सल्यान, २० असार ।
वैदेशिक रोजगारीमा जानेले सही सूचना र सीप अनिवार्य लिनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
सही सूचना र सीप नहुदा वैदेशिक रोजगारीमा जानेले धेरै सास्ती पाउने गरेको बताउँदै उनीहरुले सकेसम्म विदेश नै नजान र यदि जानै परेमा सही सूचना र सीप अनिवार्य लिन आवश्यक रहेको बताए । वैदेशिक रोजगारीमा जान चाहने र गएका परिवारका सदस्यहरुसँग प्रत्यक्ष सम्पर्कमा रही काम गर्दै आएको सुरक्षित आप्रवासन (सामी) परियोजनाले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी पत्रकारसँग अन्तत्र्रिmया कार्यक्रम गर्दै जिल्लामा एक वर्षको अवधिमा भएका कार्यप्रगतिको बारेमा जानकारी गराएको हो ।
जसमा जिल्लाका शारदा नगरपालिका, बागचौर नगरपालिका, वनगाड कुपिन्डे नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा सामीले सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श, वित्तीय साक्षरतालगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
जसमा जिल्ला प्रशासन कार्यालय परिसरमा सञ्चालित आप्रवासी स्रोत केन्द्रबाट एक वर्षको अवधिमा एक हजार तीन सय ७३ महिला र पाँच हजार एक सय ८३ पुरुष गरेर छ हजार पाँच सय ५६ जनाले सूचना तथा परामर्श सेवा लिएका छन् । यस अवधिमा ठगी सम्बन्धीका तीनवटा, हराएका एउटा, अलपत्र तथा उद्धार गरिएका एकजना र गन्तव्य मुलुकमा काम, कम्पनी र सुविधा फरक भएका तीनवटा उजुरी परेकोमा केही समाधान भइसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । यस्तै यस अवधिमा निःशुल्क सीप विकास तालिममा ३१ जनाको सिफारिस गरिएकोमा महिला तीन र पुरुष नौजनाले तालिम लिएका छन् ।
यस्तै आत्महत्याको प्रयास, डिप्रेशन, पीर चिन्ता, आघात जस्ता समस्याका लागि मनोसामाजिक परामर्श प्रदान गरिएको छ भने गाउँवस्तीमा पुगेर वित्तीय साक्षरता प्रदान गरिएको छ । कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका उपप्रमख सुस्मिता सापकोटा सुनारले वैदेशिक रोजगारीको सिलसिलाका देश बाहिर जाने जो कोहीले पनि अनिवार्यरुपमा सीप सिकेर गएमा विदेशमा दुःख नपाइने बताउनुभयो ।
कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता सुधा आचार्य, सामाजिक परिचालन अधिकृत उर्मिला वली, आप्रवासी सूचना तथा परामर्शकर्ता सीमा चन्द शाहलगायतको सहभागिता थियो भने कार्यक्रमको सहजीकरण वित्तीय साक्षरता सहजकर्ता खुमाकुमारी बुढाथोकीले गर्नुभएको थियो ।