सल्यान, ११ साउन ।
‘भत्ता बुझ्ने खवर पाएको दिन हामी त विहानै घरबाट हिड्ने गर्थिम्, ३/४ घण्टा हिडेर बैंक पुगिन्थ्यो, दिनभरी लाइन लाग्यो, पालो आएर भत्ता बुझ्दा सम्म त साँझ भैसकेको हुन्थ्यो, फेरी हिडेरै घर आउनुपथ्र्यो, भत्ता पुझ्न जादा पनि साह्रै दुःख हुन्थे’ शारदा नगरपालिका–९ मेल्टाकुराकी ७७ बर्षिया मैना कुमारी बुढाथोकीले विगत सम्झदै भन्नुभयो ‘बर्षमा तीन पटक बैँक जानुपथ्र्यो, भत्ता नल्याए के खाने रु ल्याउन जाने हो भने दुःख साह्रै हुन्थ्यो ।’
बि.सं. २००३ साल मंसिर १० गते जन्मनुभएका उहाँले १४ बर्षको उमेरमा विहे गर्नुभयो । झण्डै १८/१९ बर्षअघि जीवनसाथी गुमाउनुभएका उहाँले ८/९ बर्षअघिसम्म घाँसपात गर्ने, बस्तुभाउ चराउने काम गर्नसक्नुहुन्थ्यो । तर उमेर बढ्दै गएपछि उहाँका दैनिकी फेरिएको छन् । उहाँले अहिले केही काम गर्नसक्नु हुदैन् । दिनभर घरैमा बस्यो, छोराबुहारी वा नातिनातिनाले खाना पकाउँछन्, खाने र आराम गर्ने उहाँको दैनिकी हो ।
हिडडुल गर्न गाह्रो मान्ने उहाँ सामाजिक सुरक्षा भत्ता लिन भने आफैँ आउनुहुन्छ । यसबर्ष उहाँले घर नजिकै रहेको वडा कार्यालयबाट बृद्धभत्ता पाएपछि औधि खुसी हुनुहुन्छ । ‘सधैँ भत्ता बुझ्न बैंकमा जानुपथ्र्यो, टाढाको बाटो, बुढी परियो फेरी, जाने धौँ, आउने धौँ, बैंकमा पालो पर्खियो, निकैँ गाह्रो हुन्थ्यो, यस बर्षदेखी त मैले पनि वडाबाट नै भत्ता बुझ्न पाए, असाध्यै सजिलो भयो’ खुसी हुदैँ उहाँले भन्नुभयो ।
उहाँले वडाबाट भत्ता बुझ्दा बैंकमा जसरी लाइन पनि लाग्नु नपर्ने र जानेआउने सास्ती पनि नहुने बताउनुभयो । ‘घरबाट खाना खायर गयो, सबै गाउँकै हुन्छन्, आफन्तसँग भेटघाट पनि भयो, लामो लाइन लाग्नु पनि परेन्’ उहाँ भन्नुहुन्छ ‘भत्ताको कार्ड र नागरिकता लिएर अलि अस्तिनै तीन महिनाको १२ हजार भत्ता बुझेकी हुँ ।’ शारदा नगरपालिकाको मेयरमा निर्वाचित प्रकाश भण्डारी नेतृत्वको टिमले निर्वाचन अघिको घोषणा पत्रमा र निर्वाचित भएपश्चात वडा–वडाबाट सामाजिक सुरक्षा भत्ता बाँड्ने निति लिएपछि उहाँ जस्तै बृद्धबृद्धा तथा अपांगता भएका व्यक्तिहरुलाई सजिलो भएको छ । ‘मैले तीन पटक वडाबाटै भत्ता बुझिसके, अव भत्ता बुझ्न कहिल्यै बैंक जानु पर्दैन् नि ?’ उहाँले प्रश्न गर्दै भन्नुहुन्छ ‘हामी जस्ता बुढापाखाको लागि यो त धेरै सजिलो हो, बाचुञ्जेलसम्म वडाबाटै भत्ता पाए सजिलो हुनेथियो ।’
बृद्धभत्ताबाट आएको पैसाले आफ्नो मनले मागेको खान सजिलो भएको छ । उहाँ थप्नुहुन्छ ‘पहिले–पहिले त चरीमासु खाने भनेको त चाडपर्वमा मात्रै थियो, अहिले हप्तामा एक/दुई पटक मासु खान्छौँ, दही दूध पनि खान्छु, आफुलाई के खान मन पर्छ, मेरो दे’ले के पचाउँछ, त्यो किनेर ल्याइदिन भन्छु र खान्छु ।’ पहिला भत्ता गाविसमा दिन्थे, पछि बैंकमा दिन थाले तर अहिलेका जनप्रतिनिधिले वडाबाट भत्ता दिदा सजिलो भएको छ’ उहाँले मनमा लागेको कुरा राख्दै भन्नुभयो ‘म जस्ता हिडडुल गर्न नसक्नेलाई त घरैमा आएर भत्ता दिए झनै राम्रो हुनेथियो नि ।’