सल्यान, ३१ असार ।
सल्यानमा व्यवसायिक पशुपालन गर्दै आएका कृषकहरुलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार मार्फत सम्मान गरिएको छ । आइतवार सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा सल्यान प्रदेश सभा ख बाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य सुरेश अधिकारीले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार मार्फत ७ जना कृषक र २ वटा सहकारीलाई पुरस्कृत गर्नुभएको हो ।
पुरस्कृत हुनेमा जनजारण गाई फर्म तथा दध संकलन केन्द्र बागचौर नगरपालिका ५ का प्रेम बहादुर भण्डारी, दुरा पशुपंक्षि फर्म शारदा नगरपालिका २ का निर्मला दुरा, नबिन बाख्रापालन फर्म बन्गाड कुपिण्डे नगरपालिकाका आशा बुढा मगर, विएम कृषि तथा पशुपक्षि फर्म कपुरकोट गाउँपालिका १ का मन कुमारी घर्ती, कर्णाली वाइल्ड लाइफ पन्छि फर्म शारदा नगरपालिका १५ का लक्ष्मण बुढाथोकी, बुुुढाथोकी मत्स्य एण्ड कृर्षि फर्म कालिमाटी गाउँपालिकाका केशरसिहं बुढाथोकी र केसी कृर्षि तथा पशपंछि फर्म दार्मा गाउँपालिका ५ का सरिता केसी रहनुभएको छ ।
यस्तै सहकारी तर्फ दुर्गा भवानी सामाजिक उद्यमी महिला सहकारी संस्था त्रिबेणी गाउँपालिका १ र हरियाली भैसीपालन कृषिक समुह शारदा नगरपालिका ८ पुरस्कृत भएका छन् । सो अवसरमा बोल्दै प्रदेश सांसद अधिकारीले पछिल्लो समय व्यवसायिक पशुजन्य उत्पादनमा कृषकको आकृर्षण बढेको बताउनुभयो । कृषकले उत्पादन गरेको माछा, मासु, अण्डा र दुग्घजन्य बस्तुको वजारीकरणमा समस्या नभएको बताउदैँ उहाँले वास्तविक कृषक प्रोत्साहनको निति प्रदेश सरकारले लिएको बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समितीका प्रमुख बेलाराम रावलले पशुपालनलाई हेलाको पेशाका रुपमा लिने गरिएको बताउदैँ पशुपालनलाई थप माथि उकास्नको लागि तिनै तहका सरकारका विचमा समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो । यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमख गोबिन्द महतले जिल्लालाई दुध, माछा, मासु र अन्डामा आत्मनिर्भर बनाउनको लागि कार्यालयले काम गर्दै आएको बताउनुभयो ।