सल्यानको ढोरचौर–सल्लीवजार सडकको स्तरोन्नती हुदैँ

ढोरचौर–छापडाँडा–गैरीकटेरी–मैदुपोखरी–सल्लीवजार सडकको स्तरोन्नतीको कामको शिलान्यास गरिएको छ ।

सल्यान, ७ चैत ।
सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने सडकको स्तरोन्नती गर्न थालिएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिकाबाट बन्गाड कुपिण्डे नगरपालिका हुदैँ प्रदेश राजधानी सुर्खेत जोड्ने सडकको स्तरोन्नती गर्न थालिएको हो । २०६४ सालमा शान्ति तथा पुर्ननिर्माण मन्त्रालय मार्फत ट्याक खोलिएको सडकको हाल स्तरोन्नतीसँगै ग्रावेलको काम थालिएको हो ।

सोमवार यसै सडक खण्डको ढोरचौर–छापडाँडा–गैरीकटेरी–मैदुपोखरी–सल्लीवजार सडकको स्तरोन्नतीको कामको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा र गाउँपालिका अध्यक्ष भरत गिरीले सडक स्तरोन्नतीको शिलान्यास गर्नुभएको हो । कर्णाली प्रदेश सरकारको बहुबर्षिय योजना मार्फत विनियोजित २४ करोड १४ लाख वजेटबाट १५ करोड ५६ लाखमा निर्माण व्यवसायिले कामको जिम्मा लिएको छ । शारदा नगरपालिका २ मा रहेको खरीढुंगा–हमाल जेभीले कामको जिम्मा लिएको छ ।

आगामी २०८१ साल पुस १३ गतेसम्म निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनीले २०७९ कार्तिक २ गते सम्झौता गरेको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख रुपक रावलले जानकारी दिनुभयो । उहाँले यस सडकको साढेँ तेह्र किलोमिटर ग्रावेल, १२ किलोमिटर कटिङ लगाएतका काम गरिने बताउनुभयो । सडकको गुणस्तरमा ध्यान दिदैँ स्तरोन्नतीको काममा निर्माण व्यवसायिले ढिलाई गर्न नहुने उहाँको भनाइ छ ।

सडक स्तरोन्नतीको शिलान्यास गर्दै मन्त्री शर्माले सडकलाई उत्पादनसँग जोड्नुपर्ने बताउनु भएको छ । ‘सडकको विस्तार मात्रै विकास होइन्, यसको स्तरोन्नतीसँगै यसक्षेत्रमा आयआर्जनका कार्यको थालनी गर्नुपर्छ, यही सडकबाट सुन्तला, अदुवा, टिमुर लगाएतका कृषिजन्य बस्तुको निकासी हुन आवश्यक छ’ उहाँले भन्नुभयो ‘सडकलाई उत्पादनसँग जोड्नुपर्छ ।’

मन्त्री शर्माले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथामिकता दिएको बताउनुभयो । ‘तपाइहरु कृषिजन्य बस्तुको उत्पादनलाई बढावा दिनुहोस्, गाउँघरमै पुगेका सडकको स्तरोन्नती हामी गर्छौ’ उहाँले भन्नुभयो ‘तपाइले उत्पादन गरेको कृषिजन्य बस्तुको वजारीकरण सरकारले गर्छ, त्यसका लागि आयआर्जनमुलक कार्यको थालनी गर्नुहोस् ।’

यस्तै गाउँपालिका अध्यक्ष गिरीले पालिकाका विभिन्न वडाहरु अव सिधैँ पालिकाको मुकामसँग जोडिने बताउनु भयो । ‘सडक निर्माण पहिले पनि भएका थिए, तर पालिकाकै वडा नम्बर ४ र ५ जाने सडक जीर्ण थिए, बाह्रै महिना गाडी सञ्चालन गर्न समस्या थियो, अव भने बर्षायाममा पनि सवारीसाधन सञ्चालन हुनेछन्’ उहाँले भन्नुभयो ‘पालिकाको मुकाम सम्म आउजाउ गर्न सजिलो हने छ ।’

गाउँपालिका उपाध्यक्ष राम बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सडक स्तरोन्नतीको जिम्मा लिएको खरीढुंगा–हमाल जेभीका सञ्चालक लक्ष्मण हमालले सबैक्षेत्रको सहयोग र सहकार्यमा तोकिएको समय भित्रमा नै सडक स्तरोन्नतीको काम सम्पन्न गर्ने बताउनुभएको छ । कार्यक्रमको सहजीकरण सुशिल रावतले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित