सल्यान, १२ साउन ।
सल्यानको शारदा नगरपालिका–१५ निवासी खुमा चन्दले ८ रोपनी क्षेत्रफलमा धानखेती गर्नुभएको छ । सिमतारामा रहेको शारदा नदिको फाँटमा उहाँले केही साताअघि धुमधामका साथ धान रोपाई सक्नुभयो । तर धान रोपेको झण्डै एक महिनामा नै उहाँको खेतमा रहेको धानमा किराको प्रकोप बढ्यो । शुरुवातमा धानका पात घुम्रिएर सुक्दै गएका थिए ।
यो सामान्य प्रक्रिया नमिलेर होला भन्ने सोच्नुभएकी उहाँले विस्तारै खेतभरीकै धानका पात सुक्दै गएपछि धानमा रोग लागेको थाहा पाउनुभयो । ‘विगतमा यस्तो प्रकोप थिएन्, कहिलेकाही समस्या देखिनु सामान्य कुरा हो, यो पटक त सबै धान सखाप नै बनायो, सुरुवातमा पात घुम्रेर सुकेको जस्तो देखिन्थेँ, अहिले त सबै बोट नै सक्न थालिसकेका छन्’ उहाँले भन्नुभयो ।
८ रोपनीमा गरिएको धानखेती उहाँको आफ्नै होईन् । उहाँले खेतधनीसँग उत्पादन आधा–आधा बाँड्ने सर्तमा धानखेती सुरु गर्नुभएको थियो । ‘धानको व्याड राख्नेबेला देखी नै खर्च सुरु भयो, जोत्ने ट्याक्टर, हलि, रोपाई गर्ने, ब्याड निकाल्ने, मल, वीउ सबैमा खर्च भैसकेको छ, उत्पादनको आधा खेतधनीलाई दिने सर्त छ, यही उत्पादन नै बर्षभरीको खाने हो’ उहाँले भन्नुभयो ।
उहाँकै छिमेकी नविना बस्नेतले ३ रोपनी क्षेत्रफलमा धान खेती गर्नुभएको छ । उहाँको खेतमा भएको धान पनि किराले नष्ट पार्न थालेको छ । ‘यस्तो प्रकोप कहिल्यै देखिन्, यो बर्ष त जताजतै यस्तै प्रकोप देखिएको छ, धान सबै किराले खाएर सखाप पारेको छ, भर्खर रोपेका कलिला धानको पात खाएर विरुवा नै सुक्न थालेको छ’ उहाँले भन्नुभयो ‘खेतधनीसँग उत्पादन भएको धान आधा–आधा बाँड्ने सर्तमा धान रोपेकी हुँ ।’
शारदा नगरपालिका–६ बरलाका डम्बरसिंह तिरुवाले ५ रोपनी क्षेत्रफलमा धानखेती गर्नुभएको छ । उहाँको खेतमा रहेको धानमा पनि किराको प्रकोप देखिएको छ । ‘सबैको खेतमा किराको प्रकोप थियो, अहिले मेरो खेतमा पनि देखिएको छ, विस्तारै यसले क्षती बढाउँदै लगेको छ’ उहाँले भन्नुभयो ‘तत्कालै धानमा देखिएको प्रकोप न्युनिकरण गर्न सकिएन् भने धानखेतीमा ठुलो नोक्सानी वेहोर्नुपर्ने छ ।’
किसानको खेतमा कृषि प्राविधिक
अहिले जिल्लाको शारदा नगरपालिकास्थि शारदा नदिको फाँटमा लगाइएको धानमा किराको प्रकोप रहेको छ । गएको बर्ष दार्मा गाउँपालिकामा यसको प्रकोप देखिएको थियो । यसबर्ष भने शारदा नगरपालिका १, २, १४, १५, ६ र ७ नम्बर वडाभित्रमा पर्ने धानखेतीमा किराको प्रकोप देखिएको छ । धानखेतीमा किराको प्रकोप रहेको थाहा पाएपछि कृषि प्राविधिक कृषकको खेतमा नै पुगेर निरिक्षण, विषादी वितरणसँगै आवश्यक परामर्श समेत प्रदान गरेका छन् ।
कृषि विकास कार्यालय सल्यान र शारदा नगरपालिका, कृषि विकास शाखाको प्राविधिक टोलीले स्थलगत निरिक्षण गर्दै किसानको खेतमा फैलिएको प्रकोप राइस हिस्पा (काँडेदार खपटे) किरा रहेको पुष्टि गरेको छ । धानमा लाग्ने हिस्पाको वयस्क निलो–कालो रङको काँडादार पखेटा भएको हुन्छ । यो किराले नोक्सान पु¥याएको पातमा सेता धर्सा र सेता धब्बाहरु देखिन्छन् । यस किराका लार्भा र वयस्क दुवैले नोक्सान गर्छन् ।
कृषक सजक बन्नुपर्छ तर आत्तिनु हुदैन्
कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख रेशम कुमार बस्नेतले हिस्पा किराले १५/२० प्रतिशत पात खाँदैमा आत्तिहाल्नु नपर्ने बताउनुभएको छ । ‘यस्तो बेलामा कृषक सजक बन्नुपर्छ, तर आत्तिनु पर्दैन्, १५/२० प्रतिशत पात खाएको अवस्थामा धानको बोटले त्यसलाई व्यवस्थापन गर्नसक्छ, यदी त्यो भन्दा बढी नोक्सानी भएमा मात्रै उत्पादनमा असर हुन्छ’ उहाँले भन्नुभयो ।
उहाँले कृषकको धानखेतीमा क्षति नहोस् भनेर विषादी वितरण गरिएको बताउनुभयो । ‘हामी प्रकोप नियन्त्रणमा लागेका छौँ, हामीसँग भएको विषादी वितरण गरिसकेका छौँ, अपुग विषादी माग गरेका छौँ, २ दिन भित्रमा नपुगेको क्षेत्रमा विषादी लगेर जान्छौँ’ उहाँले भन्नुभयो । शारदा नगरपालिका कृषि विकास शाखाले पनि हिस्पा किराको प्रकोप नियन्त्रणका लागि विषादी वितरणसँगै कृषकलाई आवश्यक परामर्श दिएको छ ।
कृषि विकास शाखाका प्राविधिक सहायक, सहायकस्तर पाँथौ कविराज ज्ञवालीले शारदा नदिको फाँटको क्षेत्रमा हिस्पाले धेरै क्षति गर्ने सम्भावना रहेको बताउनुभयो । ‘अहिलेकै अवस्थामा रोग नियन्त्रण गर्न हामीले विषादी वितरण देखी परामर्श दिदैँ आएका छौँ, यदी प्रकोप नियन्त्रण आएन भने ठुलो क्षति हुनेसम्भावना छ, प्रकोप फैलिन नदिनको लागि हामीले काम गरिरहेका छौँ’ उहाँले भन्नुभयो ।
उहाँले कति क्षेत्रफलमा क्षती भएको छ भनेर अहिले नै भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । धानको पातको टुप्पो चुँडेर नष्ट गर्ने, खेतमा पानी जमाएर पानीमा उत्रेका हिस्पालाई जम्मा गरी नष्ट गर्ने र प्रकोप बढी भएमा क्लोरीपाइरिफस वा मालाथियन पानीमा मिसाइ छर्ने गर्दा हिस्पा किराको प्रकोप न्युनिकरण गर्न सकिने कृषि प्राविधिक बताउँछन् ।