सल्यान, ८ असार ।
सल्यानमा अदुवा भण्डारण गर्न नयाँ प्रविधि अपनाइएको छ । अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशतसम्म अदुवा भण्डारण गरिएकै ठाउँमा कुहिने समस्या भोगिरहेको बेला जिल्लामा अदुवा भण्डारणका लागि नयाँ प्रविधि अपनाइएको हो ।
परम्परागत तरिकाबाट अदुवा भण्डारण गर्दा चाँडै टुसा उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या आउने भएकाले ती समस्याको निराकरणका लागि काँचो इँटाको प्रयोग गरेर भण्डारण गृहको विकास गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सल्यानको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लामा अदुवाको शून्य शक्ति भण्डारण गृह निर्माण गरिएको हो । ‘एक घर : एक भण्डारण गृह’ निर्माण अभियानअन्तर्गत शारदा नगरपालिका–१४ माल्नेटा, बागचौर नगरपालिका–९ कोटमौला र वडा नं. ७ खारामा भण्डारण गृह निर्माण गरिएको छ ।
अदुवा भण्डारण गर्दा सुक्ने, चाउरिने र छिट्टै टुसा आएर गुणस्तर घट्ने हुँदा सुरक्षित भण्डारणका लागि शून्य शक्ति भण्डारण गृह निर्माण गरिएको इकाई प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिनुभयो । अहिले शारदा नगरपालिका र बागचौर नगरपालिकामा गरेर तीन किसानको घरमा निर्माण गरिएको र आउँदो वर्षदेखि यसलाई विस्तार गर्ने योजना रहेको उहाँको भनाइ छ । एउटा अदुवा भण्डारण गृह निर्माणको लागि एक लाख ११ हजार खर्च भएको छ ।
‘किसान आफूले उत्पादन गरेको अदुवा १५ देखि २० रुपैयाँ प्रतिकिलो बिक्री गर्न बाध्य छन्, बिचौलियाको कारण समयमै रकम प्राप्त गर्न सक्दैनन्, बेमौसममा अदुवा प्रतिकिलो एक सयदेखि एक सय ५० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको छ, किसानले उत्पादन गरेको वस्तुबाट बढीभन्दा बढी आम्दानी गर्न सकून् भन्ने उद्देश्यले शून्य शक्ति भण्डारण गृह निर्माण गरिएको हो, यो प्रविधि किसानका लागि प्रभावकारी छ’– उहाँले भन्नुभयो ।
एक पटक भण्डारण गरेको अदुवा ३/४ महिना सजिलै टिक्ने भएकाले कुहिएर खेर जाने समस्या कम हुने मात्र नभई किसानले बेमौसममा सजिलै बिक्री गर्न पाउने उहाँको भनाइ छ । ‘यो प्रविधि कोठाभित्र प्रयोग गरिने हुँदा घर बाहिर खाडल भण्डारणभन्दा सुरक्षित हुन्छ, प्रत्येक वर्ष निर्माण खर्च पनि लाग्दैन’– उहाँले भन्नुभयो– ‘यस प्रकारको भण्डारण गृह निर्माण गर्दा गोबर र माटोको समिश्रणमा काँचो इँटा प्रयोग गरिन्छ ।’
‘डेढ घनमिटरका ६ वटा कोठा बनाउँदा ४० देखि ४५ क्वीन्टलसम्म अदुवा भण्डारण गर्न सकिन्छ, यसमा बालुवा र अदुवा क्रमशः राखी त्यसमाथि बालुवा राखी प्लास्टिकले छोप्नुपर्छ’– न्यौपानेले भन्नुभयो– ‘यो प्रविधि अपनाएर मंसिरदेखि चैत, वैशाखसम्म सुरक्षित अदुवा भण्डारण गर्न सकिन्छ ।’ जिल्लामा अधिकांश किसानले अदुवा उत्पादन गर्दै आएका र बजारको अभावमा कुहिएर फाल्नु पर्ने अवस्था सिर्जना भएकाले भण्डारण गरेर राखे बेमौसममा बढी मूल्य पाउने उहाँको भनाइ छ ।
आफूले उत्पादन गरेको अदुवा बिक्री नहुने डरले अहिले कम मूल्यमा नै अदुवा बिक्री गर्दै आएको किसान डण्डवीर डाँगीले बताउनुभयो । उहाँले यस वर्ष अदुवा भण्डारण गृह निर्माण गरेको र अबका दिनमा बारीबाटै अदुवा बिक्री गर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । ‘हामीसँग अदुवा भण्डारण गर्ने ठाउँ छैन, बारीमा खाडल खनेर भण्डारण गर्दा आधाभन्दा बढी कुहिएर खेर जान्छ’– उहाँले भन्नुभयो–
‘बाध्यताले गर्दा सस्तो मूल्यमा अदुवा बिक्री गर्दै आएका छौं ।’ अदुवा भण्डारण गृह निर्माण भएपछि खुशी हुनुभएका उहाँले आफूले उत्पादन गरेको मात्र नभई आसपासका किसानले उत्पादन गरेका वस्तु समेत भण्डारण गर्न सकिने बताउनुभयो । जिल्लाभर झण्डै एक हजार छ सय हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिन्छ ।