त्रिवेणी गाउँपालिकामा उन्नत जातका भैँसी वितरण

सल्यान, १३ असार ।
एक पालिका, एक पशु बस्तु उत्पादन कार्यक्रम अन्तरगत सल्यानको त्रिबेणी गाउँपालिकामा उन्नत जातका भैँसी वितरण गरिएको छ । त्रिवेणी गाउँपालिका, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र स्थानियको लागत साझेदारीमा त्रिवेणी गाउँपालिका–३ मा रहेको शारदा भैसीपालक कृषक समुहका सदस्यहरुलाई १५ वटा उन्नत भैँसी हस्तान्तरण गरिएको हो ।

दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरूको आकर्षण बढाउन उन्नत जातका भैँसी हस्तान्तरण गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द बहादुर महतले जानकारी दिनुभयो । परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन उन्नत जातका भैँसी वितरण गरिएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बजारमा दूधको माग बढ्दै गएकाले भैसीपालनलाई व्यवस्थित र किसानलाई प्रोत्साहित गर्दै आएको बताउनुभयो । व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैँसी वितरण गरिएको उहाँको भनाइ छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयको रु. १५ लाख, गाउँपालिकाको रु. ३ लाख र स्थानियको रु. ४ लाख ४० हजार गरेर रु. २२ लाख ५० हजारमा उन्नत भैँसीका साथै मिल्क क्यान, भिटामिन लगाएतका औषधि पनि वितरण गरिएको छ । भैँसी वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढा, त्रिबेणी गाउँपालिका–३ का अध्यक्ष कर्ण बहादुर डाँगी, पशु सेवा शाखा प्रमुख बसन्त रावत, समुहका अध्यक्ष खिम बहादुर शाह लगाएतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस