सल्यान, २५ असार ।
सल्यानका पशुलाई ९ सय ७ डोज लम्पि स्किन बिरुद्धको खोप लगाइएको छ । कर्णाली प्रदेशले तीन हजार डोज खोप पठाएकोमा अहिलेसम्म ९ सय सात डोज खोप लगाई सकेको पशु अस्पताल तथा पशु सेवा कार्यलय सल्यानले जनाएको छ । खोप दश वटै स्थानिय तहमा पठाएकोमा केहिले लगाई सकेका छन् भने केहिले खोप लगाउने कार्य जारी राखेका छन् ।
जसमा बागचौर नगरपालिकाले ५ सय, त्रिवेणी गाउँपालिकाले ३ सय ६७ र दार्मा गाउँपालिकाले २० डोज खोप लगाएको कार्यालयले जनाएको छ । अहिले पशुमा लाग्ने रोग लम्पी स्कीन महामारीका रुपमा फैलिएपछि रोगबिरुद्ध भ्याक्सिन लगाउन थालिएको छ । अहिले जनचेतना जगाउने र पशुहरूमा यस रोगविरुद्ध भ्याक्सिन लगाउने कार्य भइरहेको छ ।
जिल्लाभर अहिलेसम्म ३२ हजार ३ सय ५३ पशु संक्रमित भएका छन् भने बितेको तीन महिनाको अवधिमा जिल्लाका दशवटै स्थानीय तहमा एक हजार १३ पशु मरेका हुन् । कार्यालयका सूचना अधिकारी वीरेन्द्र केसीले लम्पी स्कीन रोगबाट जिल्लाका पशुपालक किसान धेरै प्रभावित भएको बताउनुभयो । संक्रामक विषाणुजन्य रोग लम्पी स्कीनबाट भैंसीको तुलनामा गाईगोरु बढी प्रभावित भएका छन् ।