सल्यान, १ भदौँ ।
पछिल्लो समय सल्यानका बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि बिद्यालय बन्द हुन थालेका छन् । बालबालिकामा दिनप्रतिदिन आँखामा समस्या बढ्दै गएपछि स्वास्थ्य संवेदनशीलताका कारण विद्यालय बन्द गर्न थालिएको हो । अहिले जिल्लाका केही सामुदायिक र संस्थागत बिद्यालय केही दिनलाई बन्द भैसकेका छन् । जिल्लाका ग्रामिण भेगमा त्यति धेरै समस्या नभएपनि वजारक्षेत्रमा रहेका बिद्यालयमा अध्ययनरत बालबालिकासँगै शिक्षकहरुमा पनि आँखा पाक्ने समस्या बढ्दै गएको छ । जसका कारण पठनपाठनलाई नै थाती राखेर बिद्यालय बन्द गर्नु परेको हो ।
जिल्लाका केही बिद्यालयहरु एक साताका लागि बन्द भएका छन् । आँखामा संक्रमण बढ्दै गएपछि विद्यालयमा आउने विद्यार्थीहरूको संख्या दैनिक रूपमा घट्दै जाँदा पनि विद्यालय केही दिनका लागि बन्द गर्नु परेको हो ।
शिवजन माध्यमिक बिद्यालय शितलपाटीका प्रधानाध्यापक हिरालाल नेपालीले आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएकाले बिद्यालय बन्द गरिएको बताउनुभयो । उहाँले साउन ३१ गतेदेखी बन्द भएको बिद्यालयमा भदौँ ३ गते आइतवार देखी पढाई सुरु हुने बताउनुभयो । आँखामा संक्रमण भएका विद्यार्थी विद्यालयमा आउँदा स्वस्थ विद्यार्थीमा पनि सर्ने तथा विद्यार्थीका माध्यमबाट प्रकोप प्रत्येक घरमा पुग्ने क्रम बढ्दै गएकाले विद्यालय बन्द गरिएको उहाँको भनाइ छ ।
उहाँले बिद्यार्थी तथा शिक्षकमा आँखा पाक्ने समस्याका कारण पढाइ प्रभावित भएकाले बिद्यालय बन्द गरिएको बताउनुभयो । ‘प्रत्येक कक्षाकोठामा बिद्यालयको उपस्थिती दर घट््दै गयो, शिक्षकहरु पनि आँखा पाक्ने संक्रमणबाट प्रभावित हुनुभयो, सिमित बिद्यार्थीको मात्रै उपस्थितीमा कक्षा सञ्चालन गर्दा पठनपाठनमा अनुपस्थित बिद्यार्थीलाई समस्या हुने भएकाले बिद्यालय बन्द गरिएको हो’ उहाँले भन्नुभयो ‘हामीले स्थानिय विदाबाट कटौती गर्ने गरी बिद्यालय बन्द गरेका हौँ ।’
आँखा पाक्ने समस्या बढ्दै गएपछि विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन एक साताको लागि बिद्यालय बन्द गरिएको मोर्डन तुल्सी सेकेण्डरी स्कुल शितलपाटीका भाइस प्रिन्सिपल दिपेन्द्र डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार साउन २८ गतेदेखी बन्द गरिएको बिद्यालय भदौँ ३ गते खुल्ने छ । तर परिस्थिती हेरेर बिद्यालय थप केही पनि बन्द हुनसक्ने उहाँको भनाइ छ ।
‘केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको छ, यसको संक्रमण शिक्षकहरुमा पनि देखियो, दैनिक ५/७ जना नयाँ बिद्यार्थीमा संक्रमण बढ्दै गयो, यो संक्रमण अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एक हप्ताका लागि विद्यालय बन्द गर्नु परेको हो’ उहाँले भन्नुभयो ‘भिडभाडमा यस प्रकारको संक्रमण छिटो फैलिने भएकाले यसको नियन्त्रणका लागि विद्यालय बन्द गरेका हौँ ।’ यससँगै शितलपाटीमा रहेको ब्राइट पर्ल एकेडेमी, मित्र प्याराडाइज बोर्डिङ स्कुल पनि बन्द भएका छन् ।
आँखा उपचार केन्द्र शितलपाटीमा आँखा पाक्ने समस्याका बिरामी दैनिक एक सय जना आउने गरेका छन् । यो भाइरस एकबाट अर्कोमा सहजै सर्ने भएको हुँदा सजक रहनु पर्ने आँखा उपचार केन्द्रका इन्चार्ज नविना चौधरीले बताउनुभयो । प्रदूषित हावा र मौसमका कारण आँखा पाक्ने रोग बढेको उहाँको भनाइ छ । आँखा पाकेका मानिसले आँखा मिच्ने, आँखामा पानी छ्याप्ने, जथाभावी औषधिको प्रयोग गर्न हुँदैन भने घरबाहिर निस्कँदा कालो चस्मा प्रयोग गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
यस्तै स्वास्थ्यकर्मीको सल्लाहबिना जथाभावी औषधि प्रयोग नगर्ने तथा दृष्टि कम हुने लगायतका आँखा सम्बन्धी समस्या बढेमा तुरुन्त स्वास्थ्य संस्थामा जान पनि उहाँले सुझाव दिनुभयो । आँखा पाक्ने संक्रमणपछि आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने समस्या हुन्छ । यो सरुवा रोग भएकाले एउटै घरका धेरै व्यक्तिमा आँखा पाक्ने समस्या देखिने गरेको छ ।