सल्यान, २२ साउन ।
सल्यानमा पहिलो पटक भूमिहीनलाई जग्गा दिन त्रिवेणी गाउँपालिकामा जग्गाको नाप–नक्सा कार्य शुरु भएको छ । त्रिवेणी गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरुको नापनक्साको काम शुरु भएको हो । त्रिवेणी गाउँपालिकाको वडा नं। ३ को तल्लो कारेबासबाट नाप नक्साको कार्य शुभारम्भ गरिएको छ ।
त्रिवेणी गाउँपालिकाभित्र एक हजार ९७ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासी रहेको राष्ट्रिय भूमि आयोग, त्रिवेणी गाउँपालिका सेवा केन्द्र प्रमुख सरोज बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिहीन दलित १७ जना, भूमिहीन सुकुम्बासी १२ जना र अवस्थित बसोबासीहरु एक हजार ६८ जना रहेका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले राष्ट्रिय भूमि आयोग सल्यान र त्रिवेणी गाउँपालिकाको समन्वयमा जग्गाको नाप नक्सा शुरु भएकोमा खुशी ब्यक्त गर्नुभयो । आउँदो दशैंसम्म गाउँपालिकाभित्रका सबै वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिने उहाँले बताउनुभयो ।
गाउँपालिकाभित्र रहेका भूमिहीनहरुलाई छिट्टै लालपूर्जा वितरण गरेर जग्गाको मालिक बनाउने उहाँको भनाइ थियो । अब्यवस्थित बसोबास गरिरहेकालाई व्यवस्थित गर्न नाप नक्साको कार्यमा सहयोग गरी बास्तविक भूमिहीनलाई जग्गा दिलाउन सहयोग गर्न उहाँले सबैमा अनुरोध गर्नुभयो ।
यस्तै राष्ट्रिय भूमि आयोग सल्यानका अध्यक्ष वीरबहादुर सेजवालले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई प्राथमिकता राखेर काम गरिरहेको बताउनुभयो । उहाँले जग्गा नापजाँच कार्यपछि वर्षांैदेखिको जग्गा सम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले त्रिवेणी गाउँपालिकाले जिल्लामै पहिलोपटक भूमिहीनलाई लालपूर्जा वितरणको लागि काम शुरुवात गरेको भन्दै अरु पालिकाले पनि तत्कालै कामको थालनी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सहभागीहरुले बारम्बार जग्गाधनी पूर्जा दिने आश्वासन मात्रै दिने तर पूर्जा नदिने समस्याले गर्दा जनतामा निराशा पैदा भएको भन्दै तत्कालै लालपूर्जा वितरणको काम थालनी गर्न सुझाव दिएका थिए । कार्यक्रममा नापी कार्यालय सल्यानका प्रमुख गोविन्द उपाध्याय, त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष सीता खड्का पुन, निवर्तमान उपाध्यक्ष करुणा खड्का, निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रभातकुमार श्रेष्ठलगायतको सहभागिता थियो ।