५ सय ५१ प्रजातिका लोपोन्मुख वनस्पति संरक्षण

जलवायु परिवर्तन, आगलागी, संरक्षणको अभाव, प्रविधि अभाव लगायत कारण पनि बहुमूल्य वनस्पती लोप हुँदै गइरहेका उहाँको भनाइ छ ।

सल्यान, १५ जेठ ।

दुर्लभ तथा बहुमूल्य वनस्पति लोप हुन नदिन सल्यानमा अध्ययन, अनुसन्धान गरि संरक्षण गरिएको छ । राज्यले प्राथमिकताको सूचीमा राखेका तथा आर्थिक र औषधिको रुपमा महत्वपूर्ण मानिएका पाँच सय ५१ प्रजातिका वनस्पतिको संरक्षण गरिएको हो । २०५६ सालमा सल्यानको मूलपानीमा स्थापना भएको वनस्पती अनुसन्धान केन्द्रले विभिन्न औषधिका रुपमा महत्वपूर्ण मानिएका तथा लोपोन्मुख अवस्थामा रहेका वनस्पतिको संरक्षण गर्दै आएको छ ।

वनस्पतिको संरक्षण तथा अध्ययन, अनुसन्धान गर्नको लागि स्वस्थानिय र परस्थानिय वनस्पतीको संरक्षण गर्दै आइएको केन्द्रले जनाएको छ । वनस्पती अनुसन्धान केन्द्रका प्रमुख डा. मित्र पाठकले अव्यवस्थित संकलन, चोरी निकासी र ज्ञानको कमीका कारण वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी तथा वनस्पति लोप हुन थालेकाले त्यसको संरक्षण गर्दै आइरहेको बताउनुभयो । जलवायु परिवर्तन, आगलागी, संरक्षणको अभाव, प्रविधि अभाव लगायत कारण पनि बहुमूल्य वनस्पती लोप हुँदै गइरहेका उहाँको भनाइ छ ।

वनस्पति उद्यानमा श्रीखण्ड, टिमुर, विजयसाल, सतिसाल, सुगन्धवाल, चिराइतो, कुरिलो, घिउकुमारी, तेजपात, लौठसल्ला, केशर, सुगन्धकोकिला, सर्पगन्धा लगायत पाँच सय ५१ वटा प्रजातीका वस्पतीको संरक्षण गरिएको उहाँले जानकारी दिनुभयो । जसमा स्वस्थानिय विरुवा २ सय ५७ र परस्थानिय विरुवा २ सय ९४ रहेका छन् । ४ सय ९५ प्रकारका फूल फूल्ने, १९ प्रकारका कोणधारी, ३७ प्रकारका उन्यु, २ सय ४५ प्रकारका वनस्पति औषधिय गुण भएका वनस्पतीको संरक्षण गरिएको छ ।

यस्तै लहरा प्रजाती ३७, शोभनिय विरुवा २ सय १ र ३७ प्रकारका सुनाखरी संरक्षण गरेर राखिएको छ । वनस्पति उद्यान पाँच दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको छ । नेपालबाट साइटिसको अनुसूचीमा परेका वनस्पतिमध्ये यस उद्यानमा हुर्कने सक्ने साइकस, लौठसल्ला, सर्पगन्धा, गुन्सी तथा सुनाखरीको साइटिक गार्डेन बनाई संरक्षण गरिएको छ । यस उद्यानमा टिमुर उत्पादन गर्न पोलीहाउस, फर्न गार्डेन, रक गार्डेन, जलिय उद्यान, अर्किड हाउस, मौसमी फूल बगैंचा आदि रहेका छन् ।

‘जडीबुटीको महत्व थाहा नपाउँदा बहुमूल्य जडीबुटी दिन प्रतिदिन लोप हुन थालेका छन्’ प्रमुख पाठकले भन्नुभयो ‘दुर्लभ तथा बहुमूल्य जडीबुटी तथा वनस्पति लोप हुन नदिन अध्ययन अनुसन्धान गरी संरक्षणको प्रयास सुरु भएको छ ।’ महत्वपूर्ण जडीबुटीको सङ्ख्या घट्दै गएकाले भविष्यमा यस्ता जडीबुटी लोप नहुन भनेर संरक्षणमा जुटी रहेको उहाँको भनाई छ । यस उद्यानले बर्सेनि हजारौँको संख्यामा लोपोन्मुख तथा बहुमूल्य जडीबुटीका बिरुवा उत्पादन गरी विभिन्न जिल्लामा पठाउँदै आएको छ ।

विभिन्न जडीबुटी र वनस्पतिको अध्ययन र अनुसन्धानका लागि अनुसन्धानकर्ता तथा शैक्षिक भ्रमणका लागि विद्यार्थी पनि केन्द्रको उद्यानमा आउने गरेका छन् । उद्यानमा अहिले आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । ‘उद्यानमा बिदाको दिन सपरिवार सहित फोटो खिच्न, घुम्न, रमाइलो गर्न पनि सर्वसासधारण आउने गरेका छन्’ उहाँले भन्नुभयो ‘विभिन्न जडीबुटी र वनस्पतिको अनुुसन्धानका लागि अनुसन्धानकर्ताहरू तथा शैक्षिक भ्रमणका लागि विद्यार्थीहरू उद्यानमा आउने गरेका छन् ।’

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित