सल्यान, १८ असार ।
सल्यानमा एक बृद्धाले ६९ वर्षको उमेरमा नागरिकता पाउनुभएको छ । शारदा नगरपालिका–१ शान्तिनगरकी पुनी नेपालीले ६९ वर्षको उमेरमा नागरिकता पाउनुभएको हो ।
माइती पक्षको पहिचान, जन्मदर्ता र विवाह दर्ता नहुँदा उहाँले नागरिकता पाउनुभएको थिएन । ०७९ चैत ३ गते नसल्यान टुडे डटकममा ‘८२ वर्षको उमेरमा पनि छैन नागरिकता’ भन्ने शीर्षकमा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशनपछि सरोकारवालाहरुको पहलमा नेपालीले नागरिकता पाउनुभएको हो । त्यतिबेला छोरी गीता नेपालीले आमा ८२ वर्षको हुनसक्ने भन्दै अहिलेसम्म नागरिकता पाउनुभएको छैन भनेर जानकारी दिनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय तथा वडाका जनप्रतिनिधिको पहलमा र स्थानीयको रोहवरमा जन्म मिति वि.सं. २०११ साल जेठ १३ गते राखेर अहिले नागरिकता बनाइएको छ । नागरिकता नहुँदा उहाँ सरकारबाट पाउने सामाजिक सुरक्षा भत्तादेखि सरकारी सेवा सुविधाबाट समेत बञ्चित हुनुभएको थियो । पुनीका श्रीमान डब्बले वादीसँग २०५५ सालमा बनाएको नागरिकता भए पनि पति वर्षौंसम्म भारतमा बस्दा विवाह दर्ता नभएको र माइती पक्षको समेत पत्ता नलाग्दा जन्मदर्ताको प्रक्रिया रोकिएपछि पुनीले नागरिकता पाउनुभएको थिएन ।
अहिले विभिन्न निकायको पहलमा आमाले नागरिकता प्राप्त गरेको छोरी गीताले बताउनुभयो । पुनी यसअघि नागरिकता बनाउन पटक–पटक वडा कार्यालयमा धाउनुभएको थियो । प्रमाण जुटाउन समस्या भएपछि उहाँ नागरिकता नै नलिई बस्नुभएको थियो ।
‘बुढेसकाल लागेर आमा बोल्न र हिडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्न, आमाको नागरिकता बनाउनको लागि सिफारिस लिन वडा कार्यालयमा गएँ, वडा कार्यालयले कि विवाह दर्ता, कि जन्मदर्ता ल्याऊ भन्यो, त्यो बेला जन्मदर्ता हुँदैनथ्यो, विवाह दर्ता गर्ने बुवा घरमा हुनुभएन, नेतादेखि संघसंस्थासम्म पुगेकी थिए‘ँ तर आमाको नागरिकता बनेको थिएन’– खुशी हँुदै छोरी गीताले भन्नुभयो– ‘पत्रकारले लेखे सबैले सुन्ने रहेछन्, समाचार लेखेपछि मलाई सजिलो भयो, आमाले नागरिकता पाउनुभयो, यो कार्यमा सहयोग गर्ने सबैमा धन्यवाद ।’
उहॉँले नागरिकता प्राप्त गरेसँगै आमाको बृद्धभत्ताका लागि कागजपत्र पेश गरेको बताउनुभयो । ‘आमा अहिले पनि बोल्न र हिडडुल गर्न सक्नुहँुदैन, नागरिकता नहँुदा समस्या थियो, नागरिकता बनेसँगै बृद्धभत्ताका लागि कागज पेश गरेका छौं, सायद अब बृद्धभत्ता पनि पाउनुहुन्छ होला’– उहाँले थप्नुभयो– ‘बृद्धभत्ता पाएपछि खानपिन, स्वास्थ्य हेरचाहलगायतका काममा थप सजिलो हुनेछ ।’ कोही पनि नेपाली नागरिक नागरिकता पाउनबाट बञ्चित हुनुहुदैन भनेर वडाकार्यालय र घरपरिवारसँग समन्वय गरी आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताउनुभयो ।
‘सरकारले प्रदान गर्ने सेवा सुविधाबाट कोही पनि छुट्नुहुँदैन भन्ने हाम्रो मान्यता हो, मिडियामा समाचार आएपछि हाम्रो ध्यानाकर्र्षण भयो, हामीले तत्कालै कामको थालनी गरेका हौं, विवाह दर्ता, जन्मदर्ता र माइतीपक्षको पहिचान नहुँदा समस्या भएको थियो’– उहाँले भन्नुभयो– ‘जनप्रतिनिधिको पहलमा स्थानीयको सर्जमिन मुचुल्का बनाएर पठाएपछि नागरिकता प्रदान गरेका हौं ।’