सल्यान, २३ साउन ।
सल्यानमा आँखा पाक्ने रोगको संक्रमण फैलिएको छ । केहीसाता अघिसम्म शहरीक्षेत्रमा मात्रै फैलिएको आँखा पाक्ने रोगको समस्या अहिले जिल्लामा पनि फैलिएको हो । जसकारण ठूलो संख्यामा बालबालिका, वयस्कदेखि वृद्धवृद्धा प्रभावित भएका छन् । पछिल्लो साता आँखा पाक्ने संक्रमण अनपेक्षित रुपमा फैलिरहेको आँखा उपचार केन्द्र सितलपाटीले जनाएको छ ।
आँखा उपचार केन्द्रका इन्चार्ज नवीना चौधरीले अहिले दैनिक एक सय बढी विरामी उपचारका लागि आँखा अस्पताल आउने गरेका छन् । साता अघिसम्म आँखा उपचार केन्द्रमा दैनिक ४० जना बिरामी आउने गरेकोमा पछिल्लो साता दैनिक एक सयभन्दा बढी आउन थालेको उहाँको भनाइ छ । आँखा उपचार केन्द्रमा आएका मध्ये करिब ८० प्रतिशतको आँखा पाक्ने समस्या रहेको उहाँको भनाइ छ ।
अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु, आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा दुवै परेला आपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुने तथा कसै कसैमा ज्वरो आउने र घाँटी दुख्ने जस्ता समस्या भएका विरामी धेरै आउने गरेको उहाँले बताउनुभयो । यस्तो लक्ष्यण देखिएमा आँखा पाक्ने रोगको संक्रमण भएको बुझ्न सकिने उहाँको भनाइ छ ।
‘अहिले जिल्लामा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको छ, विरामीको संख्या दिनानुदिन बढेको छ, तर बिरामीमा जटिल समस्या देखिएको छैन्, उपचारका लागि जिल्ला बाहिर पठाउनु परेको छैन्’ आँखा उपचार केन्द्रका इन्चार्ज चौधरीले भन्नुभयो । उहाँले आँखा रातो भएमा, चिलाउने समस्या देखिएमा, बिझाए जस्तो भएमा सफा र नरम कपडामा चिसो पानी प्रयोग गरेर सफा गर्ने तर अरुले प्रयोग गरेको रुमाल वा अन्य कपडा प्रयोग गर्न नहुने बताउनुभयो ।
बर्षातको समयमा एडिनो भाइरसका कारण यो आँखा पाक्ने समस्या फैलिएको जनाइएको छ । श्वासप्रश्वासको कारण, आँखा जुधाउँदा आँशुको कारण, संक्रमित व्यक्तिले प्रयोग गरेको चस्मा, रुमाल जस्ता सामान अर्को व्यक्तिले प्रयोग गर्दा पनि यो संक्रमण एक अर्कामा सर्ने गरेको उहाँको भनाइ छ । उहाँले समयमा नै उपचार गरे एक हप्ता÷दश दिनमा आँखा पाक्ने समस्या समाधान हुने बताउनुभयो ।
आँखा पाक्ने लक्षण देखिए के गर्ने ?
– आँखा पोले जस्तो लागेमा चिसो बरफ (आइस) ले सेक्ने
– सफा पानीले पटक–पटक आँखा सफा गर्ने
– कालो चस्माको प्रयोग गर्ने
– बढी समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परीक्षण गराउने
– प्रशस्त मात्रामा पानी पिउने
– आँखा छुनुभन्दा अगाडि साबुन पानीले राम्रोसँग हात धुने
– संक्रमित आँखा छोएपछि ढोकाको चुकुल, भाँडाकुँडा, फ्लसको स्वीच आदि छुँदा तौलियाले छुने
के नगर्ने ?
– संक्रमित आँखालाई नछुने वा नचलाउने
– भिडभाड हुने ठाँउमा नजाने
– आँखामा दबाब पर्ने कुनै काम नगर्ने
– आफूले प्रयोग गरेको सामान तथा वस्तुहरु छुट्टै राखी अरुलाई प्रयोग गर्न र छुन नदिने
– चिकित्सकको सल्लाहबिना जथाभावी औषधी प्रयोग नगर्ने
– अरुले प्रयोग गरेको तौलिया, रुमाल, सिरानी, ओछ्यान आदिको प्रयोग नगर्ने