छौँ, सम्झौताको म्याद सकिएको छ, उसलाई क्षतिपुर्ति तीर्न लगाएर काम सम्पन्न गर्न लगाइएको छ ।’

सानो ठेक्कामा पनि निर्माण कम्पनीले विभिन्न बहाना गरेर काम सुरु गर्न नसकेको उहाँको भनाइ छ । ‘सडक मर्मतको काम सन्तोषजनक रुपमा अघि बढेको छैन्, नाला बनाउने, ग्रावेल गर्ने काम कतै–कतै शुरु भएपनि सबैक्षेत्रमा काम शुरु भएको छैन्, नाला निर्माण, सडक ग्रावेलपछि कालोपत्रे गरेमा मात्रै काम देखिन्छ’ उहाँले थप्नुभयो ‘हामीले ताकेता गर्दै आएका छौँ, तर निर्माण व्यवसायिले बेवास्ता गरिरहेका छन् ।’

 

तत्काल सडक स्तरोन्नतीको माग

ठुल्ठूला खाल्टाखुल्टी र धुलोले यात्रुलाई हैरान मात्र नभई दुर्घटनाको जोखिमसमेत बढाएको छ । अहिले सडकको तत्काल स्तरोन्नतीको काम अघि बढाउन सडक देखी सदन सम्म माग गरिएको छ । स्थानिय प्रकाश वलीले सडक स्तरोन्नतीको काम अलपत्र हुदाँ धुलोले आजित बनाएको बताउनुभएको छ । ‘धुलोले सडक नै नदेखिदा दुर्घटनाको जोखिम समेत बढाएको छ’ उहाँले भन्नुभयो ।

सल्यानबाट निर्वाचित सांसदले संसदमा पनि राप्ती राजमार्गको तत्कालै स्तरोन्नीको माग गरेका छन् । संसदमा बोल्दै सांसद प्रकाश ज्वालाले यस सडकको स्तरोन्नति गर्न र प्रयाप्त बजेट विनियोजन गरेर राप्ती राजमार्गलाई दुई लेनको बहुबर्षिय ठेक्कामा लगाउन भौतिक पूर्वाधार र अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ ।

‘सल्यानको मेरुदण्डको रुपमा रहेको दाङ–सल्यान–रुकुम राप्ती राजमार्ग अस्तब्यस्त र जिर्ण छ, त्यसले जनतालाई ज्यादै सास्ति भएको छ, यो राजमार्ग अलग शिर्षकमा राखिएको भएतापनि अत्यन्त न्युन बजेट विनियोजन गरिएको छ, छुट्ट्याइएको बजेटबाट पनि ठेकेदारको लापरवाहीले राम्रोसँग काम हुन सकेको छैन्’ उहाँले भन्नुभयो । राप्ती राजमार्गलाई उच्च प्राथामिकतामा राखेर सवारीसाधन सहज रुपमा चल्न सक्ने गरि तत्काल मर्मतसम्भार गर्न उहाँले माग गर्नुभएको छ ।

यस्तै सांसद अनिशा नेपालीले सडक निर्माण भएको ५० औँ बर्षहुदाँ पनि स्तरोन्नती नहुनु दुखद् भएको बताउनुभएको छ । ‘दाङ सल्यान हुदैँ रुकुमसम्म पुग्ने सडक २०३६ सालमा उद्घाटन भयो, पछि २०४० सालमा राप्ती राजमार्ग भनेर घोषणा भयो, तर ५० औँ बर्षहुदाँ पनि सडक अलपत्र परेको छ, लाखौँ नागरिकले दुख पाएका छन्, सडक दुर्घटनामा परेर सयौँको ज्यान गएको छ, तसर्थ यस सडकको तत्कालै स्तरोन्नती गर्न माग गर्दछु’ उहाँले भन्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस