जव घाइते श्रीमतीको उपचारको खोजीमा प्रशासन पुगे …

सल्यान, १२ जेठ ।
सल्यानको कुमाख गाउँपालिका–७ जिमालीमा गएको असोज १५ गते भएको जिप दुर्घटनाबाट घाईते १८ बर्षिया सुनिता बोहोराको उपचारको व्यवस्था मिलाउन माग गर्दै श्रीमान् राजेश पुन मगर प्रशासनमा जानुभएको छ । शुक्रवार घाइते श्रीमतीलाई लिएर उपचारको व्यवस्था मिलाउन माग गर्दै उहाँ जिल्ला प्रशासन कार्यालय सल्यानमा जानुभएको हो ।

बाहिर लैजान आर्थिक अभाव भएपछि विगत केही महिनायता सुनिताको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको छ । यातायात व्यवसायी समितिले दुर्घटनाबाट घाईते सुनिताकोे उपचार खर्च नबेहोरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको छ । श्रीमतीको उपचारमा अहिलेसम्म २५ लाख रुपैया खर्च भैसकेको श्रीमान राजेशले बताउनुभयो ।

असोज १५ गते कुमाख गाउँपालिका ७ डुमकोटबाट खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने सुनिता सहित १९ जना घाईते भएका थिए । जस मध्ये सुनिता गम्भिर घाईते भएकी थिइन् । उनलाई हेलिकप्टरमा नेपालगञ्ज लगेपनि उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको थियो । त्यहाँ उनको ३ महिनासम्म उपचार गर्दा लाखौँ रुपैया खर्च भयो तर सन्चो भएन् ।

आर्थिक अभावका कारण अहिले सुनितालाई लखनउबाट फिर्ता ल्याएर जिल्ला अस्पताल सल्यानमा राखिएको छ । ‘जिल्ला अस्पतालमा उपचार सम्भव छैन्, बाहिर लैजानुहोस् भन्नुहुन्छ डाक्टरले तर आर्थिक अभावकै कारण जबरजस्ती यहाँ राखेको छु, भएको जति सबै पैसा सकियो, आफन्तीबाट ऋण कारेर पनि उपचार गरे’ उहाँले भन्नुभयो ‘अझै उपचार गर्नको लागि पैसा खोजिरहेको छु तर कसैले पनि ऋण दिनुहुन्न, पहिले ऋण लिएका पैसा पनि माग्न थालिसके ।’

यातायात समितिलाई पटक–पटक जानकारी गराउदा पनि उपचार खर्चमा नहेरेको उहाँको गुणासो छ । ‘गम्भिर घाईते भएकी सुनिताको दुबै हातखुट्टा नचल्ने र बोल्न नसक्ने अवस्था छ, उपचार गर्न आर्थिक अभाव भएपछि घाइते सुनिताको उपचारमा सहजीकरण हुन्छ कि भन्ने हेतुले जिल्ला प्रशासन कार्यालय ल्याएको हुँ’ राजेशले भन्नुभयो ।

जिल्ला अस्पताल सल्यानका डा. जितेन्द्र भण्डारीले घाइते सुनिताको जिल्लामा उपचार सम्भव नभएको बताउनुभयो । ‘दुर्घटना हुदाँ टाउकोको पछाडिको भागमा गम्भिर चोट भएपछि हेलिकप्टरबाट पठाइएको थियो, नेपालगन्जबाट पनि लखनउ लगिएको रहिछ, लखनउको रिपोर्टमा हेर्दा मष्तिस्कमा समस्या भएको देखिन्छ’ उहाँले भन्नुभयो ‘अव सुनितालाई विशेषज्ञ सहितको उपचार चाहिन्छ, आफै खाने, हिडडुल गर्ने र बोल्न सक्ने बनाउनको लागि सर्जन र फिजियोथेरापि आवश्यक छ ।’

प्रहरीका अनुसार दुर्घटनामा परेको गाडी प्रहरी कार्यालयमा छ । गाडी चालक पक्राउ परिसकेका छन् । तर गाडी धनि फरार हुदाँ समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले उपचारको अभावमा छट्पट्टाइ रहेकी घाइते सुनितालाई उपचारको लागि वीर अस्पताल काठमाण्डौँमा लैजानको लागि सहजीकरण गर्ने बताउनुभएको छ ।

‘घाइतेलाई तत्काल उपचारको लागि काठमाण्डौँ लैजाने व्यवस्था मिलाउँछु, आर्थिक जोहोका लागि सबैसँग समन्वय गर्छु’ उहाँले भन्नुभयो ‘दुर्घटनाका घाइतेको उपचार गर्नबाट पन्छिरहेका यातायात समिती, विमा समिती लगाएतका सँग बसेर यसलाई टुंगोमा पु¥याउँछु ।’

 

 

प्रतिक्रिया दिनुहोस