सल्यान, १२ असार ।
सल्यानको कपुरकोटस्थित मंगलबार लागेको तरकारी बजारमा किसानहरुले आ–आफ्नो कृषिजन्य उत्पादन विक्रि गरेका छन् । मंगलबारको हाटवजारमा किसानहरुले टमाटर प्रतिकिलो ४० देखी ४५ रुपैयाँमा बिक्री गरेका छन् । यस्तै काउली प्रतिकिलो रु. ५५ देखी ६०, बन्दा प्रतिकिलो रु.१०, सिमी प्रतिकिलो रु. १ सय देखी एक सय २०, भेडे खुर्सानी प्रतिकिलो ८० देखी ८५ रुपैयाँमा बिक्री गरेका छन् ।
यस्तै माछे खुर्सानी प्रतिकिलो रु. ५०, अखबरे खुर्सानी प्रतिकिलो रु. एक सय ५०, काँक्रो भक्तपुरे प्रतिकिलो रु. ७० देखी ८०, काँक्रो उन्नत प्रतिकिलो रु. २५ देखी ३० र धनिया एक सय ५० रुपैँया प्रतिकिलोमा विक्रि भएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ ।
बेमौसमी तरकारी खेतीका लागि प्रसिद्ध कपुरकोटमा असार १ गते देखी हप्ताको दुई दिन मंगलवार र शुक्रवार हाटवजार सञ्चालनमा आएको छ । अहिले कपुरकोट गाउँपालिकाभित्र र आसपासका क्षेत्रमा बैमौसमी तरकारी खेती गरेका कृषकले उत्पादन गरेको ताजा तरकारी तथा फलफूल विक्री गरिरहेका छन् ।
गएको आर्थिक बर्ष २०७९/८० को झण्डै ६ महिनामा यसक्षेत्रबाट १७ करोड २३ लाख १६ हजार ५ सय ९० रुपैँयाको तरकारी बिक्री भएको छ । यसक्षेत्रमा उत्पादन भएको तरकारी दाङ, नेपालगन्ज, बुटवल, नारायणगढ, पोखरा लगाएतका मुख्य वजारमा निर्यात हुने गर्दछ ।