अब्बल कालिका : करेसाबारीमै हुन्छ प्रयोगात्मक शिक्षण

अभिभावक, शिक्षकको सक्रियताका कारण सैद्धान्तिक ज्ञानको माध्यमबाट भन्दा शैक्षिक सामग्रीको प्रयोगबाट सिकाउँदा विद्यार्थीमा निकै परिवर्तन आएको छ । अभिभावक र शिक्षकको सक्रियताका कारण शैक्षिक रुपमा उल्लेख्य वृद्धि आउनुका साथै विद्यालयमा कम्प्युटर शिक्षादेखि संग्रहालयसम्मको व्यवस्थापन गरिएको छ ।

सल्यान, १६ जेठ ।

लहरैँ लागेका भवन । चिटिक्क परेका कोठा । चारैतिरबाट लगाइएको घेरबार । परिसरमा सफा खेल मैदान । छेउमै पिउनेपानी । नजिकैको बारीमा लटरम्म फलेका टमाटर, सिमी र मकैँ हुर्कदै गरेको । परिसरमै जडिबुटि र वनस्पतीका बोट । यो हो जिल्लाको छत्रेश्वरी गाउँपालिका–५ पोखरामा रहेको कालिका प्राथमिक बिद्यालय । राज्यले धेरै लगानी गर्दा पनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुन नसकेको आरोप लाग्दै आएको बेला यस विद्यालय नमुना बनेको छ ।

शिक्षक–अभिभावकबीच आपसी समझदारीका बीच अघि बढ्न सक्ने हो भने सामुदायिक विद्यालय अब्बल विद्यालय बन्न सक्छन् भन्ने उदाहरण पनि बनेको छ । अभिभावक, शिक्षकको सक्रियताका कारण सैद्धान्तिक ज्ञानको माध्यमबाट भन्दा शैक्षिक सामग्रीको प्रयोगबाट सिकाउँदा विद्यार्थीमा निकै परिवर्तन आएको छ । अभिभावक र शिक्षकको सक्रियताका कारण शैक्षिक रुपमा उल्लेख्य वृद्धि आउनुका साथै विद्यालयमा कम्प्युटर शिक्षादेखि संग्रहालयसम्मको व्यवस्थापन गरिएको छ ।

विद्यालयमा बालमैत्री बसाइँ व्यवस्थापन गरिएको छ । पढाइ सुधारका लागि विभिन्न पहल गरेपछि विद्यालयको सिकाइ उपलब्धि सुधार हुँदै आएको बिद्यालयले जनाएको छ । विद्यालयले अभिभावकको सहयोगमा विद्यालयमा करेसाबारी बनाएको छ । करेसाबारीमा विभिन्न जातका मौसमी तथा बेमौसमी तरकारी रोप्ने गरिएको छ । तरकारी रोप्ने, गोडमेल गर्ने, मल हाल्ने, सिँचाई गर्ने काम बिद्यार्थीले नै गर्ने गरेको कक्षा ५ मा अध्ययनरत बिद्यार्थी यशोदा वलीले बताउनुभयो ।

बिद्यालयले कक्षागत रुपमा करेसाबारीलाई विभाजन गरेको छ । जसमा सबैभन्दा राम्रो तरकारी फलाउने कक्षालाई पुरस्कृत समेत गरिदैँ आइएको छ । ‘हामीले कुनै पनि विषयलाई प्रयोगात्मक तरिकाबाट सिक्छौँ’ उहाँले भन्नुभयो ‘करेसाबारीमा फलेको अदुवा, काउली, टमाटर, बन्दा, साग, प्याज आदि दिवाखाजामा प्रयोग गर्दै आएका छौँ ।’

विद्यालयले पुराना लोप हुन लागेका स्थानिय स्तरमा पाइने सामग्रीलाई विद्यालयमा संग्रहालय बनाएर राखेको छ । विद्यार्थीलाई लोप भैसकेका र लोप हुन लागेका सामग्रीको ज्ञान होस् भनेर एकसय बढी लोपोन्मुख सामाग्री राखिएको हो । जसमा लिच्छिविकालिन भाषा देखी ८५ प्रजातिका जडिबुटि संग्रहित गरिएको छ । संग्रालयको अवोलोकनले पठनपाठनमा सजिलो भएकोे बिद्यार्थी विवेक भण्डारीले बताउनुभयो ।

‘संग्रालयमा मिल्ने पाठको पढाइ हुनेभयो भने संग्रालयमा आएर पढ्छौँ, मानापाथि देखी जडिबुटिसम्म संग्रालयमा छन्, हामीले पुराना धेरै सामाग्रीका बारेमा जान्न पारेका छौँ’ उहाँले भन्नुभयो । ८७ जना विद्यार्थी रहेको यस विद्यालयमा सबै कक्षाका विद्यार्थीले हप्तामा एकदिन कम्प्युटरबारे सिक्न र चलाउन पाउँछन् । यसले उनीहरूको ज्ञान र सीपको विकासमा अझ मद्दत पुगेको छ । अर्का बिद्यार्थी मनोज भण्डारीले बिज्ञान बिषय र खाली भएको समयमा कम्युटर खोल्न, बन्द गर्न, नेपाली अंग्रेजी टाइप गर्न सिक्दै आएको बताउनुभयो ।

यस बिद्यालयले प्याकेटका खानेकुरालाई निषेध गरेको छ । अहिले बिद्यालयमै दिवाखाजा पाक्छ । बिद्यालयकै करेसावारीबाट उत्पादन भएको तरकारी र स्थानियस्तरमा पाइने खानेकुरा नै यस बिद्यालयको दिवाखाजा हो । बिद्यालयमै पकाएको ताजा र मिठो खानेकुरा खान पाइनेभएपछि जंकफुडलाई निषेध गरिएको छ । अर्का बिद्यार्थी मोति विकले भात, दात, सुन्तला, केरा, मासु, अण्डा, चना लगाएतका खानेकुरा खादैँ आएको बताउनुभयो ।

सैद्धान्तिक ज्ञानको माध्यमबाट भन्दा शैक्षिक सामग्रीको प्रयोगबाट सिकाउँदा विद्यार्थीमा निकै परिवर्तन आएको विद्यालयका प्रधानाध्यापक वालाराम वलीले बताउनुभयो । प्रविधिमैत्री र जीवनउपयोगी शिक्षालाई पहिलो प्राथमिकता दिएको उहाँको भनाइ छ । ‘विद्यालयलाई नमुना बनाउनका लागि हामीले गर्न सकिने सवै कुराहरू गरेका छौँ’, प्रधानाध्यापक वलीले भन्नुभयो ‘अभिभावक र पूर्वविद्यार्थीको निरन्तरको सहयोगले मात्र यो सम्भव भएको हो ।’

शिक्षक वा अभिभावकको एकल प्रयासबाट मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नसकिने भएकाले शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्यबाट मात्र सम्भव भएको उहाँले बताउनुभयो । अभिभावकले नियमित अनुगमन तथा निरीक्षण गरेकै कारण विद्यालयलाई नमुना योग्य बनाउन सफल भएको उहाँको भनाई छ ।

२०३८ सालमा स्थापना भएको यस बिद्यालय अहिले नमुना बिद्यालयका रुपमा कहलिएको छ । विद्यालयको चर्चा हुन थालेपछि विद्यालयमा सरोकारवाला निकाय, शिक्षक तथा विद्यार्थीसमेत पुग्ने गरेका छन् । सिकाइ उपलब्धिलाई बढावा दिनको लागि बिद्यालयले गरेको कार्यप्रति बिद्यार्थी र अभिभावकको आक्रर्षण बढ्दो छ । यस बिद्यालयलाई आवासिय बिद्यालयका रुपमा अघि बढाउन पहल थालिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित