खरबारीबाट सल्किएको आगोले सिरकडसना उद्योग स्वाहा

सल्यान, २७ माघ ।
सल्यानमा आगलागीका कारण एक सिरकडसना उद्योग जलेर नष्ट भएको छ । जिल्लाको बागचौर नगरपालिका २ बागचौर बस्ती नजिकै शुक्रबार दिउँसो आगलागीका कारण स्थानीय सुरेश ओलीले सञ्चालन गर्दै आएको शारदा सिरकडसना उद्योग जलेर नष्ट भएको हो । नजिकैँको खरबारीमा लागेको आगो सल्किदैँ गर्दा सिरकडसना उद्योग सम्म पुगेको थियो ।

आगलागीले उद्योगमा भएका मेसिन तथा कपास, सिरक डसना जलेर जष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आगोका कारण मानवीय क्षति भने भएको छैन । स्थानिय डम्बर कामीको २ तले ४ कोठे पक्की घर ओलीले भाडामा लिएर सिरक डसना उद्योग सञ्चालन गर्दै आउनुभएको थियो । यस्तै सँगै सटेको स्थानिय गणेश डाँगीको जग्गा भाडामा लिएर एक कोठे टिनको टहरा बनाउनुभएको थियो ।

पिडित ओलीले आगलागीका कारण आफ्नो करिब १० लाख रुपैँया बराबरको क्षति भएको जनाउनुभएको छ । प्रहरीले भने मुचुल्का उठाएपछि मात्रै क्षतिको एकिन विवरण आउने बताएको छ । इलाका प्रहरी कार्यालय थारमारेका प्रमुख इनिस्पेक्टर कनक शाहीले कपडा सिलाउने मेसिन, मोटर, कपास पेल्ने मेसिन, कपास, सिरकडसना बनाउने कपडा र तयारी सिरकडसना जलेर नष्ट भएको बताउनुभएको छ ।

आगलागी भएको थाहा पाउने बित्तिकै इलाका प्रहरी कार्यालय थारमारेबाट गएको प्रहरी टोली र स्थानीय मिलेर खरबारी तथा उद्योगमा लागेको आगो निभाएका थिए । तर तीव्र रुपमा हावा चलेकाले आगो नियन्त्रणमा लिन केही कठिनाइ भएको प्रहरीको भनाइ छ । घाँस उम्रने आसमा स्थानियले खरबारीमा आगो लगाएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

यस्तै फोहोर जलाउन बालिएको आगो खरबारी हुदैँ बस्तीमा आइपुगेको होकी भन्ने बारेमा पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित