दूरसंचारको गुणस्तर सुधार गर्दै सेवा प्रभावकारी बनाउन माग

पानी परेमा मोवाइल नेटवर्क नहुने, इन्टरनेट सेवा प्रभावित हुने, इन्टरनेट जडानका लागि वजारमा जथाभावि रुपमा तार टांग्ने जस्ता कार्यले नागरिकलाई सेवा भन्दा सास्ती हुनसक्ने भन्दै सरोकारवालाहरुले गुणासो गरेका छन् ।

सल्यान, २० असार ।

दूरसंचार सेवालाई प्रभावकारी बनाउन सल्यानका सरोकारवालाहरुले माग गरेका छन् । पछिल्लो समय दूरसंचार सेवाको प्रयोग गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको सन्दर्भमा यसको गुणस्तर सुधार गर्दै सेवा विस्तार गर्न सरोकारवालाहरूले माग गरेका हुन् । भौगोलिक रुपमा विकट मानिएका सल्यान कै ग्रामिण भेगमा नेपाल टेलिकमसहित दूरसंचार सेवा प्रवाह गर्ने निकायहरूको सेवा गुणस्तरीय हुन नसकेको गुनासो गर्दै सेवा प्रभावकारी बनाउन नेपाल दूरसंचार प्रधिकरणले प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिएका छन् ।

जिल्लाको सदरमुकाम खलंगामा गरिएको दूरसंचार सेवाको प्रभाव, गुणस्तरीय सेवाको महत्व तथा आवश्यकता बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागिता सरोकारवालाहरुले दूरसंचार सेवा प्रभावकारी नहुँदा विभिन्न समस्या झेल्नु परेको गुनासो गरेका छन् । जिल्लाको कालिमाटी गाउँपालिकाका केही भागसँगै बागचौरको बाफुखोला, शारदाको सुन्चौर, छत्रेश्वरीको झिम्पे, कुमाख, दार्मामा पनि दूरसंचार सेवा प्रभावकारी नभएको गुणासो गरेका हुन् ।

उनीहरुले टेलिफोनदेखि इन्टरनेटसम्मका सेवा सुधार्न ध्यानाकर्षण गराएका छन् । पानी परेमा मोवाइल नेटवर्क नहुने, इन्टरनेट सेवा प्रभावित हुने, इन्टरनेट जडानका लागि वजारमा जथाभावि रुपमा तार टांग्ने जस्ता कार्यले नागरिकलाई सेवा भन्दा सास्ती हुनसक्ने भन्दै सरोकारवालाहरुले गुणासो गरेका छन् । मोबाइलमा कुरा गर्न रुखमा चढ्नुपर्ने अवस्थादेखि इन्टरनेट चलाउन अग्ला अग्ला डाँडाहरूमा पुग्नुपर्ने बाध्यता रहेको गुणासो समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती सल्यानका प्रमुख बेलाराम रावलले अझै पनि जिल्लाका सबै नागरिक दूरसंचारको पहुँचमा पुग्न नसकेको बताउनुभएको छ । मोवाइल फोनले काम नगर्ने, कुरा नबुझिने, बिचमा नै फोन काटिने, इन्टरनेट नचल्ने जस्ता समस्या जिल्लावासीले भोग्दै आएकाले सेवालाई थप सुधार गर्दै प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभएको हो ।

‘केही दिन अघिमात्रै मोवाइल नेटवर्कमा समस्या आयो, नागरिकहरु छिटोभन्दा छिटो दूरसंचार सेवामा जोडिएर सेवा लिन चाहान्छन्, सेवाको नाममा सास्ती हुनु हुदैन्’ उहाँले भन्नुभयो ‘भौगोलिक रुपमा विकट भएकाले यहाँको खोलाखाल्सीमा समेत मानवबस्ती हुदा त्यहाँपनि मोवाइल नेटवर्क र इन्टरनेटको सेवा हुन आवश्यक छ ।’ उहाँले अहिले प्रदान गर्दै आएको सेवालाई व्यवस्थित गर्दै थप सेवा विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

सो अवसरमा जिल्लाका दश वटै पालिकामा गरेर ४० वटा टेलिकमका टावर निर्माण गरिएको जानकारी दिइएको छ । जसमा ३७ वटा टावर सञ्चालनमा रहेको तथा कोटमौला, दार्माकोट र काप्रेचौर गरी ३ वटा टावर सञ्चालनको प्रक्रियामा रहेको जानकारी दिइएको छ । नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक दिनेश मैनालीले सल्यान सहित कर्णाली प्रदेशमा दूरसंचार सेवामा तत्काल सुधारका काम हुने बताउनुभएको छ ।

सेवाको गुणस्तर सुधार गर्दै प्रभावकारी बनाउन प्राधिकरणले आवश्यक भूमिका निर्वाह गर्ने भन्दै उहाँले आगामी दिनमा गुनासा आउन नदिने गरी काम हुने बताउनुभयो । नेपाल दूरसंचार प्राधिकरणको सहयोग तथा नेबुला सोलुसन्स प्रालिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित