पोषणमैत्री पालिका बन्दै दार्मा : सुनौलो हजार दिनका आमालाई पोषण झोला उपहार

जबसम्म महिला सचेत हुँदैनन्, तबसम्म कुपोषणको चक्र तोड्न नसकिने भएकाले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकूल भएको स्थानिय बताउँछन् ।

सल्यान, २२ बैशाख ।

सल्यानको दार्मा गाउँपालिकालाई पोषणमैत्री पालिका बनाउने अभियान थालिएको छ । कार्ययोजना नै बनाएर पोषणमैत्री पालिका बनाउन बिभिन्न सुचकहरु पुरा गर्न र कुपोषण हटाउनको लागि काम गरिरहेको गाउँपालिकाले जनाएको छ । जसका लागि गाउँपालिका भित्र रहेका सुनौलो हजार दिनका गर्भवती र सुत्केरी आमालाई पोषिलो खाद्य परिकार सहितको पोषण झोला उपहार दिएको हो ।

आमा र बच्चाको चौतर्फी वृद्धि विकासमा पोषिलो खानेकुराहरुको अत्यन्तै महत्व रहने भएकाले पोषणमैत्री पालिका बनाउनको लागि पोषण झोला उपचार दिइएको हो । पोषण झोलामा सर्वोत्तम पिठो, दाल, नुन, साबुन, नंकट, अण्डा लगाएतका सामाग्री रहेका छन् । यस्तै ६ महिना देखि २ बर्ष सम्मका बालबालिकाका लागि पोषिलो सर्वोत्तम पिठो वितरण गरिएको छ ।

यस बर्ष गाउँपालिका भित्र पर्ने साविकका सबै वडाहरुमा गएर ८ सय सुनौलो हजार दिनका आमालाई पोषण झोला वितरण गर्न थालिएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिनुभयो । यस्तै पालिकाभरका ६ महिनादेखी २ बर्ष सम्मका साँढे १२ सय बालबालिकालाई सर्वोत्तम पिठो वितरण गरिने छ ।

बच्चाको ८० प्रतिशत वृद्धि विकास गर्भावस्थादेखि दुई वर्षको बिचमा हुने भएकाले सुनौलो हजार दिनका आमाहरुका लागि सन्तुलित र पौष्टिक तत्वयुक्त खानपिनका लागि पोषण झोला उपहार दिइएको उहाँको भनाइ छ । ‘सुरक्षितरूपले सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने, नियमित जाँच गर्दै खानपानमा ध्यान दिनुपर्ने, बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउनका लागि हरेक आमा तयार हुनुपर्नेजस्ता सन्देश दिइएको छ’ उहाँले भन्नुभयो ।

उहाँले पालिकाका सबै वडाहरुमा पुगेर पोषिलो खाद्य परिकार प्रदर्शनी समेत गरिएको बताउनुभयो । ‘यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको बढी प्रयोग गर्नुपर्छ भन्ने सन्देश बोकेर गाउँका सुनौलो हजार दिनका आमालाई सचेत गराइरहेका छौं’ उहाँले भन्नुभयो ‘समुदायमा नै पोषिलो खानेकुरा पकाउने र खाने तरिका पनि सिकाउदैँ आएका छौँ ।’

गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बच्चालाई शक्ति दिने, शारिरीक वृद्धि विकास हुने, रोगसंग लड्न सक्ने, शरिरको तन्तुहरुको विकासका लागि विभिन्न पौष्टिक आहारा खानुपर्ने बताउनुभयो । पालिकाले पोषिलो खानेकुरा नमुनाका रुपमा वितरण गरेको बताउदैँ उहाँले भन्नुभयो ‘वाहिरबाट आयातित खानेकुराले शरिरलाई फाइदा भन्दा बेफाइदा बढी गर्छ, त्यही भएर घरमै उत्पादन भएको अर्गानिक खानेकुरामा जोड दिनु आवश्यक छ ।’

सन्तुलित र पोषणयुक्त खानपिनको अभावमा धेरै बालबालिका कुपोषणको सिकार भइरहेकाले पोषणयुक्त खानेकुरा खानु अनिवार्य भएको उहाँको भनाइ छ । उहाँले सुनौलो हजार दिनमा आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना निमार्ण गरेर गाउँपालिकाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।

जबसम्म महिला सचेत हुँदैनन्, तबसम्म कुपोषणको चक्र तोड्न नसकिने भएकाले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकूल भएको स्थानिय बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस