सल्यान, ५ भदौँ ।
सरकारले महिलाको नाममा जग्गा पास गर्दा कर छुट दिने व्यवस्था गरेपछि जग्गामा महिलाको स्वामित्व बढ्दै गएको छ । नेपालको संविधान र त्यसपछि बनेका कानूनले अंश र वंशमा महिलाको हक स्थापित गरेकै कारण सल्यानमा जग्गामा महिलाको स्वामित्व बढ्दै गएको पाइएको हो । जसका कारण महिलाहरुमा सम्पत्ती माथिको पहुँच बढ्दै जान थालेको छ ।
जग्गा खरिद गर्दा महिलाको नाममा रजिष्ट्रेशन पास गर्ने क्रम बढ्दै जान थालेसँगै सम्पत्तीको मालिक बन्ने महिलाको संख्या पनि बढ्दै जान थालेको हो । मालपोत कार्यालय सल्यानमा प्राप्त भएका लिखतको तथ्यांकले पनि सल्यानका महिलाहरुमा सम्पत्तीमाथिको पहुँच बढ्दै गएको देखाएको छ । सम्पत्ती माथि महिलाको पहुँच ग्रामिण क्षेत्रका महिलामा भन्दा शहरी क्षेत्रका महिलामा बढी देखिन्छ ।
मालपोत कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०७९/०८० मा दुई हजार ४४९ वटा लिखत पास भएका छन् । जसमा शहरी क्षेत्रका एक हजार ४०२ र ग्रामिण क्षेत्रका एक हजार ४७ लिखत पास भएका छन् । पारित लिखत मध्ये ९७२ वटा लिखत महिलाको नाममा पास भएका छन् । महिलाको नाममा त्यसरी पारित भएका लिखत मध्ये ५३२ वटा शहरी क्षेत्रका र ४४० वटा लिखत ग्रामीण क्षेत्रका छन् ।
महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्दा एक बर्षमा २६ लाख ३१ हजार २१४ रुपैयाँ राजश्व छुट भएको छ । मालपोत कार्यालय सल्यानका सुचना अधिकारी दिपक बुढाथोकीले महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्नेको संख्या बढ्दै जान थालेको बताउनुभयो । अघिल्लो बर्षको भन्दा गएको बर्ष जग्गाको कारोवार कम हुदा महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्नेको संख्या कम देखिएको भएपनि समग्रमा हेर्दा सम्पत्तिमा महिलाको पहुँच बढेको उहाँको भनाइ छ ।
उहाँका अनुसार अघिल्लो आर्थिक बर्ष २०७८/०७९ मा पारित लिखत मध्ये एक हजार २६२ वटा लिखत महिलाको नाममा पास भएका थिए । जसमा ७३७ वटा शहरी क्षेत्रका र ५२५ वटा लिखत ग्रामीण क्षेत्रका छन् । ‘कित्ताकाट बन्द हुनु, वजारमा पुँजीको अभाव हुनु, घरजग्गामा लगानी गर्नेको संख्या घट्नु जस्ता कारण जिल्लामा जग्गाको कारोवार निकै घटेको छ, तर जति कारोवार भएको छ, त्यसमा महिलाको पहुँच राम्रो छ’ उहाँले भन्नुभयो ‘महिलाको नाममा लालपुर्जा कायम भएसँगै सम्पत्तीमा उनीहरुको पहुँच समेत बढेको छ ।’
महिलाको नाममा जग्गा रजिष्ट्रेशन गर्दा २५ प्रतिशत राजश्व छुट गर्ने सरकारले नीति ल्याएसँगै महिलाको नाममा जग्गा पास गर्नेको संख्या वृद्धि हुन थालेको उहाँको भनाइ छ ।
अरुले लिएनन् २५ प्रतिशत छुट
मालपोत कार्यालयमा जग्गा रजिष्ट्रेशन गर्ने दलित समुदाय, जेष्ठ नागरिक, शहिद परिवार र अपांगता भएका व्यक्तिले राजश्वमा २५ प्रतिशत छुट दिने प्रावधान रहेको छ । तर गएको आर्थिक वर्षमा दलित तीन जना र जेष्ठ नागरिक एक जनाले मात्रै जग्गा रजिष्ट्रेशनमा २५ प्रतिशत राजश्वमा छुट पाएका छन् । अघिल्लो बर्ष ८ जना जेष्ठ नागरिकले राजश्वमा छुट पाएका थिए ।
सुचना अधिकारी बुढाथोकीका अनुसार गएको बर्ष २५ प्रतिशतका दरले जम्मा ४४ हजार ५०० रुपैयाँ दलित समुदायले राजश्वमा छुट पाएका छन् । यस्तै जेष्ठ नागरिकले एक हजार रुपैँया राजश्वमा छुट पाएका छन् । ‘दलित, शहिद परिवार, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक तथा महिलाका नाममा जग्गा रजिष्ट्रेशन गर्दा राजश्वमा छुट हुन्छ, तर आवश्यक कागजात नहुदा महिलाले मात्रै राजश्व छुट पाउदैँ आएका छन्’ उहाँले भन्नुभयो ।
सवाँ तीन करोड बढी राजश्व संकलन
मालपोत कार्यालय सल्यानले गएको बर्ष ३ करोड ३१ लाख ३५ हजार ७९० रुपैयाँ राजश्व संकलन गरेको छ । जसमा जग्गा रजिष्ट्रेशनतर्फ २ करोड ६१ लाख ८६ हजार १३१ रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार पुँजीगत लाभकरतर्फ ३४ लाख १९ हजार २९० रुपैयाँ संकलन भएको छ ।
जिल्लामा ७२ हजार ३९२ जग्गाधनी रहेका छन् । गएको बर्ष ६ सय ३५ जग्गाधनी थपिएका छन् । यस्तै जिल्लामा १ लाख ४९ हजार ६९७ कित्ता रहेका छन् ।