सल्यान, १४ साउन ।
कपुरकोट गाउँपालिका–२ ढनठानाका किसान दिवस खड्काले खेतभरी बन्दागोभी लगाउनु भएको छ । केहीबर्ष मलेसिया बसेर घर फर्किनुभएका उहाँले गाउँमा नै केही गर्ने सोच राखेर ९ रोपनी खेतमा बन्दागोभी रोप्नुभएको हो । तरकारी बिक्री गर्ने सिजन सुरु भएको महिना दिन बढी हुदा पनि उहाँले रोपेको बन्दागोभीले मुल्य पाउन सकेको छैन् ।
‘घरमै केही गर्नुपर्छ भनेर ९ रोपनीमा बन्दागोभी रोपेको हुँ, यो सिजनमा ४३ क्विन्टल बन्दागोभी ६ रुपैँया प्रतिकिलोमा बिक्री गरे, यो पटक बन्दागोभीले भाउ पाएन, ६ रुपैँया प्रतिकिलोले लगानी नै उठाउन मुश्किल हुन्छ’ उहाँ भन्नुहुन्छ ‘फाइदाको कुरा नगरम, यो पटक मल, वीउ, श्रमको लगानी उठाउन धौँ–धौँ भयो ।’
उहाँले करिब २० क्विन्टल बन्दागोभी बारीमा नै कुहिएर खेर गएको बताउनुभयो । ‘वजारभाउ राम्रो पाउँला भनेर बन्दागोभी काटेर ठिक्क बनायो, तर ६/७ रुपैँया प्रतिकिलो भन्दा बढी गएन्, त्यही पनि हाटवजारमा ल्याउदा व्यापारीले किन्न नै मन गरेनन्’ उहाँले थप्नुभयो ‘भाउ पाउँछ कि भनेर राखेको पानी प¥यो, सबै कुहिएर खेर गयो ।’ उहाँले बन्दागोभीसँगै टमाटर खेती पनि गर्नुभएको छ ।
‘सुरुवातमा बन्दागोभी र टमाटर दुबैको भाउ थिएन्, अहिले बन्दागोभी १० रुपैँया किलो पुगेको छ, त्यो बेला टमाटर पनि २०/२५ रुपैँया किलो थियो, त्यही मुल्यमा २ रोपनीमा लगाएको टमाटर बेचे, अहिले त टमाटरको भाउ बढेको छ, खेतमा रोपेको टमाटर सकियो, बारीमा लगाएको टमाटर भर्खर पाक्न थालेको छ’ उहाँले भन्नुभयो । यसपटक बन्दागोभीले मुल्य नपाएपनि तरकारीखेतीलाई निरन्तरता दिने उहाँको भनाइ छ ।
कपुरकोट गाउँपालिका–३ फलाटेका किसान मेघ नाथले आफुले उत्पादन गरेको बन्दागोभीले पनि भाउ नपाएको बताउनुभयो । उहाँले करिब ११ रोपनीमा बन्दागोभी खेती गर्नुभएको थियो । ‘कतै बन्दागोभी बेच्ने बेला कटिसकेको त कतै ठिक्क टिप्ने बेला भएको थियो, बन्दागोभी राम्रै बिक्ने आस गरेपनि यो पटक भाउ पाएन’ उहाँ भन्नुहुन्छ ।
उहाँले आफुले रोपेको बन्दागोभी मध्ये यसपटक करिब २३ क्विन्टल मात्रै बिक्री भएको बताउनुभयो । ‘तरकारी खेतीको सम्भावना धेरै छ, तर यो पटक अरु तरकारी जसरी बन्दागोभीले भाउ पाएन्, मैले ३५ प्रतिशत जति बेचेँ, बाँकी सबै बन्दागोभी कुहिएर खेर गयो’ उहाँले भन्नुभयो ‘डोकामा बोकेर हाटबजार गयो, भाउ सोध्दा ६/७ रुपैँया भन्छन्, वजार लिएको नै मुल्य उठ्दैन्, फाइदाको त के कुरा ।’
स्टोर गर्न नमिल्ने भएकाले तरकारी बालीमा समस्या भएको उहाँको भनाइ छ । ‘तरकारी हाटबजार पु¥याउनका लागि सडक छ, गाउँमा पनि गाडी आउँछन्, तर हाटबजारमा बिक्रि हुदैँन्’ उहाँले भन्नुभयो ‘स्टोर गर्ने सम्भावना भएन्, वजार नपठाउने हो भने २/४ दिनमा नै सबै तरकारी कुहिएर खेर जान्छ ।’ उहाँले बन्दागोभीसँगै काँक्रा, सिमी लगाएतका तरकारीखेती गर्दै आउनुभएको छ ।
बेमौसमी तरकारी खेतीका लागि प्रख्यात कपुरकोट क्षेत्रमा बन्दागोभी, गोलभेँडा, काउली, सिमि, बोडी, भेडे खुर्सानी, मुला, साग, काँक्रा लगायतका तरकारी उत्पादन हुन्छन् । बेमौसमी तरकारीको पकेट क्षेत्रको रूपमा रहेको कपुरकोटका करिब ३ हजार ६ सय घरपरिवारले तरकारी खेतिबाटै जीवननिर्वाह गर्दै आइरहेका छन् । पछिल्लो मुल्यसुचि अनुसार किसानले बन्दागोभी प्रतिकिलो १० देखी १२ रुपैँयामा विक्री गरेका छन् ।
यस्तै टमाटर प्रतिकिलो रु. ९५ देखी १००, काउली प्रतिकिलो रु. २० देखी २२, सिमी प्रतिकिलो रु. ३० देखी ३५, भेडे खुर्सानी प्रतिकिलो ८५ देखी ९० रुपैयाँमा बिक्री गरेका छन् । यस्तै मोटो खुर्सानी प्रतिकिलो रु. ७५ देखी ८०, मसिनो खुर्सानी प्रतिकिलो रु. ८० देखी ८५, अखबरे खुर्सानी प्रतिकिलो रु. एक सय ५०, काँक्रो लोकल प्रतिकिलो रु. ४५ देखी ५०, काँक्रो उन्नत प्रतिकिलो रु. ५ देखी १० र धनिया २०० रुपैँया प्रतिकिलोमा विक्रि भएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ ।
कपुरकोटबाट ६ महिनाको अवधिमा बार्षिक ३० करोडभन्दा बढीको तरकारी जिल्ला बाहिर निर्यात हुने गरेको छ । गत असार १ गतेदेखि ३१ गतेसम्म १३ लाख १९ हजार ३३५ किलोग्राम तरकारी बिक्री हुँदा किसानले सात करोड २९ हजार १०६ रुपैयाँ प्राप्त गरेका छन् । कपुरकोटमा उत्पादन भएको तरकारी, नेपालका ठुला शहर, काठमाडौ, नेपालगञ्ज, बुटवल, धनगडी, दाङ लगायत भारतको लखनउसम्म निकासी हुने गरेको छ ।