घर–घरमा खानेपानीका धारा : बबईको पानी पिउनुपर्ने बाध्यता हट्यो !

नदिको दूषित पानीले मानव स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हुदाँहदैँ पनि नदिकै पानी प्रयोग गर्न बाध्य थियौँ’ उहाँले भन्नुभयो ‘झाडापखाला, आँउ जस्ता समस्या देखिन्थेँ, कतिपयलाई त एलर्जी समेत भएको थियो, तर अव नदिको पानी प्रयोग गर्नुपर्दैन् ।’

सल्यान, १२ चैत ।

सल्यानको कालिमाटी गाउँपालिका ७ काप्रेचौर घुइयावारीकी ओइली बुढाको दैनिकी खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । घर नजिकैँ खानेपानीको मुहान नहुँदा उहाँ पिउने पानी ल्याउनको लागि बबई नदिमा जानुहुन्थ्यो । ‘हामीलाई पानीका धेरै दुःख थिए, बबईको पानी खान्थ्यौँ’ उहाँ भन्नुहुन्छ ‘मान्छेले पिउने, बस्तुभाउलाई खुवाउने, नुहाउने र कपडा धुनको लागि बबई नदिको पानीको प्रयोग गथ्र्यौ ।’

तर अहिले उहाँलाई पिउने, नुहाउने, कपडा धुने, बस्तुभाउलाई खुवाउने पानीका लागि बबई नदिमा जानुपर्दैन । ‘डोकोमा गाग्री बोकेर जान्थ्यौँ, चैतबैशाखमा पानी सफा देखिन्थ्यो, तर बर्खामा पानी धमिलो हुन्थ्यो, रुमालले छानेर प्रयोग गथ्र्यौ’ उहाँले भन्नुभयो ‘अहिले दैनिकी फेरिएको छ, पानीको लागि बबई जानुपर्दैन्, घरमा नै पानीको धारा छ, आवश्यकता अनुसार प्रयोग गर्न पाइन्छ ।’

घुइयावारीकै गायत्री बुढा पनि पानी ल्याउन सधैँ बबई नदिमा जानुहुन्थ्यो । ‘नदिको दूषित पानीले मानव स्वास्थ्यमा असर गर्छ भन्ने थाहा हुदाँहदैँ पनि नदिकै पानी प्रयोग गर्न बाध्य थियौँ’ उहाँले भन्नुभयो ‘झाडापखाला, आँउ जस्ता समस्या देखिन्थेँ, कतिपयलाई त एलर्जी समेत भएको थियो, तर अव नदिको पानी प्रयोग गर्नुपर्दैन् ।’

घरमा नै खानेपानीको धारा आएपछि अहिले उहाँ खुसी हुनुहुन्छ । ‘यसरी घरैमा पानी आउला भन्ने सोचेको थिईन, अहिले त पानीका लागि खर्चिनुपर्ने समयको बचत भएको छ, घरैमा सफा पानीको प्रयोग गर्नपाएका छौँ’ उहाँले भन्नुभयो ‘घरायसी काममा प्रयोग गरिएको पानीलाई करेसावारी सिँचाइमा प्रयोग गर्छौ, लसुन, प्याक, साग, धनियाँ किनेर खानुपर्दैन् ।’

ओइली र गायत्री मात्रै होइन, अहिले घुइयावारीका ९१ घरपरिवारमा यसरी नै खुसीयाली छाएको छ । विगतमा डोकोमा गाग्री बोकेर बबइको दूषित र फोहोर पानी प्रयोग गर्नुपर्ने बाध्यता हटेको उनीहरुलाई भनाइ छ । खानेपानीका लागि पहल थालेको झण्डै पाँच दशक पछि घर–घरमा पिउने पानी आएको स्थानिय बताउँछन् ।

जर्सी ओभरसिज एडको आर्थिक सहयोग, रिन्युएवल वल्र्ड र लिवर्डसँगको साझेदारीमा दलित बिकास समाज सल्यान र कालिमाटी गाउँपालिकासँगको साझेदारीमा रियलाइज परियोजना मार्फत खानेपानी योजना सम्पन्न भएपछि घुइयावारीका स्थानिय लाभान्वित भएका छन् । एक–घर एक–धारा अन्र्तगत प्रत्येक नागरिकका घरमा धारा जडान गरिएको छ भने तीन बिद्यालय र एक स्वास्थ्य चौकीमा धारा जडान गरिएको हो ।

रियलाईज परियोजना र कालिमाटी गाउँपालिकाको लागत साझेदारीमा खानेपानी योजना सम्पन्न भएको हो । जसअन्र्तगत पतेरी खोला ग्राभिटि योजनाबाट ९१ घरधुरीका ४ सय ७३ जनसंख्या लाभान्वित भएका छन् । गाउँपालिकाको झण्डै ११ लाख, परियोजनाको झण्डै ७ लाख र स्थानियको नगद तथा श्रमदानबाट यो खानेपानी योजना सम्पन्न भएको हो ।

निर्माण समितीका अध्यक्ष जीत बहादुर घर्तीले घर–घरमा पुगेको खानेपानीलाई दिगो व्यवस्थापन लागि आफुहरु योजनावद्ध भएर लाग्ने बताउनुभयो । परियोजनाका जिल्ला संयोजक सुन्तोष बिकले विगतमा खानेपानीको अभावकै कारण स्थानिय नागरिकले सास्ती पाएको अवस्थामा बिभिन्न क्षेत्रसँगको सहकार्यमा प्रत्येक नागरिकका घरमा खानेपानीका धारा जडान भएपछि नागरिकहरु खुसी भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस