सल्यान, ३० जेठ ।
सल्यानका सबै स्थानिय तहले आफ्नौ पाठ्यक्रम पढाउन शुरु गरेका छन् । विद्यालय तहबाटै विद्यार्थीलाई स्थानीयस्तरको विषयबस्तुका बारेमा जानकारी गराउने उद्धेश्यका साथ जिल्लाका दश वटै स्थानिय तहले आ–आफ्नै पाठ्यक्रम तयार पारेर पढाउन शुरु गरेका हुन् । केही स्थानिय तहले दुई/तीन बर्षअघि देखी नै स्थानिय पाठ्यक्रम लागु गरेपनि केहीले भने यसै बर्षदेखी सञ्चालनमा ल्याएका छन् ।
त्रिबेणी गाउँपालिकाले जिल्लामै पहिलो पटक स्थानिय पाठ्यक्रमका साथै स्थानिय पाठ्यपुस्तक तयार पारेर पढाउन थालेको थियो । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले समेत सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयबस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरेको छ । सोही अधिकार र निर्देशन बमोजिम जिल्लाका सबै स्थानिय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेका हुन् ।
स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो । पाठ्यक्रममा पालिका भित्रको वनजंगल, कृषि, जातिगत विविधता, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटन लगाएतका क्षेत्रलाई समेटिएको उहाँको भनाइ छ ।
स्थानिय पाठ्यक्रम कक्षा १ देखि ८ सम्म १०० पूर्णाङ्कको पाठ्यक्रम तयार पारिएको हो । ‘हाम्रो पाठ्यक्रम पालिकाभित्रै केन्द्रित छ, पालिकाले अगाडि सारेका आधारहरू पाठ्यक्रममा विद्यार्थी पढ्नेछन्’ उहाँले भन्नुभयो ‘शिक्षालाई समसामयिक, व्यवहारिक र उद्धेश्यमुलक बनाउन र शैक्षिकगुणस्तर बृद्धि गर्नका निम्ति स्थानीय पाठ्यक्रम निर्माण गरेका हौँ ।’ यसबर्ष पाठ्यक्रम लागु गरिएको र अर्को बर्षेदेखी पाठ्यपुस्तक नै वनाएर पढाइने उहाँको भनाइ छ ।
पाठ्यक्रममा पालिका भित्रको कृषि, उद्यमशिलता, जडीबुटी, रहनसहन, कलासंस्कृति, सम्पदा, भाषा, धर्म, स्थानीय प्रविधि जस्ता विभिन्न विषय क्षेत्र समेटेर स्थानीय तहले पाठ्यक्रम बनाएका छन् । पाठ्यक्रमबाट नैतिकवान, चरित्रवान विद्यार्थी उत्पादन गर्ने लक्ष्य रहेको जनाइएको छ । बागचौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार गौतमले ‘बागचौर सेरोफेरो’ नाम दिएर विगत देखी नै स्थानिय पाठ्यक्रम लागु गरिएको बताउनुभयो ।
शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत लिलाधर बबालले कक्षा १ देखी ५ सम्ममा विगत देखी नै स्थानिय पाठ्यक्रम लागु भएको र यस बर्ष कक्षा ६, ७ र ८ मा लागुगर्ने तयारी गरिएको बताउनुभयो । दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख रोम प्रसाद पाण्डेले यस पालिकामा दुई/तीन बर्ष अगाडी देखी नै पाठ्यक्रम लागु गरिएको बताउनुभयो । अहिले पालिकाले पाठ्यपुस्तकको सट्टा सन्दर्भ पुस्तक निर्माणको चरणमा रहेको उहाँको भनाइ छ ।
कुमाख गाउँपालिकाका सुचना अधिकारी प्रकाश भण्डारीले स्थानिय पाठ्यक्रम लागुभैसकेको र पाठ्यपुस्तक निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । छत्रेश्वरी गाउँपालिकाका सुचना अधिकारी मिलन कुमार वलीले आधारभूत तहमा स्थानिय पाठ्यक्रम लागुभैसकेको बताउनुभयो । सिद्धकुमाख गाउँपालिकाका सुचना अधिकारी भिम भण्डारीले स्थानिय पाठ्यक्रम तयार भैसकेको र यसै बर्षदेखी कार्यान्वयनमा आउने बताउनुभयो ।
कालिमाटी गाउँपालिकाले पनि यसैबर्षदेखी पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ । बन्गाड कुपिण्डे नगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र बहादुर रावतले यसैबर्षदेखी स्थानिय पाठ्यक्रम लागु गरिने बताउनुभयो । ‘असार/साउन देखी लागु हुनसक्छ, गोष्ठी सम्पन्न गरेका छौँ, मस्यौदा तयार पारेका छौँ, पाठ्यक्रम निर्माणको चरणमा रहेकाले केही महिना ढिला हुन्छ, तर यसैबर्ष लागु गर्छौ’ उहाँले भन्नुभयो ।
सल्यान जिल्लाभर ४ सय ३७ वटा सामुदायिक र ५० वटा संस्थागत बिद्यालय रहेका छन् । यस्तै जिल्लाभर करिब ६५ हजार बिद्यार्थीले अध्ययन गर्दै आएका छन् ।