अझै पुगेन बिजुली : ५२ प्रतिशत सल्यानीका घरमा सोलार

२०५८ सालको जनगणनामा जिल्लाभर १५ दशमलव ८ प्रतिशत घरधुरीमा बिजुली पुगेको थियो । यस्तै २०६८ सालको जनगणनामा १४ दशमलव ५ प्रतिशत घरधुरीमा बिजुली थियो भने हाल आएर ४५ दशमलव ३ प्रतिशतमा बिजुली पुगेको उहाँको भनाइ छ ।

सल्यान, २ असार ।

कालीमाटी गाउँपालिका–७ काप्रेचौरका भीमसरा बुढाको घरमा सोलार छ । छिमेकी टेकबहादुर बिकले पनि घरमा सोलार राखेको दश वर्ष बित्यो । भीमसरा र टेकबहादुर जस्तै यहाँका पाँच सय ६८ घरधुरीमध्ये केहीबाहेक अधिकांशको घरमा सोलार जडान गरिएको छ ।

घरमा विजुली बत्ती जडान गरेर घरै झिलिमिली बनाउने भीमसराको सपना अधुरो छ नै तर तत्कालै त्यो सपना पूरा हुने छाँट पनि छैन । ‘घरमा बिजुली जडान गर्ने, टिभी हेर्ने, घरआगन झिलिमिली बनाउने सपना थियो’– उहाँ भन्नुहुन्छ– ‘तर अझै दुई/चार वर्ष त्यो सपना पूरा हुने छाँट छैन ।’ वर्षौंदेखि घर अन्धकार भइरहेपछि छिमेकीसँग पैसा सापटी मागेर सोलार जडान गरेको उहाँको भनाइ छ ।

घरमा सोलार जडान गरेको वर्षौं भइसकेको भए पनि अझैसम्म टेकबहादुरले गाउँमा बिजुली बलेको देख्नुभएको छैन । ‘घरमा उज्यालो बनाउने र छोराछोरीको पढाइमा सहजताको लागि सोलार जडान गरेको हुँ’– उहाँ भन्नुहुन्छ– ‘अहिले गाउँमा बिजुलीका पोल गाडिएका छन्, बल्ने कहिले हो, थाहा छैन ।’ बिजुलीको अभावमा ल्याप्टप, कम्प्यूटर, नेट, इन्टरनेटको प्रयोग गर्न नपाएको र टेलिफोन सेवा समेत प्रभावकारी नभएको उहाँको भनाइ छ ।

कुमाख गाउँपालिका–७ तुरतुरेका रामबहादुर चलाउनेले ग्रामीण वस्तीहरूमा बिजुली पुग्न नसक्दा सोलारकै भरपर्ने गरेको बताउनुभयो । ‘गाउँमा सहजै बिजुली आउने सम्भावना नभएपछि दियालो भन्दा सोलार नै उपयुक्त लाग्यो, त्यही भएर गाउँमा सबैले सोलार जोडेका छन्’– उहाँले भन्नुभयो । उहाँले गाउँमा तत्काल बिजुली आउने सम्भावना नदेखिएको बताउनुभयो ।

सबै नागरिकको घर–घरमा बिजुली पु¥याउने लक्ष्यसहित संघ, प्रदेश र स्थानीय तहले बिद्युतीकरणमा जोड दिदै आएको भए पनि अझै सल्यानका ५२ प्रतिशत भन्दा बढी घरधुरी सोलारकै भरमा छन् । राष्ट्रिय जनगणना २०७८, जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा जिल्लाका कुल घरधुरीमध्ये ५२ दशमलव ५ प्रतिशत अर्थात २८ हजार सात सय छ घरधुरीमा सोलार रहेको पाइएको छ ।

यस्तै शून्य दशमलव ६ प्रतिशत अर्थात तीन सय ५२ परिवारले मट्टितेल, शून्य दशमलव शून्य २ प्रतिशत अर्थात १० परिवारले बायोग्याँस र एक दशमलव ५ प्रतिशत अर्थात आठ सय २० परिवारले दियालोलगायतका अन्य प्रयोग गर्दै आएका छन् । यस्तै जिल्लामा ४५ दशमलव ३ प्रतिशत अर्थात २४ हजार सात सय ७५ घरधुरी मात्रै विजुलीको पहुँचमा रहेको तथ्यांकमा उल्लेख छ ।

सल्यानको खलंगामा तथ्यांक सार्वजनिक गर्दै तथ्यांक कार्यालय दाङका तथ्यांक अधिकृत केशरबहादुर वलीले जिल्लाको आधा घरधुरीमा पनि बिजुली नपुगेको उल्लेख गर्नुभयो । २०५८ सालको जनगणनामा जिल्लाभर १५ दशमलव ८ प्रतिशत घरधुरीमा बिजुली पुगेको थियो । यस्तै २०६८ सालको जनगणनामा १४ दशमलव ५ प्रतिशत घरधुरीमा बिजुली थियो भने हाल आएर ४५ दशमलव ३ प्रतिशतमा बिजुली पुगेको उहाँको भनाइ छ ।

यस्तै जिल्लाका ३६ दशमलव ६ घरपरिवारमा घरभित्रै पानीको पाइप धारा हँुदा एक दशमलव ३ परिवारले खोलाको पानी पिउँदै आएका छन् । यस्तै जिल्लाका ८९ दशमलव ७ प्रतिशत घरधुरीले खाना पकाउन काठ दाउराको प्रयोग गर्दै आएका छन् भने ६६ प्रतिशत जिल्लाबासीका घर जस्तापाताका छानो भएको पाइएको तथ्यांकमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको तथ्यांक सार्वजनिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले जिल्लाका ग्रामीण भेगमा अझै पनि पूर्वाधारको विकास हुन नसकेकाले सरकारले आगामी बजेटमा ती योजनामा जोड दिनुपर्ने बताउनुभयो । स्थानीय तह अहिले बजेट निर्माणको चरणमा रहेकाले आगामी बजेटमा पूर्वाधार विकास र सामाजिक विकासको क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ छ ।

यस्तै जिल्ला समन्वय समितिका उपप्रमुख असवीर बुढाथोकीले यो तथ्यांकले सरकारलाई नीति निर्माणदेखि बजेट विनियोजन र कार्यान्वयनमा समेत सहज हुने बताउनुभयो । अहिले जनसंख्या बृद्धि र उत्पादनको मात्रा कम हुँदा त्यसको असर विकास र समृद्धिमा परेको बताउँदै उहाँले कृषिक्षेत्रको प्रष्ट तथ्यांक समावेश गर्नुपर्ने सुझाव दिनुभयो । तथ्यांक कार्यालय दाङका नायव सुब्बा किरण पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सुपरभाइजर गंगाबहादुर घर्ती मगरले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित