सल्यान, ३ असार ।
बढ्दो गर्मीका कारण खानेपानीको अभाव हुँदा सल्यानमा रहेको नेत्रलाल बहुप्राविधिक शिक्षालय एक महिनालाई बन्द गरिएको छ ।
जिल्लाको शारदा नगरपालिका–४ मा रहेको नेत्रलाल बहुप्राविधिक शिक्षालयमा खानेपानीको अभाव हुँदा एक महिनाका लागि शिक्षालयको पठनपाठन बन्द गरिएको हो । यस शिक्षालयमा तीन वर्षे पशु विज्ञान र सिभिल इन्जिनियरिङमा गरेर दुई सय ८० बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् । तर शिक्षालयमा खानेपानीको अभाव हुँदा शिक्षालय बन्द गर्नुपरेको शिक्षालय प्रमुख नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
उहाँले विद्यार्थीले पिउने तथा शौचालयमा प्रयोग गर्ने पानी नै नहुँदा बाध्य भएर शिक्षालय बन्द गर्नु परेको बताउनुभयो । ‘बर्खे विदा १५ दिन मात्रै गर्न मिल्छ, हिउँदे विदा १५ दिन हुन्छ तर शिक्षालयमा खानेपानी अभाव हुँदा पठनपाठनलाई नियमित बनाउन सकिएन’– उहाँले भन्नुभयो– ‘बर्खे र हिउँदे दुबै विदालाई कटौती गरेर एक महिना शिक्षालय बन्द गरेका छौं ।’
जेठ २५ गतेदेखि बन्द भएको शिक्षालय अब असार २२ गते मात्रै खुल्ने छ । शिक्षालयमा जैतपानीबाट आउने पानीका तीनवटा मिटरधारा जडान गरिएको छ । यस्तै शिक्षालयबाट झण्डै एक किलोमिटर टाढा रहेको रानीकोट जानेबाटो नजिकैको मुहानबाट पनि पानी ल्याइएको छ । तर लामो समयसम्मको खडेरीका कारण शिक्षालयमा खानेपानीको अभाव भएको हो ।
‘जैतपानीबाट ल्याएको पानी ३/४ दिनमा एक पटक आउँछ, त्यो पनि एक डेढ घण्टामा सुक्छ, २/४ वटाभन्दा बढी गाग्री नै भरिदैनन्, रानीकोट जाने बाटो नजिकैको मुहान सुकिसक्यो, यसले झन् समस्या बनाएको छ’– शिक्षालय प्रमुख चौलागाईले भन्नुभयो– ‘छात्रभन्दा छात्रालाई बढी पानी चाहिन्छ, शौचालयमा पानी नहुँदा महिनावारी भएको समयमा झन् समस्या हुने भयो, त्यही भएर शिक्षालय बन्द गरेका हौं ।’
उहाँले आकाशबाट पानी परेमा केही राहत हुने बताउनुभयो । अहिले पानीको अभावकै कारण बृक्षारोपण गरिएका बोटविरुवा, शिक्षालयमा पालिएका बस्तुभाउ, क्यान्टिन, घेरवार निर्माण तथा नयाँ भवन निर्माणको काम प्रभावित भएको छ । चार दिनपछि शनिवार धारामा पानी आएको र त्यो पनि एकैछिनमा सुकेको उहाँको भनाइ छ ।
पछिल्लो समयमा शिक्षालयप्रति बिद्यार्थी र अभिभावकको भने आकर्षण बढेको छ । अहिले शिक्षालयको भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र थप विषयहरु पठनपाठनका लागि समेत प्रयास थालिएको छ । शिक्षालयमा स्मार्ट बोर्ड, पुस्तकालय, कम्प्युटर ल्याब, प्रयोगात्मक अभ्यासका लागि पशुपंक्षी फार्मसमेत छन् ।