बुवाको स्मृतिमा ब्लड बैंक स्थापनाको लागि सहयोग हस्तान्तरण

जटिल प्रकारका अप्रेसन जिल्लामा नभएपनि गर्भवति महिला प्रसुति हुदा रगतको माग धेरै आउने गरेको छ ।

सल्यान, ६ साउन ।
सल्यानको सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँ निवासी स्वर्गीय सहिद शोभाराम बस्नेतको स्मृतिका अवसरमा ब्लड बैंक सञ्चालनका लागि आर्थिक सहयोग गरिएको छ । स्वर्गीय बुवाको २२ औँ स्मृति दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी सल्यानद्वारा सञ्चालन गर्न लागिएको ब्लड बैंकको लागी पाँच हजार रुपैँया रेडक्रसका मन्त्री इन्द्र कुमार शर्मालाई छोरा मनविर बस्नेतले हस्तान्तरण गर्नुभएको हो ।

विगतदेखी नै बुवाको स्मृतिका अवसरमा विभिन्न सामाजिक कार्य गर्दै आएको र यस पटक जिल्लामा ब्लड बैंकको स्थापनाको लागि बनाइएको अक्षयकोषमा आर्थिक सहयोग उपलब्ध गराईएको उहाँको भनाइ छ । ‘जिल्लामा ब्लड बैँक नहुदा समस्या हुने गरेको छ, ब्लड बैंक निर्माणको लागि रेडक्रसले अभियान सञ्चालन गरेको छ, यो अभियानमा जोडिदैँ बुवाको स्मृतिमा परिवारको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराएका छौँ’ उहाँले भन्नुभयो ।

सो अवसरमा मन्त्री शर्माले ब्लड बैंक सञ्चालनका लागि निर्माण गरिएको अक्षयकोषमा आर्थिक सहयोग उपलब्ध गराएकोमा स्वर्गिय सहिद शोभाराम बस्नेतप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै परिवारजनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का जिल्ला सचिव रमेश कुमार गौतम, रेडक्रसका प्रशासन प्रमुख विरेन्द्र कुमार राई लगाएतको सहभागिता रहेको थियो ।

जिल्लामा विगत एक दशक देखी आपतकालिन रक्तसञ्चार सेवा सञ्चालन भैरहेको भएपनि ब्लड बैंक भने सञ्चालन हुन सकेको छैन् । ब्लड बैंकको लागि भवन निर्माण, आवश्यक उपकरण खरिद गरिएको छ । जिल्ला अस्पताल सल्यानले बिशेषज्ञ सेवा सञ्चालन गर्दा ब्लड बैंक पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । ब्लड बैंक सञ्चालनका लागि रेडक्रसले स्थापना गरेको अक्षयकोषमा आर्थिक सहयोग प्राप्त भैरहेको छ ।

जिल्लाका सबै पालिकाले पनि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । हाल जिल्लामा बार्षिक ६० देखी ६५ पोका सम्म रगत आवश्यक पर्छ । जटिल प्रकारका अप्रेसन जिल्लामा नभएपनि गर्भवति महिला प्रसुति हुदा रगतको माग धेरै आउने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस