सल्यान, १३ साउन ।
शारदा नगरपालिका–७ ओख्रेनीका चोचे कामी उमेरले ८२ बर्षको हुनुभयो । बि.सं. १९९८ साल चैत ३० गते जन्मिनु भएका उहाँ अहिले लौरीको साहारामा भित्रबाहिर गर्नुहुन्छ । सानै उमेरमा आमाबुवा गुमाउनुभएका उहाँ आफन्तीको घरमा बसेर हुर्कनुभयो । कान्छो सन्तानका रुपमा जन्मिनुभएका उहाँका तीन वटा दाइको मृत्यु भैसकेको छ । कहिले कालापार, कहिले गाउँघरमै मजदुरी गरेका उहाँले पहिलो श्रीमतीको मृत्युपश्चात कान्छी श्रीमती विहे गर्नुभयो । उहाँका २ छोरा र २ छोरी छन् ।
गाउँ छेउको घर । माटोले छाएको २ वटा कोठा । सम्पत्तीको नाममा केही कुखुरा । अचेल छोराबुहारीबाट अलग भएर श्रीमानश्रीमती बस्दै आउनुभएको छ । पुरानो टोपी, मैलिएका सर्ट र ट्राउजर । फुलेर सेतै भएको कपाल र जुंगादाह्री । बुढेसकालमा पनि हँसिलो अनुसार भएका उहाँका आँखा अलि कमजोर छन् । आफुले थाहा पाएदेखी ठुलो विरामी नभएका उहाँ अहिलेसम्म अस्पताल जानुभएको छैन् । ‘रुघाखोकी लाग्थ्यो कहिलेकाही, तर मेरा लागि सामान्य नै हो, दुई/चार दिनमा आफै सन्चो हुन्थ्यो’ उहाँ भन्नुहुन्छ ‘अहिले आँखा कमजोर भए, रुघाखोकी लाग्छ, अरु विमार भएको याद छैन् ।’ चैत महिनामा उहाँको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्यचौकी कजेरीबाट स्वास्थ्यकर्मीको टोली उहाँकै घरमा पुग्यो ।
‘अहिलेसम्म सन्चो विसन्चो कसैले सोधेको थिएन्, के खाने के नखाने कसैले भनेको थिएन, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला है भनेर कसैले भनेको थिएन्, एक्कासी डाक्टर घरमा आउँदा अच्चम लाग्यो’ खुसीका आँसु पुछ्दै उहाँले भन्नुभयो ‘अहिलेसम्म म विमार भएन्, अस्पताल गएको थिएन्, आफ्नै घरमा बाबु १ मैले पहिलो पटक डाक्टर देखे ।’ डाक्टरले मेरो हात समाउनुभयो, मेरो जाँच गर्नुभयो । खुसी हुदैँ उहाँले फेरी थप्नुभयो ‘मैले अहिलेसम्म शरिर जाँचेकै थिएन्, डाक्टरले त केही भएको छैन्, खोकी लागेको रहिछ, औषधि खानुहोला भनेर दुई वटा पत्ता औषधि दिनुभएको हो, मैले पैसा तिर्नुपर्छ होला भन्ने सोचेको थिए, सबै निशुल्क रहिछ, मैले त्यही औषधि खाए ।’
अस्ती पनि आउनुभएको थियो, बाजे कस्तो छ अहिले भनेर सोध्नुभयो, ठिकै छ डाक्टरबाबु भने, म त अहिले सन्चो छु । शारदा नगरपालिकाको मेयरमा निर्वाचित प्रकाश भण्डारी नेतृत्वको टिमले निर्वाचन अघिको घोषणा पत्रमा र निर्वाचित भएपश्चात नगरभित्रका सबै जेष्ठनागरिक तथा अपांगता भएका व्यक्तिहरुको घरैमा पुगेर निशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण गर्ने निति वनाएपछि उहाँको घरदैलोमा औषधि बोकेर स्वास्थ्यकर्मीको टिम पुगेको उहाँलाई पत्तै भएन् ।
‘मैले अहिले थाहा पाए, नयाँ जनप्रतिनिधिले घर गएर बुढापाकाको निशुल्क शरिर जाँच्ने र औषधि दिने व्यवस्था लिएका रहिछन्, यो त राम्रो हो, अस्पताल खोज्दै जानुभन्दा डाक्टरसावहरु आफै हाम्लाई खोज्दै आउनुहुन्छ’ उहाँले भन्नुभयो ‘अव त बेला–बेलामा हाम्रो घरमा डाक्टरहरु आउने रे ।’ डाक्टरकै सल्लाह अनुसार अहिले बेला–बेलामा दही, दूध, मासु खादै आएको उहाँ बताउनुहुन्छ । ‘बुढेसकालमा वरपर गर्न सकिदैन्, केही विमारी परेपनि अस्पताल जानसकिदैन्, मेरा घरसम्म डाक्टर पठाउने र यहाँ आउने डाक्टरसावको जय होस्, राम्रो गर्नुभएको छ, अझै राम्रो गर्नुहोला, मेरो भन्नु यही हो’ उहाँले भन्नुभयो ।