त्रिबेणी गाउँपालिकाको प्रगति समिक्षा

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले गाउँपालिकाले एक बर्षको अवधिमा उपलब्धिमुलक काम गरेको र केही राम्रा कामहरुको सुरुवात पनि गरिएको बताउनुभयो ।

सल्यान, ७ भदौँ ।

सल्यानको त्रिबेणी गाँउपालिकाले एक बर्षको अवधिमा गरेका गतिविधिको बार्षिक समिक्षा गरिएको छ । बुधबार गाउँपालिकाले गएको आर्थिक बर्ष २०७९/०८० मा शिक्षा, स्वास्थ्य, कृर्षि, पशु, महिला तथा बालबालिका लगाएतका विभिन्न क्षेत्रमा गरेका सम्पुर्ण गतिविधिको समिक्षा गरिएको हो । गत आर्थिक वर्षको गाउँपालिकाको नीति कार्यक्रम, बजेट, कार्यक्रम तथा योजनाको प्रगति, उपलब्धि, सिकाइ लगायतका विषयमा छलफल गरिएको हो ।

यस्तै पालिकाका ६ वटै वडामा भएका गतिविधिको पनि समिक्षा गरिएको छ । गाउँपालिकाले गएको बर्ष ७४ दशमलब ७७ प्रतिशत प्रगति हासिल गरेको छ । जसमा पुँजीगत तर्फ ५४ दशमलब ४१ प्रतिशत र चालुतर्फ ८६ दशमलब ९३ प्रतिशत रहेको गाउँपालिकाका सुचना अधिकारी अम्मर बबालले जानकारी दिनुभएको छ ।

पालिकाले शिक्षा शाखा तर्फ ८७ दशमलब ५२ प्रतिशत प्रगति हासिल गर्दा स्वास्थ्य तर्फ ७२ दशमलब ८८ प्रतिशत, कृर्षि तर्फ ८६ दशमलब ९३ प्रतिशत, पशुपक्षि शाखा तर्फ ९८ दशमलब १७ प्रतिशत, महिला तथा बालबालिका तर्फ ७१ दशमलब ६१ प्रतिशत प्रगति हासिल गरेको छ । यस्तै गएको बर्ष लघु उद्यम तर्फ ९८ प्रतिशत र पोषण सुधार तर्फ ९७ प्रतिशत हासिल गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले गाउँपालिकाले एक बर्षको अवधिमा उपलब्धिमुलक काम गरेको र केही राम्रा कामहरुको सुरुवात पनि गरिएको बताउनुभयो । उहाँले विकशित र समृद्ध त्रिबेणी निर्माणका लागि केही महत्वपूर्ण उपलब्धि हासिल भएको र जनप्रतिनिधि तथा कर्मचारीको इमान्दार प्रयासबाट लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो । राम्रा कामहरुलाई निरन्तरता दिदैँ कहिकतै कमजोरी भएको भए ती कमजोरीलाई सच्याएर अघि बढ्ने उहाँको भनाइ छ ।

जनप्रतिनिधि, कर्मचारीसहित भएको समिक्षा कार्यक्रममा गाउँपालिका अन्तर्गतका सबै शाखाले गत वर्षको प्रगति सहितको प्रस्तुति राखेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस