एक हप्ता नहुदै उप्कियो कालोपत्रे

करिब १५ सय मिटर सडक कालोपत्रे गर्ने भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण व्यवसायिले भ्याट सहित १ करोड ४२ लाखमा २०७७ असार ७ गते सम्झौता गरेका थिए । जसअनुसार २०७७ पुस ६ गते काम सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा काम नभएपछि अन्तिम पटक थपिएको म्याद २०७८ चैत ३० गते सम्म थियो । अन्तिम पटक म्याद थप गर्दा पनि कालोपत्रेको काम नभएको र म्याद थप नभएकाले २०८० असार ११ गते सडक डिभिजन कार्यालय दाङले ठेक्का रद्ध गरेको हो । कार्यालयले ठेक्का रद्ध गरेपनि निर्माण व्यवसायिले भने अन्तिम समयमा आएर सडक कालोपत्रे गरेको जनाइएको छ ।

सल्यान, २९ असार ।

सल्यानबाट प्रदेश राजधानी सुर्खेत जोड्ने सडकको कालोपत्रे उप्किएको छ । श्रीनगर–खलंगा–कुपिण्डे ताल हुदैँ बालुवासंग्रही जोड्ने सडक अन्र्तगत बन्गाड कुपिण्डे नगरपालिका ९ ज्यामिरे देखी बाबियाचौर खण्डको कालोपत्रे गरिएको एक हप्ता नहुदै उप्किएको हो । कामको जिम्मेवारी पाएको प्राकृतिक/निशान जेभीले असारको अन्त्यतिर एक हप्ता लगाएर कालोपत्रे गरेको थियो ।

तर कालोपत्रे गुणस्तरहिन हुदा एकहप्तामा नै उप्किएको स्थानिय बताउँछन् । पानी परिरहेको समयमा सुर्खेतबाट सामाग्री ढुवानी गरेर एक हप्तामा नै गुणस्तरहिन काम निर्माण व्यवसायिले गरेको स्थानिय बताउँछन् । स्थानिय पुलसिंह यरीले यस सडकको काम गुणस्तरहिन भएको बताउनुभयो । उहाँका अनुसार कालोपत्रे गरेको एक हप्ता नहुदै कालोपत्रे उप्किएको छ ।

‘पानी परिरहेको थियो, हतार–हतारमा ठेकेदारले काम गरेका हुन्, यो सडकको गुणस्तर छैन्, घुम्तीको सडक सबै उप्किएको छ, गाडी हिलोमा जसरी फस्छन्’ उहाँले भन्नुभयो ‘यो सरासर पैसा पचाउने मेसो भयो, गुणस्तरहिन काम गर्ने अधिकार कसैलाई छैन् ।’ उहाँले पानी परे ८/१० दिनमा नै कालोपत्रे बगेर जाने बताउनुभयो ।

‘कालोपत्रे गरेको बेश नै सुकेको थिएन, हिलोमा गरेको कालोपत्रे कसरी टिकाउँ होला रु’ उहाँले प्रश्न गर्दै भन्नुभयो ‘कालोपत्रे सुख्खा छ, खुट्टाले चलाउदा नि कालोपत्रे उप्किएर जान्छ ।’ यता सडक डिभिजन कार्यालय दाङले भने सडक कालोपत्रेको बारेमा आफ्नो कार्यालयलाई कुनै जानकारी नभएको जनाइएको छ ।

करिब १५ सय मिटर सडक कालोपत्रे गर्ने भनेर सडक डिभिजन कार्यालय दाङ र निर्माण व्यवसायिले भ्याट सहित १ करोड ४२ लाखमा २०७७ असार ७ गते सम्झौता गरेका थिए । जसअनुसार २०७७ पुस ६ गते काम सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा काम नभएपछि अन्तिम पटक थपिएको म्याद २०७८ चैत ३० गते सम्म थियो ।

अन्तिम पटक म्याद थप गर्दा पनि कालोपत्रेको काम नभएको र म्याद थप नभएकाले २०८० असार ११ गते सडक डिभिजन कार्यालय दाङले ठेक्का रद्ध गरेको हो । कार्यालयले ठेक्का रद्ध गरेपनि निर्माण व्यवसायिले भने अन्तिम समयमा आएर सडक कालोपत्रे गरेको जनाइएको छ । सडक डिभिजन कार्यालका प्रमुख गुरु प्रसाद अधिकारीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण व्यवसायिले काम सम्पन्न गर्न नसकेको र सम्झौताको म्याद सकिएकाले ठेक्का रद्ध गरिएको बताउनुभयो ।

‘हामीलाई असार ११ गते पछि के काम भएको छ भन्ने जानकारी छैन्, जानकारीको बिषयबस्तु पनि भएन’ उहाँले भन्नुभयो ‘त्यो भन्दा अगाडी कहाँ के कति काम भएका थिए भन्ने हाम्रो जिम्मा हो ।’ निर्माण व्यवसायिले काम पनि नगरेको र म्याद पनि थप नभएकाले ठेक्का तोडिएको उहाँको भनाइ छ । ‘असार ११ गते अघिको कामको मुल्यांकन हुन्छ, भुक्तानी हुन्छ, त्यो भन्दा पछिको हामी बुझ्दैनौँ, हामीलाई थाहा हुदैन् त्यो कुरा’ उहाँले भन्नुभयो ।

यसैविच प्राकृतिक निशान जेभिका संचालक डिल्ली केसीले ठेक्का रद्ध भएको नभइ एक हप्ता भित्रमा काम गर्न वार्निङ दिएको बताउनुभयो । ‘ठेक्का रद्ध त भएको होइन्, उनीहरुले चाही एक हप्ता भित्रमा काम गर्ने भनेर वार्निङ दिएका थिए, काम सक्न भनेका थिए, हामीले काम सक्यौँ’ उहाँले भन्नुभयो ‘त्यसो आधिकारिक केही पनि छैन् के, त्यस्तो केही पनि होइन्, काम नगरेकालाई त अव असारपछि ब्लाकलिष्टमा गैहाल्छ, त्यो हामीलाई मात्रै नभएर काम नगर्ने सबैलाई हो, हामीले टाइमै काम सकियो, केही समस्या छैन् ।’

उहाँले सडक कालोपत्रेको गुणस्तरमा कुनै कमी नभएको दावी गर्नुभयो । ‘कोले के भन्छ भन्नेको पछाडी भन्दा पनि, हामीले सावधानीका साथ काम गरेका छौँ, कालोपत्रेका बारेमा स्थानियले नबुझेर कुरा गरेका होला, केही मोड कस्तो छन् भने आरसिसि स्ल्याव बाहेक अरुको विकल्प छैन्, डिजाइन नै गलत थियो’ उहाँले थप्नुभयो ‘कतै मोडहरुमा अलि–अलि समस्या आउन सक्छ, त्यो कुनै ठुलो समस्या छैन्, त्यो हामीले थाहा पाएका छौँ, नाली छैन्, स्टामेटमा ग्रावेलिङ छैन्, तरपनि हामीले हाम्रो काम सम्पन्न गरेका छौँ ।’

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित