सल्यान, १४ असार ।
सल्यानका किसानहरुले चैते धान भित्र्याउन सुरु गरेका छन् । जिल्लाको कालिमाटी गाउँपालिकाका किसानहरू चैते धान भित्र्याउन व्यस्त छन् भने कुमाख गाउँपालिकामा चैते धान पाक्न थालेको छ । यस बर्ष गएको बर्षभन्दा राम्रो फलेको भन्दै उत्साहका साथ किसानहरू चैते धान भित्र्याउन सक्रिय भएका छन् । बर्षमा तीन वाली फलाउन पाइने भन्दै किसानहरु उत्साहित छन् । विगतमा कालिमाटी क्षेत्रमा चैते धानको खेती हुदैँ आएको थियो ।
तर विचमा किसानहरुले चैते धानको खेती गर्नै छोडेका थिए । तर गएको बर्षदेखी फेरी चैते धानको खेती गर्न थालिएको कालिकाटी गाउँपालिका–६ छरछरेका किसान विर बहादुर झेडीले जानकारी दिनुभयो । आफुले यस बर्ष २ रोपनीमा चैते धान रोपेको र पानी पर्नु अघि नै भित्र्याइ सकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार गएको बर्ष भन्दा यस बर्ष राम्रो धान फलेको छ ।
‘यसक्षेत्रमा धानका बाला झुलेर लहलह भएका छन्, कतिपयले धान भित्र्याइ सकेर बर्खे धान रोप्ने तयारी गरेका छन्, केही किसान धान काट्न, धान झाट्न व्यस्त छन्’ उहाँले भन्नुभयो ‘अहिलेसम्म सबैले धान भित्र्याइ सक्नुहुन्थ्यो, तर पानी परेकाले केही ढिला भएको छ ।’ चैते धान भित्र्याउन वित्तिकै बर्खे धान रोप्ने तयारी गरिएको र धानको ब्याड तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।
अर्का किसान मानबहादुर खत्रीले यसक्षेत्रका खेतवारी बाँझो कहिल्यै नहुने गरेको बताउनुभयो । ‘चैते धान भित्र्याएर बर्खे धान रोप्ने हो, त्यसपछि तोरी हुन्छ, फेरी गहुँ रोप्यो, खेतवारी बाँझो हुदैनन्’ उहाँले भन्नुभयो ‘धेरै पटक बाली लगाउँदा उत्पादन धेरै हुन्छ ।’ यस क्षेत्रका फाँटमा बाह्रै महिना सिँचाइ हुने भएकाले खेतीपातीमा कुनै समस्या नभएको उहाँको भनाइ छ ।
कालिमाटी गाउँपालिका कृषि शाखाका अनुसार यसक्षेत्रको करिब ३ सय रोपनी क्षेत्रफलमा चैते धानको खेती गरिन्छ । कालिमाटी– ५ पैठक, लहरेनी, हिले, खैरेला र दमदुवालीमा गरि करिव २ सय रोपनीमा चैते धान खेती गरिएको कृषि प्राविधिक सहायक गंगाराम बुढाथोकीले जानकारी दिनुभयो । यस्तै वडा नम्बर ६ को छरछरेका ३२ घरधुरीले करिब ८० रोपनी क्षेत्रफलमा चैते धान खेती गरेको उहाँको भनाइ छ ।
कृषि विकास कार्यालय सल्यानले कालिमाटी क्षेत्रलाई चैते धानको पकेट क्षेत्रका रुपमा विकास गर्दै लगेको छ । यसक्षेत्रमा चैते धान खेतीको सम्भावना धेरै भएको कार्यालयको भनाइ छ । जिल्लाभर करिब ७ हजार ६६ हेक्टरमा बर्खे र साढेँ ४ हेक्टरमा चैते धानको खेति गरिन्छ । जसमा ३० हजार ५ सय ५६ मेट्रिक टन धान उत्पादन भएकोमा १४ मेट्रिक टन चैते धान उत्पादन भएको जनाइएको छ ।
यसैबर्ष कुमाख गाउँपालिकामा पनि चैते धानको परिक्षण खेती गरिएको छ । बर्खे धानको खेती मात्रै गर्दै आएका कृषकहरुलाई चैते धानको खेतीमा आकृषित गर्दै उत्पादन वढाउने उद्धेश्यका साथ कुमाख गाउँपालिकाको रागेचौर स्थित मर्मखोला किनारमा रहेका खेतमा चैते धानको परीक्षण खेती गरिएको हो । जिल्लालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई सल्यानको आर्थिक सहयोगमा चैते धानको परिक्षण खेती गरिएको हो ।
यस बर्ष ४ रोपनी क्षेत्रफलमा चैते धानको परिक्षण खेती गरिएको र किसान उत्साहित भएको परियोजनाका नायब प्राबिधिक सहायक हेमन्त रावतले जानकारी दिनुभयो । उहाँले आउँदो बर्ष चैते धान खेतीलाई थप विस्तार गरेर अघि बढ्ने योजना रहेको बताउनुभयो । मर्मखोलामा रोपिएको धान पाक्न थालेको छ । जिल्लाको कालिमाटीसँगै कुमाख, त्रिवेणी, शारदा, छत्रेश्वरी, लगाएतका क्षेत्रमा चैते धान खेतीको राम्रो सम्भावना छ ।