सल्यान, १० साउन ।
सल्यानको कपुरकोट गाउँपालिकाले पहिलो पटक वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका अशक्त, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई मध्यनजर गर्दै सबै वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यको थालनी गरिएको हो । मंगलबार गाउँपालिकाको वडा नं. ५ बाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै यस कार्यको थालनी गरिएको छ ।
बैंकमा आउ–जाउ गर्दा अशक्त, ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका व्यक्तिलाई सास्ती भएपछि गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो । वडाबाटै सामाजिक सुरक्षा भत्ता वापतको रकम पाउन थालेपछि लाभग्राही उत्साहित बनेका छन् । ग्रामीण भेगबाट बैंकमा भत्ता लिन जान निकै कठिन परेको बेला वडाबाटै भत्ता बुझ्न पाएपछि उनीहरुको मुहारमा खुशी झल्किएको हो । बैंकमा घण्टौंसम्म लाइन बसेर बृद्घभत्ता बुझ्दै आएका कपुरकोट गाउँपालिका–५ सिस्नेरीका ७१ वर्षीय लोकबहादुर रोका यस पटकको चौमासिकको भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित हुनुहुन्छ । ‘निर्वाचनका बेला भोट माग्न आउँदा वृद्धभत्ता वडाबाट दिन्छौं भन्थे, त्यतिबेला विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिबद्धता अनुसार नै काम शुरु गरेकोमा निकै खुशी लागेको छ’– उहाँले भन्नुभयो– ‘अब भत्ता बुझ्न बंैकमा जान नपरोस् ।’
त्यस्तै कपुरकोट गाउँपालिका–५ डाँडागाउँकी ७४ वर्षीया उत्तिमा पुन पनि वडाबाट वृद्धभत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर आँगनमै आएको जस्तो लागेको बताउनुभयो । ‘भत्ता बुझ्नका लागि कपुरकोट बजारमा जानुपथ्र्यो, बूढेसकालको शरीर आउन जानै समस्या’– उहाँले भन्नुभयो– ‘अहिले गाउँपालिका र जनप्रतिनिधिले ज्येष्ठ नागरिकको मनोभावना बुझेर होला वडाबाटै भत्ता बुझ्ने व्यवस्था गरेका छन् ।’ यसअघि कपुरकोट वजार पुगेर सामाजिक सुरक्षा भत्ताको रकम बुझ्ने गरेकोमा वडामै सामाजिक सुरक्षा भत्ता पाएपछि सबै लाभग्राही खुशी भएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरणको काम वडा नं. ५ बाट भएको र यसै महिनाभित्र गाउँपालिका भित्रका छवटै वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने बताउनुभयो ।
नागरिकको सहजताको लागि तीन वटा बैंकसँग सम्झौता गरेर भत्ता वितरण गर्न थालिएको हो । जसमा कपुरकोट गाउँपालिका–१ र २ मा ज्योती विकास बैंक, वडा नं. ३, ४ र ५ मा नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र वडा नं. ६ मा कुमारी बैंकले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छन् । नागरिकको समस्यालाई मध्यनजर गर्दै सहजताको लागि तीनवटा बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुनले बनाउनुभयो । सामाजिक सुरक्षा भत्ता वडामै पाउँदा धेरैलाई राहत मिलेको र बैंकमा आएर लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ छ । गाउँपालिकामा तीन हजार तीन सय १५ लाभग्राही रहेका छन् । ती मध्ये ज्येष्ठ नागरिक आठ सय ९० जना, एकल महिला चार सय ७१ जना, अपांगता भएका व्यक्ति एक सय १७ जना र बालपोषण पाउने बालबालिका एक हजार आठ सय ३७ जना रहेका छन् ।
अध्यक्ष पुनले चुनावमा गरेको प्रतिवद्धता अनुसार नागरिकको सहजताको लागि वडा कार्यालयबाट नै सामाजिक सुरक्षाभत्ता वितरणको व्यवस्था मिलाइएको बताउनुभयो । वडाबाट नै भत्ता वितरण गर्दा लाभग्राहीको यातायात वापतको खर्च बचत हुने उहाँको भनाइ छ । ‘पहिले भत्ता लिन बैंकमा जानुपथ्र्यो, एक लाभग्राहीको बैंकसम्म आउजाउ गर्दा सरदरमा २ सय ७५ रुपैयाँ खर्च भयो भने पनि एक वर्षमा ३६ लाख ४६ हजार रुयैयाँ बढी यातायातमा मात्रै खर्च हुन्थ्यो’– उहाँले भन्नुभयो ।